नेपाल सांगीतिक संघको नेतृत्वमा पुनः मिलन मोक्तान

म्यूजिक खबर
प्रकाशित: २५ पुष २०७८, आईतवार

काठमाडौं । सम्पूर्ण कलाकर्मीहरुको एकमात्र छाता संगठन नेपाल सांगीतिक संघको नेतृत्वमा पुनः मिलन मोक्तानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सांगीतिक संघको आज भएको २२ औं साधारणसभाबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । यसभन्दा अघि दुई कार्यकाल संगीतकार मिलन मोक्तानकै नेतृत्वमा भएका नेपाल सांगीतिक संघले पुनः मोक्तानकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा गायक तथा वाद्यवादक खर्क बहादुर बुढा र संगीतकार आशिष अबिरल चयन भएका छन् भने महासचिवमा गीतकार सुमन बैरागी चयन भएका छन् । त्यस्तै सचिवमा संगीत संयोजक विनोद कुमार भुजेल र कोषाधयक्षमा गायक विमल श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा नृत्यङ्गना आशा गौतम, गायिका सीता केसी, गायिका पूर्णिमा लामा, गायिका सूर्य कुमारी जोशी, गीतकार गणेश चौलागाईं, निर्देशक तथा कोरियोग्राफर राजीव बलामी, गायक खगेश रञ्जितकार चयन भएका छन् । कानून व्यवसायी रमेश कोइराला निर्वाचन अधिकृत रहेको निर्वाचन मण्डलले चुनावी प्रक्रिया अगाडि बढाएका थिए । प्रक्रियामा उम्मेदवारी परेका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुमा निर्विरोध निर्वाचन भएको थियो ।

पूर्व राज्यमन्त्री तथा गायक रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा भएको २२ औं साधारणसभामा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, गीतकार संघ नेपाल अध्यक्ष शुभ मुकारुङ, गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष चूडामणी देवकोटा, संगीतकार किशोर गुरुङ, गायक तथा संगीतकार दीप तुलाधर, गायक लाक्पा शेर्पा लगायतको आतिथ्यता रहेको थियो ।

सम्पूर्ण कलाकर्मीहरुको एकमात्र छाता संगठन नेपाल सांगीतिक संघ २०५६ सालमा कुमार बस्नेतको नेतृत्वमा स्थापना भएको यो संघमा रुबि जोशी, मिरा राणा, तारा थापा, कोमल वली लगायतले नेतृत्व गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु