‘म्यूजिक नेपाल’ बन्यो म्यूजिक क्षेत्रकै पहिलो लिमिटेड कम्पनी, आइपिओ जारी गर्दै

म्यूजिक खबर
प्रकाशित: २४ श्रावण २०७९, मंगलवार

काठमाडौं । नेपालको निजीस्तरको पहिलो सङ्गीत उद्योग ‘म्यूजिक नेपाल’ अब पहिलो लिमिटेड कम्पनीको रुपमा सञ्चालन हुने भएको छ । यससँगै अब कम्पनीले एनआईसी एसिया क्यापिटलसँगको सहकार्यमा आईपीओ जारी गर्ने योजना समेत सार्वजनिक गरेको छ ।

एनआईसी एसिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । सोही सेवा अन्तर्गत म्यूजिक नेपाल लिमिटेडलाई संस्थागत परामर्श सेवा सहित म्यूजिक नेपाल लिमिटेडलाई आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याइने बताइएको छ ।

आईपीओ निष्कासन गर्नकोलागि एनआईसी एशिया क्यापिटल लिमिटेड र म्यूजिक नेपाल लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

एनआईसी एशिया क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत म्यूजिक नेपाललाई संस्थागत परामर्श सेवा सहित म्यूजिक नेपाललाई आईपीओ जारी गर्ने चरणमा पुर्याइ निकट भविष्यमा सर्वसाधारणहरुमा सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित जारी गर्नुपर्ने आईपीओ निष्कासन गर्नेछ ।

उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले तथा म्यूजिक नेपालको तर्फबाट महा प्रबन्धक उत्तम थापाले हस्ताक्षर गरेका हुन्। नेपालको सन्दर्भमा म्यूजिक नेपाल सर्वसाधारणमा आईपीओ जारी गर्ने यस प्रकारको पहिलो कम्पनी हो ।

२०३९ साल श्रावण २४ गते स्थापना भई २०४० साल बैशाख २ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको म्यूजिक नेपालले नेपाली गीतसङ्गीतका एल्वमहरुको नियमित उत्पादन गर्न थालेको हो । म्यूजिक नेपालले संगीतत भनेको सोख र रहर पूरा गर्ने माध्यम मात्र हो भन्ने आमधारणामा परिवर्तन गर्दै यसलाई उद्योग–व्यवसायका रुपमा विकसित गर्न सकिन्छ भन्ने विश्वासले सुरुकै दिनमा रोयल्टी प्रथाको सुरूवात गर्दै यस क्षेत्रमा यो नेपालकै पहिलो निजीस्तरको सांगीतिक उद्योगका रुपमा स्थापना भएको कम्पनी हो ।

हालै म्यूजिक नेपालको पेज मार्फत यो जानकारी गराइएको हो । पेजमा लेखिएको छ –

निजीस्तरको पहिलो सङ्गीत उद्योग म्यूजिक नेपाल अब पहिलो लिमिटेड कम्पनी
‘स्रष्टाको संरक्षण गरौँ राष्ट्रलाई समृद्ध बनाऔँ’ भन्ने मूलमन्त्रका साथ २०३९ साल साउन २४ गते स्थापना भएको म्यूजिक नेपालले सुरुवाती दिनहरूमा गीत रेकर्डिङ गरेर श्रव्य एल्बमहरू प्रकाशन गर्दै नेपाली सङ्गीतको व्यावसायीकरण गर्ने महायज्ञलाई अगाडि बढायो । यात्राक्रममा यस संस्थाले विद्यामान विश्वबजारमा प्रयुक्त लगभग सबै डिजिटल प्रविधिहरू भित्र्याई नेपाली सङ्गीतलाई वैश्विक समकक्षमा उभ्याउन सफल भयो । नेपाली सङ्गीत उत्पादन र प्रकाशनमा झन्डै चार दशक लामो यात्रा गरिरहेको यही म्यूजिक नेपाल अब प्रा.लि.बाट लिमिटेड कम्पनीमा परिणत भएको छ ।
स्थापनाकालदेखि नै यस कम्पनीलाई माया र सद्भाव दिनुहुने वरिष्ठ स्रष्टा–कलाकार, राष्ट्रका प्रबुद्ध वर्ग, सञ्चालक, पत्रकार, श्रोता, कर्मचारीहरू तथा प्रत्यक्ष–परोक्षरूपमा सहयोग पुर्याउनु हुने अन्य महानुभावहरूको साथ र योगदानले नै यो कम्पनी यसरूपमा पुग्न सम्भव भएको हो ।
अब म्यूजिक नेपालले IPO निष्कासन गर्ने सम्बन्धमा एनआइसी एसिया क्यापिटलको ‘आइडिया टु आइपिओ’ सेवाअन्तर्गत म्यूजिक नेपाल लिमिटेडले साधारण सेयरको सार्वजनिक निष्कासन गर्नका लागि एनआइसी एसिया क्यापिटल लिमिटेड र म्यूजिक नेपाल लिमिटेडबीच निष्कासन तथा बिक्री प्रवन्धक नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न गरेको छ । यो IPO को निष्कासनसँगै म्यूजिक नेपाल सर्वसाधारणमा सेयर जारी गर्ने सङ्गीतक्षेत्रको पहिलो कम्पनी बन्ने छ । जसले गर्दा भावी दिनहरूमा यस कम्पनीसँग आवद्ध हुन इच्छुक सम्पूर्ण स्रष्टा–कलाकार तथा सङ्गीतप्रेमी महानुभावहरूका लागि नयाँ सम्भावनाको ढोका खुल्ने छ ।
देश तथा विदेशमा बस्नु हुने हाम्रा समस्त स्रष्टा–कलाकारहरू, हामीसँग जोडिनुभएका सम्पूर्ण पार्टनर कम्पनीहरू, हाम्रा सेवाग्राही दर्शक–श्रोताहरू तथा हाम्रा सम्पूर्ण शुभचिन्तकहरूप्रति आभार प्रकट गर्दै यो जानकारी गराउँदा हामी अत्यन्त गौरवान्वित अनुभव गरिरहेछौँ । र, सबैबाट भविष्यमा पनि यस्तै साथ र सहयोग अपेक्षा गर्दछौँ ।
धन्यवाद !
म्यूजिक नेपाल लिमिटेड
अनामनगर, काठमाडौँ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु