• तारा देवी र गणेश रसिकलाई ५१ हजार राशी सहित ‘नारायणगोपाल स्मृति सम्मान’ अर्पण

    म्यूजिक खबर
    प्रकाशित: २१ मंसिर २०८०, बिहीबार

    काठमाडौँ । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३३ औँ स्मृति दिवसका अवसरमा स्वर किन्नरी तारादेवी (मरणोप्रान्त) र सङ्गीतकार गणेश रसिक (राई)लाई सम्मान अर्पण गरिएको छ ।

    नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थानद्वारा मंसिर १९ गते आयोजित कार्यक्रममा कोषका अध्यक्ष उषा शेरचनले नारायणगोपाल स्मृति सम्मान एवं विशेष पुरस्कार प्रदान गरेकी हुन् । पुरस्कारको राशि जनही रु ५१ हजार रहेको छ ।

    दिवङ्गत तारादेवीलाई प्रदान गरिएको सम्मान तथा पुरस्कार तारादेवी स्मृति प्रतिष्ठानका उपाध्यक्ष भूवन चन्दले ग्रहण गरिन् । अग्रज स्रष्टा तारादेवीले तीन हजार पाँच सय बढी गीतमा स्वर दिएकी छन् ।

    सो अवसरमा सम्मानित व्यक्तित्व रसिकले स्वरसम्राट नारायणगोपालसँगको सहकार्यका अनुभूति सुनाउँदै उनको गीत सङ्गीतबिना सुगम सङ्गीत अपुरो हुने बताए । विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ । कार्यक्रममा विभिन्न कलाकारले नारायणगोपालले गाएका विभिन्न गीत प्रस्तुत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु