
काठमाडौं । गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा रहेको ‘दुःख सुनाएर के काम’ यतिबेला सबैले रुचाइएको गीत बन्न सफल भएको छ । नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक भएको छोटो समयमा सबैको प्रशंसा बटुल्न सफल भएको छ । दिपक शर्माको संगीत सिर्जनामा रहेको यो गीतमा स्वरुपराज आचार्यको स्वर रहेको छ । पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको यो गीतलाई राजेश श्रेष्ठले रेकर्डिङ गरेका हुन् भने किशोर थापाको मिक्सिङ रहेको छ ।
‘दुःख सुनाएर के काम’ शीर्षकजस्तै यथार्थ धरातलमा शब्द सिर्जना भएको छ । शब्द अनुसारको संगीत र स्वरको माधुर्यता गीतमा भेटिन्छ । वास्तवमा आफ्नो मनका दुःख अरुलाई सुनाएर कम हुन्छ भने पनि आखिर आफैंसँग दुःख रहेको हुन्छ । संसार स्वार्थी छ, जसलाई दुःख सुनायो झन् दुःखको भारी बढ्ने रहेछ भन्ने गीतबाट प्रस्तुत गरिएको छ ।
गीतकार नारायण खतिवडा गीति लेखनमा दुई दशकभन्दा बढी समय बिताइसकेका छन् । लेखनमा यथार्थवादी धरातललाई आत्मसात गर्दै आएका छन् । सामाजिक कथावस्तु, माया प्रेमभित्र वियोगान्त र संयोगान्त कथावस्तुलाई शब्द सिर्जनामा समेट्न सफल भएका छन् ।
केही समयअघि मात्र स्वार्थी संसार बजारमा ल्याएका गीतकार नारायण खतिवडाको यसभन्दा पहिला पनि दर्जनौं गीतहरु बजारमा आएका छन् । सम्झनाका पाइलाहरू नामक गीति संग्रहमा एकसय नौ वटा गीतहरू समाबेश छन भने स्ववदेश छोडी, मनका कुरा, विन्दास, देखुँदेखुँ, सन्देश पु¥याइदेउ, मेरो कथा, चोखो चोखो, लगायतका दर्जनौं गीत बजारमा रहेका छन् । गीत, कविता, मुक्तक र समसामयिक लेख रचना विधामा कलम चलाउँदै आएका गीतकार नारायण खतिवडा सरकारी सेवामा हुनुहुन्छ । सालिन स्वभाव, समयअनुसार चल्न सक्ने र साहित्यिक चेतना भएका गीतकार खतिवडा गीतिलेखनबाट अब्बल गीतकारको रुपमा परिचित हुनुहुन्छ ।