सविता पोखरेल/३२ असार, काठमाडौं
पछिल्लो समय नेपालमा पनि नृत्यकला व्यवसाय व्यावसायिक बढ्दै गएको छ । पश्चिमा सस्कृतिको बाहुल्यता बढ्दै गए पनि नृत्यकला पनि व्यावसायिक बढ्दै गएको हो । विभिन्न सभा, सेमिनार तथा विवाह, पार्टी लगायतका कार्यक्रममा समेत नृत्यकारहरुको माग बढ्दै गएका कारणले पनि नृत्यकला व्यवसाय व्यावसायिक बन्दै गएको छ । यस्तै नृत्यकला व्यवसायमा थपिएका छन् रैवि डि बिट्स । रैबिले काठमाडौं मैं मुम्बई रकर्स डान्स स्टुडियो सञ्चालनमा ल्याएका छन् ।
सानैदेखि डान्सर बन्ने सपना बोकेका रैबिको जन्म नेपालगंजको राजपुरमा भएको हो । उनको बाल्यवस्था भने इण्डियामा बित्यो । उनलाई नाँच्न पाएपछि अरु केहि चाहिंदैन थियो । पार्कमा, बाटोमा हिंडदा पनि नाँच्थे । कतिले त उनलाई उडाउँथे पनि । बिस्तारै नृत्य प्रतियोगिताहरुमा सहभागिता जनाउन थाले । उत्कृष्ट भएर थुप्रै पुरस्कार तथा अवार्ड समेत जितेका छन् । डान्सर बन्ने लक्ष पुरा गर्न उनले थुप्रै संघर्षहरु गरेका छन् ।
समबित्दै गयो भारत को मुम्बईमा नै उनले कक्षा संचालन गर्न थाले । करिव ६ वर्ष इण्डियामा डान्स सिकाएका रैबिलाई आमाले आफ्नै देशमा गर्नुपर्छ भन्ने सल्लाह दिएपछि नेपाल आएका हुन् । नेपाल आएर दाङ्गमा उनले डान्स स्टुडियो खोले । त्यहाँ सिकाएका विद्यार्थीले नै अहिले डान्स स्टुडियो गरेका छन् । भने कतिले नेपाली कलाकारीता क्षेत्रमा स्थापित पनि भइसकेका छन् ।
रबि डी बिट्स एकनृत्य निर्देशक हुन्,उनी डान्स मात्र गराउँदैनन् कम्पोज पनि गराउँछन् । नेपालका स्थापित लोकप्रिय कलाकारहरु कम्पोजको लागि आउने गरेका छन् । मोडल रश्मी तामाङ, छुल्ठीम गुरुङ लगायतका कलाकारले उनीसँग डान्स कोर्ष गरेका छन् । पछिल्लो समयकी व्यस्त एवं लोकप्रिय लोकदोहोरी गायिका पूर्णकला विसी पनि रैबीसँग डान्स सिकिरहेकी छिन् ।
२०४४ सालमा नृत्यका कखरा सिकेर गुरुको सहयोगी भएँ, रैवीले पुरा दिन सम्झिए ‘मलाई लाग्छ मैले जति संघर्ष कसैले गरेको छैन होला ।’ आफ्नो मातृभुमीमै केहि गर्नुपर्छ भनेर नेपाललाई नै कर्मभूमी बनाउन नेपाल फर्केका रैवीले दाम भन्दा नाम कमाउने शिक्षा लिनुपर्छ भन्ने सोचेका छन् ।
रैवी डि बिट्सले काठमाडौंको सामाखुसी सरकारीधारमा मुम्बई रकर्स डान्स स्टुडियो सन्चालनमा ल्याएको करिव ८ महिना मात्र हुन लाग्यो । अहिले डान्स स्टुडियोमा करिब २ सय जना विद्यार्थीलाई उनी नृत्य सिकाउँदैछन् । मुम्बई रकर्स डान्स स्टुडियोमा विभिन्न कलेज तथा स्कूलका विद्यार्थीदेखि, गायक, गायिका, मोडल, हिरो, हिरोइन, डाक्टर, इन्जिनियरहरु समेत नृत्यकला सिक्न आउने गरेका छन् ।
पछिल्लो समय पश्चिमा संस्कृतिले जनमानसमा जरो गाड्दै गए पनि आफ्नो कला र संस्कृतिलाई पनि भुल्न हुँदैन, तर अन्तराष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्नु पर्ने रैवी डि बिट्सको भनाई छ । नेपालमा त्यो पनि राजधानी काठमाडौंमा रहेर पनि स्टुडियोको नाम चाहिं किन ‘मुम्बई रकर्स’ भन्ने प्रश्न गर्दा –‘सबै त भन्दिन तर नेपालका प्राय डान्स स्टुडियो आफ्नो काम प्रति सिरियस भएको पाइनँ । यस्तो स्थितीले विद्यार्थीमा नेपालको कल्चर अर्थात् स्टुडियोप्रति वितृष्णा भएको अनुभव गरें । डान्स भनेको त मुम्बईको जस्तो हुनुपर्छ, सिक्ने हो भने मुम्बई नै जानुपर्छ । यस्ता विद्यार्थीका भोगाइ र सोचाईलाई एउटा विकल्प चाहिएको अनुभव गरें । त्यसैले मुम्बई रकर्स नाम जुराएँ । जहाँ मुम्बई रकर्सकै तरिकाबाट क्षमता र दक्षता देखाइन्छ र सिकाइन्छ ।’
तर मुम्बई रकर्स डान्सको अपोजिट साइडमा नेपालकै नाम चलेको अर्को स्टुडियो पनि छ । ‘द काटुन क्रिउ डान्स स्टुटियो ।’ यति नजिकै अर्को नाम चलेको स्टुडियो हुँदा प्रभावित होला नि भनेर प्रश्न गर्दा रैबि भन्छन्– ‘सबैले आ–आफ्नो प्रतिभा देखाउने हो, न त मैंले उहाँहरुको व्यवसाय खोस्न सक्छु न त उहाँहररुले मेरो खोस्न सक्नुहुन्छ । प्रतिस्पर्धा हुनु त राम्रो हो ।’
नेपाल र भारतको विभिन्न सहरमा समेत आफ्नो प्रस्तुति देखाएर सम्मानित तथा पुरस्कृत समेत भैसकेका उनी कलाकारिता आफ्नो जीवन भएको बताउँछन् । नेपालमा कलाकारिताको बजार व्यवसायिक हुन नसकेको देखेर उनी दुःखी हुन्छन् तर पनि कलाकारिताभित्र केही छ भनेर खोजिरहेका पनि छन् । राम्रो डान्स सिक्न सबै दिल्ली, मुम्बई नै पुग्नु पर्ने बाध्यता हटाउने उनको सोच छ । उनले बलिउड डान्स, हिपअप, लिरिकल हिपअप, जुम्बा, कल्चरल डान्स, एरोबिक, साल्सा, मोर्डन डान्स, लगायत नेपाली लोक नृत्यहरु पनि सिकाउने गरेका छन् । ४ वर्षका बालबालिकादेखि ६० वर्ष सम्मका मानिस उनीसँग नृत्य सिकिरहेका छन् ।