‘महापुरुष’ले ५१ दिनमा कमायो ११ करोड, निर्माण टिमले साट्यो खुशीयाली

म्यूजिक खबर
प्रकाशित: २ पुष २०७९, शनिबार

काठमाडौं । प्रदर्शनको आठौं सातामा प्रवेश गरेको चलचित्र ‘महापुरुष’ले शनिबार काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औं दिन पार गरेको छ।

कोरोना महामारीपपछि हलमा दर्शक घट्ने अनुमान गरिए पनि यही वर्ष ‘कबड्डी ४ स् द फाइनल म्याच’पछि यसले ५१औं दिन पूरा गर्दै घरेलु बक्स अफिसबाटै १० करोड रुपैयाँ कमाउन सफल भएको छ। चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराई सफलताले दायित्व बोध बढेको बताउँछन्।

‘दर्शकको साथले थप ऊर्जा मिलेको छ,’ उनले भने। नेपाल मात्र नभई अमेरिकामा समेत आठौं सातामा चलचित्र प्रदर्शन भइरहेको छ। नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न मद्दत पुगेको निर्देशक भट्टराईको भनाइ छ। उनले यसअघि निर्देशन गर्नुभएको जात्रा, शत्रु गते र जात्रै जात्रा चलचित्रले समेत ५१औं दिन पार गरेको थियो।

‘मह सञ्चार’सँग डेढ दशकसम्म टेलीचलचित्रमा सहायक भएर सहकार्य गरेपछि निर्देशक बन्नुभएका भट्टराईले सफलताको श्रेय मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नै दिन्छन्। ‘उहाँहरूबाटै सिकेर निर्देशन गर्न पाएको छु। स्कुल पढेर दिएको परीक्षामा पास भएझैं महशुस भएको छ,’ उनले भने।


अमेरिका भ्रमण सकेर नेपाल फर्केका अभिनेता आचार्यले निर्देशक भट्टराई शुरुवाती दिनदेखि नै प्रतिभावान् रहेको बताए। ‘टेलीचलचित्र हामीले उहाँलाई जिम्मा लगाउँथ्यौं। उहाँको कामले हाम्रो मन जितिसकेको थियो। आज चलचित्रमा समेत सफल हुँदा खुशी लाग्छ,’ आचार्यले भने।

चलचित्रमा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, सिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन्। चलचित्रमा एक्लोपनको कथा देखाइएको छ।

नेपालसँगै अमेरिका, अस्ट्रेलिया, युरोपका विभिन्न देशमा प्रदर्शन भइरहेको महापुरुष १ डिसेम्बरदेखि कतार, ओमान, बहराइन र यूएईमा समेत प्रदर्शन भइरहेको छ। षट्कोण आर्ट्स प्रालिको ब्यानरमा निर्मित चलचित्र महापुरुषको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ र निर्माता दीपेश खत्री छन्। चलचित्रमा दीपक बज्राचार्यको छायांकन र मित्र डी। गुरुङको सम्पादन छ। यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारका रूपमा डेब्यु गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु