अधिकारीको नेतृत्वमा चयन भएको रोयल्टी संकलन समाजमा कार्यसमितिको पद बाँडफाँड

म्यूजिक खबर
प्रकाशित: १ आश्विन २०७८, शुक्रबार
Music Royalty Collection of Nepal

काठमाडांैं । संगीत रोयल्टी संकलन समाज नेपालको १२ औं साधारणसभाबाट संगीतकार सुरेश अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । कोरोनाको महामारीको कारणले गर्दा दुई पटकसम्म हुन पुगेको १२ औं साधारणसभाले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति पाएको हो ।

साधारणसभामा उठेका धेरै मुद्दाहरुमाथि छलफल र केही विवादहरुलाई सुल्झाउँदै बाटो खुला गरेको कारणबाट रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति चयन भएको हो । संगीतकार महेश खड्काको नेतृत्वमा रहेको कार्यसमिति भंग भएपछि सुरेश अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको थियो । अधिकारी यसभन्दा अघि पनि ३ कार्यकाल रोयल्टी संकलन समाजको अध्यक्ष पदमा रहेर कार्य गसिसकेका व्यक्ति हुन् ।

भाद्र २९ गते भएको रोयल्टी संकलन समाजको १२ औं साधारणसभाबाट अधिकारीको नेतृत्वमा १० जना सदस्यहरु चयन भएका थिए । जसमा संगीतकारतर्फ वसन्त सापकोटा, शिरीष देवकोटा, पि एन सापकोटा, रामु खड्का र गीतकार तर्फ उपाध्यक्षमा चन्द्र शर्मा, महासचिवमा बी. पाण्डे, सुवास रेग्मी, राजेन्द्र कुमार कार्की, सुजन लम्साल, विमल अधिकारी चयन भएका छन् । ३÷३ जना गीतकार र संगीतकार खुलातर्फबाट आवश्यक पर्ने भए पनि १० जनाभन्दा माथिको उम्मेदवारी परेको थियो । तर लामोसमयको कसरतपछि सबैलाई मिलाएर सर्वसम्मत कार्यसमिति चयन भएको थियो ।

नयाँ कार्यसमितिको बैठकबाट आज कार्यसमितिको पद बाँडफाँड भएको छ । जसअनुसार अधिकारीको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा चन्द्र शर्मा, महासचिवमा बी. पाण्डेलाई चयन गरिएको छ ।

त्यस्तै कोषाध्यक्ष पदका लागि संगीतकार वसन्त सापकोटा चयन भएका छन् भने सदस्यहरुमा संगीतकारतर्फ शिरीष देवकोटा, पि एन सापकोटा, रामु खड्का र गीतकार तर्फ सुवास रेग्मी, राजेन्द्र कुमार कार्की, सुजन लम्साल, विमल अधिकारी चयन भएका छन् । नव गठित समितिले संगीतको क्षेत्रलाई अझै उचाईमा पुराउनका लागि रोयल्टी संकलनको काममा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु