संगीतकर्मीलाई स्वस्थ बनाउन संगीतकार संघको निःशुल्क स्वास्थ्य शिविर

म्यूजिक खबर
प्रकाशित: १४ जेष्ठ २०७६, मंगलवार
Music Composer Association

काठमाडौं । सङ्गीतकार संघ नेपालले आगामी जेठ १८ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । संघकै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी संगीतकर्मीको निःशुल्क स्वास्थ्य जाँच गराउने जानकारी गराईएको हो । ‘सुन्दर सिर्जनाका लागि स्वस्थ कलाकार’ भन्ने नाराका साथ रुद्रायणी हाईस्कूल, खोकना, ललितपुरमा एकदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको कुरा पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रोटरी क्लव अफ माउण्ट एभरेष्ट, ललितपुरसँगको सहकार्यमा आयोजना हुने सो स्वास्थ्य शिविरमा विशेषज्ञ डक्टरद्वारा साधारण स्वास्थ्य जाँच लगायत दाँत, नाक – कान – घाँटी, आँखा, पाठेघर, मधुमेह, रक्तचाप लगायतको जाँच गरिने छ । आवश्यकता अनुसार बिरामीलाई निःशुल्क औषधी समेत प्रदान गरिने छ । शिविर बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म संचालन हुने छ भने जाने – आउने सुविधाका लागि भृकुटीमण्डप ल क्याम्पस अगाडिबाट बसको व्यवस्था गरिने छ । कुनैपनि विधाका सर्जक – कलाकारले शिविरमा स्वास्थ्य जाँच गराउन सक्ने छन् ।

‘कतिपय सर्जक, कलाकारहरुको आर्थिक अवस्था अत्यन्तै कम्जोर रहेको छ । उनीहरु बिरामी पर्दा र मृत्यु हुँदा चन्दा संकलन गर्नुपर्ने अवस्था समेत देखिएकोले विगत २ वर्षदेखि सङ्गीतकार संघद्वारा स्थापित कल्याणकारी कोष मार्फत त्यस्ता सर्जक – कलाकारहरुलाई आर्थिक सहयोग गरिँदै आएको छ । सर्जक – कलाकार बिरामी भएपछि उपचारका लागि सहयोग गर्नुभन्दा रोगी हुनबाट बचाउनु अझ महत्वपूर्ण हुने भएकोले स्वास्थ्य शिविरको आयोजना गरिएको हो, संघका अध्यक्ष शान्तिराम राईले भने । शिविरबाट लाभ लिनका लागि सम्पूर्ण कलाकर्मीहरुलाई सङ्गीतकार संले आग्रह गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु