सञ्चारकर्मी फूलमान निर्देशित चलचित्र ‘नीरफूल’ को पोष्टर सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २० माघ २०७६, सोमबार

काठमाडौं । चलचित्र ‘नीरफूल’ को पोस्टर सार्वजनिक भएको छ। आगामी फागुन ३० गतेदेखि मुलुकभर रिलिज हुने तयारीमा रहेको फिल्मको आइतवार चारवटा पोस्टर रिलिज गरिएको हो।

भूकम्पका कारण बिछोडिएका एक परिवारको प्रेमकथामा आधारित सो चलचित्रको निर्देशन सञ्चारकर्मी फूलमान वलले गरेका हुन्। गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज लगायतले अभिनय गरेका छन्।

पोस्टरमा रुबी भ्याली र काठमाडौंको लोकेसन देखाइएको छ। रुवी भ्याली समेटिएको पोस्टरमा परिवार र प्रेम देखाइएको छ भने भूकम्पपछिको काठमाडौं समेटिएको पोस्टरमा चरित्रहरुको संघर्ष र विछोड देखाइएको छ। चलचित्रमा अभिनेत्री रेखा थापा विशेष भुमिकामा छिन्।

निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भूकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए। अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति फिल्ममा बोनसको रुपमा हुने उनको दावी छ।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन्। फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए। फ्रेण्ड्स अफ नेपाल(म्यान्मार फ्रेन्डसिप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन्।

निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, बिके श्रेष्ठ लगायत छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु