• चलचित्र ‘बगान’को प्रिमियर सम्पन्न

    म्यूजिक खबर
    प्रकाशित: २८ असार २०८०, बिहीबार

    काठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बगान’को काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । बुधवार साँझ बानेश्वरस्थित वन सिनेमाजमा भएको प्रिमियरमा पत्रकारहरूसँगै कलाकर्मी, शुभचिन्तक र राजनीतिज्ञहरूको बाक्लो उपस्थिती रहेको थियो ।

    चलचित्र हेर्न उपसभामुख इन्दिरा राना, निर्देशकहरु लक्ष्मीनाथ शर्मा, नरेश पौडेल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, शोभित बस्नेत, ऋषि लामिछाने, अभिनेताहरू कृष्ण मल्ल, अशोक शर्मा, रमेश उप्रेती, मुकुन भुषाल, गायकहरू विकास राणा, सत्यराज आचार्य, स्वरुपराज आचार्य, गायिका देविका बन्दना, सुनिता दुलाल, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, पूर्व मूख्य सचिव भिम उपाध्याय, लेखकहरु प्रदिप भारद्वाज, विकास सुवेदी, कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । चलचित्र हेर्ने अधिकांशले केहि दृश्य र संवादले भावुक बनाएको प्रतिक्रिया दिए भने यसै चलचित्रबाट चलचित्रमा प्रवेश गरेकी प्रमिला कार्कीको अभिनयको तारिफ गरे । सँधै चुलबुले भूमिकामा अभिनयमा देखिने करिश्मा मानन्धरले गम्भीर भूमिकामा अभिनय गरेको अब्बल अभिनेत्री प्रमाणित गरेको भन्दै प्रशंसा भएको छ ।

    चलचित्र हेरिसकेपछि छोरी सानो हुँदा उसले ‘बजारमा बुवा किन्न जाम न’ भन्ने गरेको सम्झना गर्दै उपसभामुख इन्दिरा रानाले त्यस प्रकारका समस्याबाट गुज्रेका सबै छोराछोरीले ‘बगान’बाट धेरै कुरा सिक्न सक्ने बताईन् । एकल आमा उनले चलचित्रमा छोरीले आमाको लागी जे गरेकी छन्, त्यहि काम छोराले पनि गर्न सक्यो भने समाज उत्तम हुने बताईन् ।

    अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले यो चलचित्र मात्र नभई क्रान्ति भएको प्रतिक्रिया दिईन् । “यस्तो प्रकारको बिषयवस्तु उठाउनलाई ठुलै मुटु चाहिन्छ । सरोज खनाल जस्तो अभिनेता हुनुहुन्छ, त्यस्तै अब्बल निर्देशन गर्नुभएको छ”, निरौलाले बताईन् । उनले अभिनेत्री मानन्धरले आफुलाई अब्बल नै हुँ भनेर प्रमाणित गरेको जनाईन् । उनले ‘बगान’का प्रत्येक संवादका शब्द शब्दले मुटु छोएको बताईन् ।

    अभिनेता रमेश उप्रेतीले कम रुने आफुलाइ यो चलचित्रले रुवाएको बताए । “म पुरुष हुँ, कम रुन्छु । म यत्तिकै पक्कै रोईन होला । ‘बगान’ हेर्दा तपाईंको आँखामा आँशु आएन भने मेरो नाम रमेश उप्रेती नै होइन”, उनले प्रतिक्रिया दिए । उनले कथा, निर्देशन र सबैको अभिनय पक्षको प्रशंसा गरे । “सरोज खनाल जस्तो राम्रो कलाकार हो, उस्तै राम्रो चलचित्र बनाउनु भएको छ । सबै कलाकारले अब्बल काम गरेका छन् । यो चलचित्रले नेपाली समाजलाई परिवर्तनको बाटो देखाउने छ । हामी सबैले खुशी भएर बाँच्न पाउनुपर्छ भन्ने धारणा सहित यो चलचित्र बनेको छ । समाजमा पुरुषको साथबीना परिवर्तन सम्भव छैन, चलचित्रमा त्यो साथ देखाईएको छ”, उप्रेतीले भने ।

    गायिकाद्वय देविका बन्दना र सुनिता दुलालले निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर, नवनायिका कार्कीसहित सबै कलाकारको खुलेर तारिफ गरे । उनिहरुले समाजमा एकल आमाले बाँच्न पाउने अधिकार भएको तर निकै चुनौती रहेको बताउँदै चलचित्रले त्यसलाई उजागर गरेकोमा प्रसन्न देखिए । पत्रकार बबिता बस्नेतले नेपाली चलचित्रको क्षेत्रमा ‘बगान’ले फरक धार स्थापित गरेको बताईन् । कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठले एकल आमाले कति चाहनाहरुलाई हत्या गर्दै जीवन चलाईरहेको हुन्छ, त्यस्तो होइन हरेक महिलाले खुशी हुन पाउनु पर्छ भन्ने भावना बोकेको जनाईन् ।

    निर्देशकद्वय ज्ञानेन्द्र देउजा र नरेश पौडेलले यो चलचित्रले गहन बिषयको उठान गरेको बताए । समाजलाई नयाँ मोड दिन सक्ने यो चलचित्रलाई राज्यले पनि साथ दिनुपर्ने बताउँदै पुरुष निर्देशकले महिलाको कथालाई समाज परिवर्तन हुनुपर्‍यो भन्ने उद्देश्यसहित बनाएकोमा निकै खुशी लागेको उनिहरुले बताए । निर्देशक शोभित बस्नेतले यो चलचित्र पूर्ण पारिवारिक रहेको बताउँदै करिश्मा मानन्धर सुन्दरी नायिका मात्र नभएर पक्का कलाकार पनि हो भन्ने प्रमाणित भएको बताए ।

    अभिनेता कृष्ण मल्लले ‘बगान’ले हाम्रो समाजमा परिवर्तनको लहर दिन सफल भएको बताउँदै चलचित्रको सबै पक्षको प्रशंसा गरे । अभिनेता तथा निर्माता अशोक शर्माले बिषयवस्तु अत्यन्त मजबुत रहेको प्रतिक्रिया दिँदै दर्शकले हेरेर सार्थक बनाउनुपर्ने जिकिर गरे । निर्देशक दिनेश डिसीले यो चलचित्रले सोच्न बाध्य बनाउने बताए । उनले चलचित्र हेर्दा आफु पटक पटक रोएको बताए । लेखक विकास सुवेदीले यस प्रकारको चलचित्र दर्शकलाई मन पर्ने बताए ।

    अभिनेत्री मानन्धरले पहिलोपटक पुरा चलचित्र हेरेपछि आत्मसन्तुष्टी मिलेको बताईन् । उनले भनिन्, “एक कलाकारलाई आफ्नो काम मन पर्दैन, तर ‘बगान’ हेर्दा म सन्तुष्ट भएँ ।” निर्देशक तथा अभिनेता सरोज खनालले चलचित्र हेरेर प्रतिक्रिया दिने सबैलाई धन्यवाद दिँदै अब दर्शकको हातमा चलचित्र जिम्मा लगाएको बताए । अभिनेत्री प्रमिला कार्कीले आफुले आफुलाई पर्दामा दर्शकसँग बसेर हेर्नु निकै गाह्रो रहेको महशुस गरेको बताईन् । कार्कीले भनिन्, “प्रिमियरमा प्राप्त प्रतिक्रियाबाट म नयाँ आउँदै गरेको कलाकारको हिसाबले उर्जा प्राप्त भएको छ ।” निर्माता तथा गीतकार सुरेश वाग्लेले दर्शकलाई चलचित्र कस्तो लाग्छ त्यो प्रमुख रहेको बताउँदै आफुले यस चलचित्रमा राम्रो गीत लेखेछु जस्तो पनि लागेको बताए ।

    यो चलचित्रले देशभरनै एकल आमाहरूलाई निशुल्क चलचित्र देखाउने घोषणा गरिसकेको छ । यसको लागि चलचित्र हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्नेछ ।

    यस चलचित्रमा खनाल, मानन्धर, कार्कीसँगै, आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् । नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

    यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।

    फोटोः सुरेन्द्र थापा

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु