म्यूजिकखबर/काठमाडौं
नन्दा बस्याल नाम सुन्दा नै कसैले पनि यही हो भनेर विधा तोक्न सक्दैन । असाधारण प्रतिभाकी धनी नन्दा जुन विधाको काममा अघि सर्छिन् त्यतैको जस्तो लाग्छ । गायन विधामा आउँदा सबैले यिनलाई गायिका भन्छन्, मोडलिङमा हिंडेपछि यिनी मोडलजस्तै लाग्छ, कहिले यिनी नाटकमा व्यस्त हुन्छिन् भने कहिले टेलिफिल्ममा । यो त कलाकारिताको क्षेत्र भयो तर यिनी वास्तवमै भन्नु पर्दा राम्रो तेक्वान्दोको खेलाडी हुन् ।
वीरेन्द्र नगरपालिका–६ सुर्खेतमा जन्मिएकी नन्दाले गायन क्षेत्रमा भने ‘शिरफूल’ नामक तिजको गीतबाट औपचारिक सुरु गरेकी हुन् । तर यिनी कलाकारिताको सुरुवात गर्दा २०५० सालतिरबाट नृत्य प्रतियोगिताबाट प्रवेश गरेकी हुन् । विद्यालयस्तरमा हुने नृत्य प्रतियोगितामा भाग लिँदालिँदै उनी जिल्ला, क्षेत्र र राष्ट्रियस्तरमा सधैं प्रथम भएर स्कुलकै नाम राख्न सफल भइन् । त्यसो त उनी सुर्खेतमा रहेको बागिना समूहमा रहेर ०५२ सालमा नै स्कुल पढ्दाताका नै राष्ट्रियस्तरमा भएको नाटक महोत्सवमा भाग लिन काठमाडौं छिरेकी थिइन् । ‘अंक कि वंश’ नामक नाटकमा उनले काठमाडौंमा भएको नाटक महोत्सवमा भाग लिएपछि उत्कृष्ट नाकको उपाधि पाएर सुर्खेत फर्केकी थिइन् ।
२०५० सालतिरबाट नै उनी तेक्वान्दो खेलमा सहभागी हुँदै आएकी थिइन् । सुर्खेतबाट तेक्वान्दोको खेलमा होमिएकी उनले ०५१ मै राष्ट्रियस्तरमा भएको जुनियर खेलमा २८ केजी तौलतर्फ भाग लिइन् । बुटवलमा भएको उक्त खेलमा पनि उनी प्रथम भएर मेडल लिएर सुर्खेत फर्किएपछि अझ उनलाई सबैले तारिफ गर्न थाले भने परिवारले पनि आँटिली छोरीको रुपमा लिन थाले । तत्कालिन समय काठमाडौंबाहेक अन्य क्षेत्रमा ब्ल्याक बेल्ट दिने सिस्टम थिएन जसका कारण उनले २०५४ सालमा काठमाडौंमा भएको वीरेन्द्र जन्मोत्सवको अवसरमा भएको प्रतियोगितामा प्रथम भएर ब्ल्याक बेल्ट लिएकी थिइन् । तत्कालिन समय केटी मान्छे नाच्न हुन्न, गाउन हुन्न भन्ने समयमा पनि उनी नृत्य र गायनमा पोख्त हुँदै गएकी थिइन् । जिल्ला र केन्द्रमा हुने प्रतियोगिताहरुमा भाग लिँदै आएकी थिइन् । त्यतिमात्र होइन तेक्वान्दो खेलाडी हुनु भनेको अर्काको लात्ती खाने हो भनेर गाउँलेले परिवारलाई भन्दा पनि आश्चर्यमा पर्ने गर्थिन् नन्दा ।
‘अर्काको लात्ती खान के पठाको ?’ छिमेकीले परिवारलाई भन्दाको दिन अहिले सम्झिँदै उनी भन्छिन्– ‘अहिले त्यही समाज मेरो उदाहरण दिँदै छोराछोरीहरुलाई भविश्य खोजिरहेको छ ।’ खेलमा तेक्वान्दोको ५ औं डन हुने भने तेक्वान्दो संघको केन्द्रीय सदस्यसमेत हुन् । संघकै महिला विभाग प्रमुख एवं रेफ्रीसमेत रहेकी नन्दाले डेढ दर्जन जति गीतमा स्वरसमेत दिएकी छन् । ३ दर्जनभन्दा बढीमा अभिनय गरिसकेकी नन्दा टेलिसिरियल ‘झ्याइँकुटी झ्याँई’मा ‘काइँली’को भूमिका पनि उनको धेरै नै चर्चित बनेको थियो ।
नन्दा अनुशासित, निडर स्वभावकी व्यक्ति हुन् । उनी कुनै पनि समस्या आइपर्दा वकालत गर्न सक्छिन् । सिस्टर नेपाल, लालटिन नेपालको अध्यक्ष भएर काम गरिरहेकी उनी काजोल म्यूजिकको पनि संचालक हुन् । स्कुले जीवनदेखि नै गीतसंगीत, खेल भन्दाभन्दै जीवनको ३ दशक पार गसिकेकी छन् । उनलाई अहिले पनि याद ताजै छ ‘तेक्वान्दो खेल्ने एक जना दाइको खेलको क्रममा नै मृत्यु भएको थियो त्यो देखेर परिवारले उनलाई कोठाभित्र थुनेर राखेको दिन । तेक्वान्दो खेल्दा जिन्दगी तलमाथि भयो भने आफैं जिम्मेवारी भनेर कागज गर्नुपर्नु थियो । त्यो देखेर अब नन्दालाई केही होला भनेर परिवारले खेल नखेलोस् भनेर थुनेको दिन मनमा ताजै भएको उनले बताइन् । तत्कालिन समाज न गीत गाउन दिन्थ्यो, न नाच्न, न खेल्न !
त्यो समयलाई मुकाबिला गर्दै परिवारको मन जित्दै आएकी उनले बुटवलको तेक्वान्दो खेलको राष्ट्रिय प्रतियोगिता जितेपछि बल्ल ममीको सपोर्ट मिलेको बताउँछिन् । अहिले कहिलेकाहीँ फुर्सदको समय एक्लै भएको बेला जिन्दगीको पाना पल्टाउने गर्छिन् नन्दा । जिन्दगीको पाना पल्टाउँदै जाँदा उनलाई ‘जिन्दगी एउटा चलचित्र बनिसकेको जस्तो लाग्छ ।’ उनी आफूलाई गायिका, खेलाडी वा कलाकार भन्नुपदा पनि एउटा पात्र मात्र भएको बताउँछिन् । जुनसुकै विषयमा पनि मेल खाने पात्र बन्न सकेकोमा आज गाउँमा उदाहरण बन्न सकेको बताउँदै समाजसेवा अबको गन्तव्य भएको बताउँछिन् ।