लड प्यालेसमा नविन र मिलनले नचाए दर्शक

म्यूजिक खबर
प्रकाशित: १७ माघ २०७७, शनिबार
Nabin Paudel

काठमाडौंँ । चर्चित गायक गायिका मिलन नेवार, नविन पौडेल र राजनराज सिवाकोटीले राजधानीकाबासी नचाएका छन् । शुक्रबार साँझ काठमाडौंको टोखास्थित लड प्यालेस ब्याङ्केट उद्घाटनमा आयोजित बिषेश संगीतिक कार्यक्रममा उनीहरुले गीतसंगीतको प्रस्तुति मार्फत दर्शक नचाएका हुन् ।
करिब १० महिनापछि कलाकारको सांगीतिक प्रस्तुतीमा नाच्न पाउदा दर्शक निकै खुसी देखिन्थे । लोकगायक नविन पौडेलबाट सुरु भएको संगीतिक प्रस्तुति गायिका मिलन नेवार, राजनराज सिवाकोटीलगायत कलाकारमा पुगेर टुङ्गिएको थियो ।

कार्यक्रममा गायक पौडेलले ‘लेउखुकुरी लेउ’, ‘बुलाकी लाउने, झुम्का लाउने’ बोलको गीतबाट दर्शक नचाएका थिए । करिव तीन घन्टा चलेको सांगीतिक कार्यक्रममा गायिका मिलन नेवारले ‘जहिले सम्म’, ‘सिरिमा सिरि हावा’ लगायत करिब आधा दर्जन चर्चित गीतसंगीत प्रस्तुत गरेकी थिइन् ।
धेरै पछि दर्शकको अगाडि उभिएर कार्यक्रम गर्न पाउदा निकै खुसी लागेको मिलनले बताइन् । कार्यक्रमको अवसर दिएकोमा लड प्यालेसका संचालकलाई उनले धन्यवाद दिइन् ।

कार्यक्रममा गायक तथा संगीतकार राजनराज सिवाकोटीले फिल्म तथा आधुनिकका चलेका चेप्टे चेप्टे पेरुङ्गा, सुर्के थैली, कुटुमा कुटु, टाकन टुकुन टाक्क, गोजीमा दाम छैन लगायत आधा दर्जन बढी गीतसंगीत पस्केका थिए । उनले कुटुमा कुटु गीत प्रस्तुत गर्दा दर्शक स्टेजमै चढेर समेत नाचेका थिए ।
कलाकार सुवास खड्काले संचालनमा ल्याएको लड प्यालेस ब्याङ्केट शुक्रबार नै उद्घाटन भएको थियो । टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले रिवन काटेर प्यालेसको उद्घाटन गरेका थिए ।

दुईवटा पार्टी भेन्यु, सांगीतिक कार्यक्रमका लागि आकर्षक स्टेज, पार्किङ लगायत बिभिन्न सुबिधा, आकर्षक डिजाइन सहित करोडौको लगानीमा तयार प्यालेस विवाह, बर्तमन, पास्नी, ब्यावसायिक उत्पादन लन्च लगायतका थुप्रै कार्यक्रमलाई लक्षित गरेर तयार पारिएको प्यालेसका संचालक समितिका अध्यक्ष समेत रहेका कलाकार सुवास खड्काले बताए । उनले फोटो तथा भिडियो, म्युजिक सिस्टम, ब्युटिसियन, ब्यावसायिक इभेन्ट म्यानेजमेन्टका लगायत थुप्रै सुबिधा प्यालेसमा रहेको जानकारी दिए ।

थुपै्र म्युजिक भिडियो तथा चलचित्रमा समेत अभिनय गरेका सुवासले ब्यवसायमा पनि आफुलाई सक्रिय राख्दै आएका छन् ।
कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, कलाकार कृष्ण मल्ल, मदनदाश श्रेष्ठ, अभिनेत्री रेजिना उप्रेती, हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’, लोक तथा दोहोरी गायक चन्द्र शर्मालगायत थुप्रै कलाकर्मीको समेत सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु