वरिष्ठ सरोदबादक मोहन सुन्दर श्रेष्ठको निधन

म्यूजिक खबर
प्रकाशित: २४ फाल्गुन २०७७, सोमबार
Mohan Sundar

काठमाडौं । नेपालका प्रसिद्ध सरोदवादक मोहनसुन्दर श्रेष्ठको आज निधन भएको छ । नेपालको शास्त्रीय संगीतमा अतुलनीय योगदान पु¥याउने श्रेष्ठको ८० वर्षको उमेरमा निधन भएको हो ।

को हुन् मोहन सुन्दर !
काठमाडौं, नरदेवीका मोहनसुन्दर श्रेष्ठ स्थानीय बासिन्दा हुन् । दरबारमार्गस्थित होटल अन्नपूर्णमा लामो समयसम्म सरोदवादमा व्यस्त थिए । उनी दृष्टिविहीन थिए । ‘यो सरोद नै मेरो आँखा हो’, भन्ने गर्थे ।

वरिष्ठ सितार तथा सरोदवादक नारायणप्रसाद श्रेष्ठसँगको सान्निध्यमा मोहनसुन्दरले १२ वर्षको उमेरदेखि नै सरोद सिक्न थालेका थिए । ६ वर्षको निरन्तर साधनापछि मोहनसुन्दरले बल्ल सरोदका धुन ठम्याएका थिए।

उनी २०२६ सालमा राष्ट्रिय नाचघरमा जागिरे भए। २०३७ देखि २०६८ सम्म उनी करारमा रेडियो नेपालका संगीतकार बने। गायक शिवशंकरका गीतहरूमा सुनिने सरोद मोहनसुन्दरकै सिर्जना थियो । तर, रेडियो नेपालले उनलाई विना सूचना अवकाशपत्र थमाइदिएपछि होटल अन्नपूर्णमा सरोदवादनको काम गर्दै आएका थिए ।

मोहनसुन्दरको सुअवसर, २०४२ सालमा राजा वीरेन्द्रसामु आफ्नो कला प्रस्तुत गर्न पाएका थिए । कार्यक्रम सकिएपछि राजाले उनलाई दुःखसुख सोधे। ‘स्थायी जागिर पाए हुन्थ्यो भनेपछि राजाले दरबारमै बोलाए र २२ वर्षसम्म दरबारका हरेक कार्यक्रममा सरोद बजाए । उनले सरोद धुन समेटिएको ‘फेभरेट’ र ‘फेभरेट–२’ एल्बम पनि सार्वजनिक गरेका छन् ।
म्यूजिक खबर परिवार अमर स्रष्टा मोहन सुन्दर श्रेष्ठप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछ । साथै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु