
काठमाडौं । संगीत रोयल्टी संकलन समाजको संगीत रोयल्टी उठाउने अभियान यतिखेर तीब्र गतिमा अघि बढेको छ । वित १७ वर्षदेखि निरन्तर रोयल्टी संकलनको अभियान गरिरहेको समाजले पछिल्लो समयमा कडाइका साथ रोयल्टी संकलनलाई तीब्रता दिएको छ । यही क्रममा संगीत रोयल्टी नतिर्ने विभिन्न १८ होटल, रेन्टुरेन्ट र ब्यांक्वेटविरुद्ध संगीत रोयल्टी संकलन समाज नेपालले प्रहरीमा उजुरी दिएको छ । उपत्यकास्थित नाम चलेका होटल र रेस्टुरेन्टविरुद्ध प्रहरीमा उजुरी दिएको समाजका
ले बताए ।
समाजले ठमेलको एलओडी, माइकल ग्रिल्स, क्लब फरेनहाइट, नक्सालको रोड हाउस क्याफे, हिमालयन जाभासहित काठमाडौंका १८ होटल, रेस्टुरेन्ट र ब्यांक्वेटविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको छ । काठमाडौं प्रहरी परिसरकी प्रवक्ता तथा डीएसपी पूर्णिमा चन्दले प्रहरीमा उजुरी आएको र आफूहरू अनुसन्धानको क्रममा रहेको बताइन् ।
रोयल्टी संकलन समाजका महासचिव पाण्डेले २१, ७ र ३ दिने अल्टिमेटमसहित रोयल्टी तिर्न पत्राचार गरेको तर अटेर गरी रोयल्टी नतिर्नेविरुद्ध प्रहरीको सहायता लिनका लागि उजुरी गरेको बताए । रोयल्टी तिर्न आग्रह गर्दै समाजले १९ हजार संगीतका उपभोक्तालाई पत्राचार गरेको उनले बताए । ‘कानूनअनुसार उहाँहरूसँग क्षतिपूर्ति र रोयल्टी उठाउने कार्य हुन्छ’ पाण्डेले भने,‘कपिराइट हनन गर्ने अधिकार कसैलाई छैन ।’ महासचिव पाण्डेका अनुसार सार्वजनिक यातायातले भने रोयल्टी तिर्न थालेको बताए ।