सफल सांगीतिक जोडीहरु

म्यूजिक खबर
प्रकाशित: २३ असार २०७९, बिहीबार

भनिन्छ, संसार प्रेमले नै अडिएको छ । प्रेम मानवको सबैभन्दा शक्तिशाली संवेदना पनि हो । तर चलचित्र होस् या सांगीतिक क्षेत्र प्रेम सम्बन्ध भनेको निकै जटिल हुने गर्छ । केही समय प्रेममा चर्चा पाएका मनोरञ्जन क्षेत्रका प्रेम जोडी पनि केही समयमा सम्बन्ध तोडेका थुप्रै उदाहरण हामीले देखेका छौं । प्रेम सम्बन्ध मात्र होइन विवाह नै गरेका मनोरञ्जन क्षेत्रका अधिकांश जोडीहरूको सम्बन्ध धेर लामो समय टिक्दैन । यो विश्वभर नै देखिने साझा विषय हो । तर अधिकांश प्रेमिल जोडीको सम्बन्ध लामो समय टिक्न नसके पनि केही नेपाली सांगीति धरातलमा थुप्रै प्रेमिल जोडीहरु छन्, जसले आफ्नो प्रेम जीवनसँगै काम र व्यवसाय पनि एकसाथ अघि बढाइरहेका छन् । रमाइलोका साथ सहयात्रा गरिरहेका छन् । घरगृहस्थी चलाइरहेका छन् । प्रेमालाप गर्दै दुई जीवन एक कर्म बनाएर जीवनमा खुसी देखिएका छन् । यसै सन्दर्भमा एउटै धरातलमा टेकेर सहयात्रा गरिरहेका सफल सांगीतिक जोडीलाई प्रस्तुत गरेका छौं जो सबैको नजरमा उदाहरणीय बनेका छन् । जसले हामीलाई सत्य प्रेममा विश्वास गराउँदछन् ।

कुन्ती मोक्तान–शिलाबहादुर मोक्तान
कुन्ती मोक्तान र शिलाबहादुर मोक्तान नेपाली सांगीतिक धरातलका सबैभन्दा प्रसिद्ध जोडीहरू मध्ये एक हुन् । घरगृहस्थी र गायन तथा संगीतलाई साथसाथै लाने यो जोडीको सहयात्रा निकै लोभलाग्दो छ । एउटै क्षेत्र संगीतमा सक्रिय यो दम्पतीले धेरै चर्चित गीतहरु दर्शक स्रोताका लागि पस्किसकेको छ । जहाँ कुन्तीको आवाज हुन्छ त्यहाँ शिलाको संगीत पनि हुन्छ । चोली राम्रो पाल्पाली ढाकाको, कोही भन्छन् जिन्दगी, कती काट्छौ कुराहरु, निष्ठुरी मायालु, माथी माथी सैलुङ्गेमा लगायतका गीतहरुमा कुन्तीको आवाज छ भने शिलाको संगीत पनि गुन्जिन्छ ।

उदितनारायण झा–दीपानारायण झा
यो जोडीको नाम गायन क्षेत्रमा गर्वका साथ लिने गरिन्छ । उदितको गायन यात्रामा उनकी पत्नी दीपा गहतराजले पनि उनलाई साथदिएकी छिन् । दीपाले दर्जनौ नेपाली फिल्मका गीतहरु गाएकी छिन् । नेपाली संगीतको क्षेत्रमा जम्नै लाग्दा बलिउडमा छिरेका गायक हुन् उदित । उनले नेपाली फिल्मका गीतमा जति सफलता पाए त्यो भन्दा धेरै सफलता बलिउड फिल्मका गीतहरुमा पाएका छन् । उनले भारतको तर्फबाट नेशनल अवार्ड, फिल्म फेयर अवार्ड, पद्म श्री अवार्ड लगायतका अवार्डहरु हात पारेका छन् । नेपालबाट भारतमा गएर यति धेरै सफलता हात पार्ने उदित सायद पहिलो नेपाली गायक हन् । उनका कुसुमे रुमालदेखि हालसम्मका गीतहरु नेपालमा सदाबहार बन्न सफल भएका छन् ।

मनिला सोताङ–उदय सोताङ
नेपाली सांगीतिक क्षेत्रमा उनीहरुको जोडी जति जमेको छ, त्यति नै रमाईलो गरी घरगृहस्थी पनि चलिरहेको छ । गायनममा सक्रिय र सफल यो जोडीको चर्चा पनि नेपाली सुगम संगीतमा गर्वका साथ गरिन्छ । उनीहरुको नाममा नेपालको शान झल्किन्छ । उनीहरुको सहयात्रा निकै रमाईलो छ । परेको बेला एकले अर्काको साथ पाउनु नै एउटै क्षेत्रको सहयात्राको फाईदा हो । यो कुरा उनीहरुको जीवनमा प्रष्टै देखिन्छ । यो जोडीले सँगसँगै सयौँ गीतमा आवाज दिएका छन् । तिमी बिना बाँच्न गाह्रो भो, उकाली चढौला लगायत दर्जनौ गीतहरुमा उदय र मनिलाको आवाज सुन्न पाईन्छ । उनीहरु सफल सांगीतिक जोडी भएर गजल गायनमासमेत परिचित भएका छन् । निकै उत्कृष्ट साङ्गीतिक कोसेली लाई जन्म दिने देखी भव्य कार्यक्रममा जोडदार प्रस्तुति दिने उनीहरू सहयात्रा निकै चाख लाग्दो छ । यी दुईले एउटा सफल प्रेम जीवन त बाँचेकै छन् सँगै प्रेम र अटुट सम्बन्धको पाठ पनि सिकाएका छन् ।

रामकृष्ण ढकाल–नीलम ढकाल
थुप्रै कालजयी गीतहरु गाएर लोकप्रिय बनेका गायक रामकृष्ण ढकाल र उनकी श्रीमती नीलम ढकालको जोडीलाई नेपालको सांगीतिक क्षेत्रमा आकर्षक र आदर्श जोडीको रुपमा मानिन्छ । दोश्रो नारायण गोपाल भनेर पनि चिनिने रामकृष्णका ओराली लागेको, हिरा काट्ने, विहान उठ्ने वित्तिकै देखि हुरीमा दियोसम्म आइपुग्दा प्राय सबै गीतहरु सदाबहार बन्न सफलभ भएका छन् । भने नीलम ढकालले पनि म्यूजिक भिडियोहरुमा मोडलिङ गरेर आफूलाई सक्रिय बनाएकी छिन् ।

निर्मल होडा–रिमा गुरुङ होडा
सांगीतिक समूह रक योगिजमा ड्रमरका रूपमा व्यस्त छँदा संगीतकर्मी निर्मल होडाले सांगीतिक क्षेत्रकै युवतीसँग विवाह गर्छु भन्ने सोचेकै थिएनन् । तर पुराना संगीतकार प्रकाश गुरुङको तर्फबाट उनकी छोरी तथा गायिका रिमा गुरुङसँग विवाह गर्ने प्रस्ताव आएपछि निर्मलले नाइँ भन्न चाहेनन् । उनीहरूको भेटले प्रेमको रूपमा लिनुअघि नै परिवारको सल्लाहमा दुवैले विवाह गरे । रिमाका नजरको दोषी बनी, कसको आँखा लाग्यो लगायतका दर्जनौं गीत चर्चामा छन् ।

गणेश पराजुली– यशोदा पराजुली
दिन ढल्यो अँधेरी रातमा जस्तो लाखौं दर्शकले मन पराएको यस गीतकी गायिका यशोदा पराजुली र संगीतकार गणेश पराजुली पनि संगीत क्षेत्रमा सहकार्य गर्दै, गृहस्थी टिकाउन सकेको आदर्श जोडी हो । यस्ता दर्जनौं चर्चित गीत यी जोडीले नेपाली सांगीतिक क्षेत्रमा पस्किसकेका छन् । गायन यात्राबाट दाम्पत्य जीवनमा जोडिएका यी जोडीले विगत अढाई दशकदेखि गायन यात्रालाई निरन्तता दिँदै आएका छन् । यी दम्पतीको उता तिमी आधा, यता छु म आधा, माया फूल हो माया पात हो जस्ता धेरै युगल गीतहरू छन् । प्रेम गीत गाउँदा पनि यशोदाका गीतमा गणेशप्रतिको माया र गणेशका गीतमा यशोदाप्रतिको माया देखिन्छ । यी दम्पतीका गीत श्रोताका लागि प्रेमीले प्रेमिकालाई तथा प्रेमिकाले प्रेमीलाई भनेजस्तो लाग्छ । गणेशले गायकको सुन माया जाँदै छु म टाढा, तिमीलाई अपनाउ भनेर, यशोदाको दिन ढल्यो अँधेरी रातमा, तिमी छौ पारि आफू छु वारि, के माग्छौ भनी कसैले सोधेभनेजस्ता गीतहरू एकले अर्कालाई गाइएको यी दम्पतीको भनाइ छ ।

रामभक्त जोजिजू – ईतु जोजिजू
गायक रामभक्त र गायिका ईतु जोजिजू श्रीमान श्रीमती बनेको पनि डेढ दशक भइसक्यो । सांगीतिक कार्यक्रमका क्रममा भेटिएपछि एकअर्काको नजिक आएका यिनीहरू यतिबेला संगीतकर्ममा सफल सांगीतिक जोडीका रुपमा रमाइरहेका छन् । सँगसँगै गीति एल्बमसमेत प्रकाशित गर्दै आएको यो सांगीतिक जोडी गजल साँझहरु र कन्सर्टहरूमा समेत सँगै प्रस्तुत हुन्छ । उडेर जून छुन्छु भन्थे, के बर मागी, जहाँ भमर छ, त्यो कहिले घाम, कुनै बाटोमा, दूधै दूधले लगायतका दर्जनौ गीत रामभक्तका सदाबहार बन्न सफल भएका छन् भने गजल गायनमा सफल यो जोडी संयुक्त गायनमा पनि उत्तिकै सक्रिय छन् ।

कन्हैया सिंह–अञ्जना गुरुङ
गायक कन्हैया सिंह र गायिका अञ्जना गुरुङ एउटै पेसामा आबद्ध यी दुईको जोडी सांगीतिक क्षेत्रका लागि उदाहरणीय छ । संगीतकारका रूपमा समेत स्थापित कन्हैयाले श्रीमती अञ्जनाका लागि थुप्रै रोमान्टिक गीत तयार पारिदिएका छन् । अञ्जनाले गाएका आँखैमा राख्छु मेरो देश, जसले मुटु चुडेर लग्यो, मत काली सुन्दरी लगायत थुप्रै लोकप्रिय गीत छन् भने कन्हैयाको तिम्ले भुल्न सके पनि, पश्चिमको छोरो लगायत गीतहरु लोकप्रिय बनेका छन् । एउटै पेसामा आबद्ध भए पनि एक÷अर्कामा प्रतिस्पर्धी भावना नआउने यो जोडीको अनुभव छ । जति गायनमा यो जोडी जमेको छ त्यति नै घरगृहस्थी पनि चलिरहेको छ ।

रामचन्द्र काफ्ले र जुनु रिजाल
जुनु र रामचन्द्र काफ्लेको जोडीलाई पनि यो क्षेत्रमा आकर्षक र आदर्श जोडी मानिन्छ । संगीतले नै पहिलो भेट गराएको यो जोडीले रमाई रमाई डेढ दशकको सहयात्रा पुरा गरिसकेको छ । उनीहरुको सहयात्राले पनि एक–अर्काकोे सांगीतिक करिअरलाई सघाउ पू¥याएको छ । घरगृहस्थी टिकाउन र सङ्गीत कर्म बिकाउन सफल यो जोडीले दर्शक, श्रोताका लागि थुप्रै लोकप्रिय सांगीतिक कोशेलीहरु समर्पण गर्दैं आएका छन् । नेपाली पप लोक, फिल्मी गीतहरुमा आवाज दिने गरेका छन् राम र जुनुले । उनीहरु एल्बम, फिल्मदेखी स्टेज शोसम्म एकसाथ देखा पर्ने गरेका छन् । रामचन्द्रले गाएको दार्जिलिङको, ड्राइभरमा माइलोदेखि मात लाग्योसम्मका गीत लोकप्रिय बनेका छन् भने जुनुको फूल मञ्जरी, डाँफे झैं नाच्ने लगायतका दर्जनौं गीत लोकप्रिय छन् ।

राजु ढकाल र देवी घर्ती
नेपाली संगीतको दुनियाँमा राजु ढकाल र देबी घर्तीको जोडीलाई पनि निकै लोभलाग्दो जोडीका रुपमा लिईन्छ । लोक दोहोरीको क्षेत्रमा गरिमामय स्थान बनाउन सफल भएको देवी र राजुको जोडीले आफ्नो घरगृहस्थी टिकाउन सफल भएको छ । दुवै जना एउटै क्षेत्रमा सक्रिय भएका कारण पनि उनीहरुलाई सजिलो भएको छ । कामका बारेमा आफूलाई परेको समस्या एकअर्कासँग सेयर गर्न निकै सजिलो हुने गरेको उनीहरु बताउँछन् । एक छोराका मातापिता बनिसकेका राजु र देवीले एकअर्कालाई राम्ररी बुझेका छन् । आमा खुशी, आँपैको अचार, आफू त परियो दोहारीको फ्यानलगायत उनीहरुले गाएका धेरै गीत लोकप्रिय बन्न सफल भएका छन् ।

सिन्धु मल्ल र सुदाम थापा
सिन्धु मल्ल र सुदाम थापा गायिका सिन्धु मल्लले पनि गायनमा पतिको साथ पाईन् । संगीतकार सुदाम थापाले उनको यात्रालाई साथ दिएर सहज बनाईदिए । सिन्धुले लोक गीत, आधुनिक गीत र फिल्मका गीतहरु गाएकी छिन् । उनको सबैभन्दा चर्चित गीत हो ‘ससुरालीमा भो नजर नलगाउ कान्छी सालीमा’ । त्यस्तै सुदामले पनि दर्जनौं गीतमा संगीत भरेका छन्, धेरैजसो गीतमा सिन्धुकै आवाज छ । सांगीतिक यात्राबाट बाँधिएको यो जोडी यतिबेला घरगृहस्तीमा व्यस्त बनेको छ ।

माण्डबी त्रीपाठी– बिपीन आचार्य
माण्डबी र संगीतकार बिपिन आचार्यको सहयात्रा पनि निकै लोभलाग्दो छ । उनीहरुले काममा एकले अर्कालाई साथ र सहयोग गर्ने गर्छन् । एकले अर्कालाई राम्ररी बुझेका कारण पनि उनीहरुले राम्रो सफलता हात पारेका छन् । माण्डवीको ढल्क्यो ढल्क्यो, बारुले कम्मर, सिम्पल सिम्पल जस्ता गीत चर्चित छन् । विपिन संगीतकार र एरेन्जरको रुपमा लोकप्रिय छन् । यिनीहरुको जोडी पनि संगीतकर्मले नै जुराएको हो । यतिबेला सुखद दाम्पत्य जीवनसँगै सांगीतिक सहकार्यमा यो जोडी सक्रिय रहेको छ ।

श्रीकृष्ण बम मल्ल र गायिका लक्ष्मी मल्ल
सहज र सुखद दाम्पत्य जिवन बिताइरहेका जोडी हुन् – संगीतकार श्रीकृष्ण बम मल्ल र गायिका लक्ष्मी मल्ल । उनीहरुको जोडी पनि सांगीतिक क्षेत्रमा निकै फापेको छ । श्रीकृष्ण अहिलेका चर्चित र सफल संगीतकार हुन् भने लक्ष्मी सफल गायिका । यो वास्तविक जोडीले हिट गीतहरु ‘डाँडाघरे साहिंली’, लोभी आँखा, धरोधर्म बिद्यानास लगायत थुपै गीतमा एकसाथ काम गरेका छन् ।

अर्जुन पोखरेल–दुर्गा खरेल
संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलको जोडीलाई नेपाली संगीतको धरातलमा सबैभन्दा खुसी जोडी हुन् भन्दा फरक नपर्ला । साङ्गीतिक दुनियाँका लोकप्रिय यी दुई नाम प्रेमको दुनियाँमा पनि लोभ लाग्दा जोडी हुन् । नेपाली सांगीतिक क्षेत्रमा रमेको र जमेको अर्को जोडी हो– संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलको जोडी । चितवनका अर्जुन र झापाकी दुर्गाको भेट काठमाडौंंमा संगीतले नै जुराएको हो । लामो चिनजान र सहकार्यपछि एक अर्काको दुःख सुखमा साथ दिने भन्दै २०७७ मा लगनगाँठो कसेर सहयात्रामा रमाइरहेका छन् । नेपाली सांगीतिक क्षेत्रका स्थापित संगीतकर्मी हुन् अर्जुन पोखरेल । खासगरी नेपाली चलचित्रका लागि उनले थुप्रै लोकप्रिय गीत९संगीतहरु दिइसकेका छन् । नेपाली सुगम संगीतमा रुचाहिएकी गायिका हुन्– दुर्गा खरेल । उनी पप, आधुनीक तथा चलचित्रको पाश्र्व गायनमा उत्तिकै जमेकी छिन् । ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, किस्मत २, क्याप्टेन’ लगायत दजैनौं चलचित्रका गीतमा अर्जुनले संगीत भरेका छन् भने अर्जुनका धेरै गीतमा दुर्गाको आवाज समेटिएको छ । ‘धर्ती आकाश’ र नथीया बोलको गीतहरु उनीहरु पछिल्ला रुचाइएका गीत हुन् । दुवैले एकअर्काको काममा साथ दिएर अघि बढिरहेका छन् ।

बिन्दु परियार र सुदिप सागर
त्यसैगरी गायिका बिन्दु परियार र संगीतकार एवं संगीत संयोजन सुदिप सागर सांगीतिक क्षेत्रको सफल जोडीमा पर्छ । चलचित्र मंगलमको ‘पर्ख पर्ख मायालु’ छक्का पञ्जा–३ को ‘पहिलो नम्बरमा’ लगायतका बिन्दुको स्वरले सजिएका थुप्रै गीतहरु सुपरहिट भएका छन् । पप गीत,आधुनिक गीत तथा चलचित्र गीतहरुमा समेत उनी रुचाइएकी गायिका भित्र पर्दछिन् । त्यस्तै सुदिप सागर पनि व्यस्त संगीतकार एंव संगीत संयोजकको रुपमा चिनिन्छन् ।

प्रिती आले र सुबास केसी
लोकदोहोरी क्षेत्रका सबैभन्दा खुसी जोडी हुन् प्रिती आले र सुवास केसी । साङ्गीतिक दुनियाँका लोकप्रिय यी दुई नाम प्रेमको दुनियाँमा पनि लोभ लाग्दा जोडी हुन् । प्रिती दर्शकका चाहना अनुरुपका साङ्गीतिक कोशेली निकाल्ने देखी भव्य कार्यक्रममा जोडदार प्रस्तुति दिने उनीहरू सहयात्रा निकै चाख लाग्दो छ । यी दुईले एउटा सफल प्रेम जीवन त बाँचेकै छन् सँगै प्रेम र अटुट सम बन्धको पाठ पनि सिकाएका छन् । सुबास र प्रितीका एक छोरी छिन् ।

त्यसो त गायिका निशा सुनार र निर्देशक शंकर बिसी, गायक विमल डाँगी र गायिका सरिता डाँगी, गायिका टीका प्रसाई र गायक लेखराज गुरुङ, संगीतकार महेश खड्का र निर्देशक मिनाक्षी कोइराला, सुबास केसी र प्रिति आले, राधिका हमाल र कृष्ण पुन, गीता रेउले र जेबी डीसी लगायतले संगीतलाई कर्मथलो बनाइरहेका छन् भने गायिका विष्णु माझी र सुन्दरमणी अधिकारीको जोडी पनि मिडियामा नखुले पनि सांगीतिक यात्राकै क्रममा बनेको जोडीका रुपमा देखिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु