नयाँ वर्ष २०८० मा संगीतकर्मीको संकल्प र सपना

म्यूजिक खबर
प्रकाशित: १ बैशाख २०८०, शुक्रबार

काठमाडौं । आज विक्रम संवत् २०८० साल वैशाख १ गते । अर्थात् नयाँ वर्षको पहिलो दिन । यो दिनलाई संसारभर छरिएर रहेका नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउँदैछन् । नयाँ वर्षको दिन नयाँ जोस, जाँगर र रमाइलो सँग बिताउन सकियो भने वर्षभरिका दिन त्यसैगरि बित्ने भन्ने कतिपयको मान्यता छ । नयाँ वर्षको प्रारम्भसँग अधिकांशले नयाँ योजना र संकल्प समेत गर्ने गर्दछन् । हामीले यहाँ केही संगीतकर्मीहरुको नयाँ वर्ष २०८० को योजना र संकल्पका बारेमा रिपोर्ट प्रस्तुत गरेका छौं ।

सिताराम पोखरेल – गायक
सर्वप्रथम त सम्पूर्ण नेपालीहरुमा नयाँ वर्ष २०७४ को हार्दिक मङ्गलमय शुभ कामना व्यक्त गर्दछु । २०८० को लागि खास योजना त छैन । संगीत क्षेत्रको प्रवद्र्धनमा खटिनेछु । अझै स्तरीय र फरक किसिमका गीतहरु ल्याउँने प्रण गर्दछु । परिवारसँगै बसेर हर्षोल्सासका साथ नयाँ वर्ष मनाउने छु । अरु कुरामा खासै केही रिजोलुसन छैन ।

रेजिना परियार – गायिका
विशेष योजना र संकल्प त केहि बनाएकी छैन । मैले जे काम गर्दै आएकी छु, नयाँ वर्षमा २०८० पनि त्यसलाई नै निरन्तरता दिनेछु । नयाँ नयाँ सन्देशमुलक र श्रोताले मन पराउने गीतहरु ल्याउने प्रयास गर्नेछु । २०८० मा पनि दर्शक श्रोताले यसरी नै माया गर्नु हुन्छ भने आशा गरेकी छु । अघिल्ला बर्षहरु भन्दा धेरै विदेश तथा स्वदेशका स्टेज कर्यक्रममा बिजि हुन पाउँ । मैंले जिवनमा सधैंको लागि गरेको संकल्प सकारात्मक रहनु र सकारात्मकता फैलाउनु हो ।

समिक्षा क्षत्री –मोडल
मैले आफ्नो करिअर र व्यक्तिगत जीवनका बारेमा खासै सपना पनि देख्दिन र संकल्प पनि गर्दिन । तर २०८०सालको लागि भने केहि संकल्प गरेकी छु । गतबर्ष आफ्नो काममा, व्यक्तिगत जीवनमा, साथीभाइसँगको सङ्गतमा मैले के कस्तो कमजोरी गरेँ मूल्याङ्कन गरेकी छु । यही आधारमा ती कमीकमजोरी नदोहोर्याउने संकल्प गरेकी छु । सधैं मेरा लक्ष्यहरू, समर्पण, कडा परिश्रममा केन्द्रित रहिरहुन जसकाकारण २०८० मा सफलताले मलाइ पर्खिरहेको होस् ।

शितल शर्मा – गायिका/उद्घोषक
नयाँ वर्षको दिन मनाउनको लागि थुपै्र ठाउँबाट निमन्त्रणा आएको छ । तर म यसपटक बाहिर गएर सेलिब्रेट गर्ने योजनामा छैन । घरमै परिवारसँग बसेर नयाँ वर्ष मनाउँछु । किनभने मेरो दिनको सुरुवात नै उहाँहरुबाट हुन्छ र मेरो लागि उहाँहरु निकै महत्वपूर्ण हुनुहुन्छ । नयाँ वर्षको संकल्प बिहान चाँडो उठ्न अठोट गरेकी छु अरु खासै योजना छैन । ।

दिग्गज धौराली – गीतकार
सर्वप्रथम नयाँ वर्ष २०८० को सबैलाई शुभकामना । नयाँ वर्ष २०८० मा मेरो त्यस्तो धेरै योजना खासै छैनन । २०७९ मा ‘म’ जे, जहाँ र जस्तो थिएँ, २०८० मा त्यो ‘म’ लाई जित्नसके २०८० मेरो लागि सार्थक हुनेथियो । आफू र आफ्नो कर्ममा निखार ल्याउने कोशिश पक्कै रहनेछ । सरल र बोलीचालीको भाषामा गीत लेख्ने कोशिश विगत केहि वर्षदेखि गरिरहेको छु । यस वर्ष पनि केहि गीतहरु लेख्नु छ । दर्शकश्रोताहरुको मनमा बस्ने खालका प्रेमिल गीतहरु लेख्ने रहर छ । केहि किताबहरु पढ्ने योजना छ।

सुमी सिंह–गीतकार
म एक सचेत नागरिक हुँ । खै किन हो व्यक्तिगत सपना सजाउन आउँदैन मलाई । सधैं मेरो समाज, मेरो देश शिक्षित र सफल भएको हेर्न सपना देख्छु । यो हुनुको पहिलो कारण भाइरल भएका काण्ड र विद्यमान राजनीतिका घटनाक्रमले पनि हुनुपर्छ । कहिलेकाहीँ त लाग्छ हाम्रो दिमागले सकारात्मक सोच्न नै लगभग छोडिसक्यो होला । २०८० मा भने कम्ती नकारात्मक समाचार पढ्नु नपरोस् । भाइरल र काण्डका नाममा मानिसहरुका जथाभावी भनाई सुन्न नपरोस् । भन्ने कामना गर्दछु ।
योजना भन्नु पर्दा – म हलमा गएर सिनेमा तेत्ती हेर्ने मान्छे त होइन । तर यसटक हलमा सिनेमा हेरेर नयाँ बर्ष २०८० मनाउने योजना बनाएकी छु । नयाँ वर्ष २०८० ले सबैको जिवनमा थप जोश,जाँगर र उर्जा लिएर आओस्, हार्दिक शुभकामना ।

सरिता भारती – गायिका/सञ्चारकर्मी
२०७९ लाई नियाल्ने हो भने अस्तब्यस्त राजनितीले हरेक मानिसको जीवनशैली प्रभावित भयो । सन्तोषजनक वर्ष बन्न सकेन । व्यक्तिगत रुपमा भने त्यती निराश त छैन । आम नागरिकको तर्फबाट सोच्नुपर्दा आर्थिक मन्दि, जटिल राजनीतिले भोलि कुन रुप लेला भन्ने डर लाग्छ । २०८० ले मुलुकलाई सम्बृद्ध बनाओस् भन्ने कामना गरेकी छु । व्यक्तिगत सपना र योजना – थप जोश र जाँगर लिएर काम गर्नेछु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु