नम्रता अभिनित ‘जाईरा’ को प्रदर्शन मिति तय

म्यूजिक खबर
प्रकाशित: २७ फाल्गुन २०७५, सोमबार

नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेको नेपाली चलचित्र ‘जाईरा’ ले रिलीज मिति तय गरेको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर २०७६ को भदौ ६ गते यो चलचित्र रिलीज हुनेछ ।

एक महिलाले लिने प्रतिशोधको कथामा बनेको यो चलचित्रमा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ सहित नव(कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमूख अभिनय रहेको छ । नव अभिनेत्री रेग्मी पनि चलचित्रमा खेलाडीको रुपमा रहेकी छिन् । नव अभिनेता मगर नम्रताको कोचको भूमिकामा छन् ।

नम्रताले यस चलचित्रका लागि आफ्नो लोभलाग्दो कपाल छोट्याउनुका साथै आफ्नो तौल ५१ किलोग्रामबाट घटाएर ४३ किलोग्राम बनाएकी थिइन् । चलचित्रको बिषयमा बोल्दै नम्रताले भनेकी छन्, ‘सबै कुरा नेचुरल देखियोस् भनेर तौल घटाएँ, कपाल काटे, ६ महिना एक्सन सिकेँ । अब मैले कति मेहनत गरेको छु त्यसको मुल्यांकन गर्ने काम दर्शकको हो’ ।

एक्शन प्रधान ‘जाईरा’ लाई आँशुतोष राज श्रेष्ठले निर्देशन गरेका छन् । पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । यो चलचित्र कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा।लि।को प्रस्तुतीमा बनेको हो । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाईरा’ लाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् ।

कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । यसमा केशव थापाको नृत्य निर्देशन छ । डि.ओ.पी. बाबु श्रेष्ठको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु