सांगीतिक यात्राका ३८ वर्षपछि पहिलोपटक एकल साँझमा गुञ्जिए नारायण रायमाझी

म्यूजिक खबर
प्रकाशित: १६ भाद्र २०८०, शनिबार

काठमाडौं । २०८० साल भदौ १५ गते खचाखच भरियो राजधानीको प्रज्ञा प्रतिष्ठानको हल । १३०० सिट क्षमताको हलमा दर्शक नअटाएर बाहिर डबलीमा पनि उतिकै घुँइचो भयो । कारण थियो थुप्रै कालजयी गीतमा संगीत र स्वर भरेका गायक तथा संगीतकार नारायण रायमाझीको एकल साँझ । ‘नेपाल टेलिकम नारायण रायमाझी सांगीतिक साँझ’ नाम दिइएको उक्त साँझमा रायमाझी । ३८ वर्षदेखी लामो समयदेखि अनवरत रूपमा नेपाली संगीतमा आफूलाई समर्पित गराएका ६२ वर्षिय रायमाझीको पहिलो एकल साँझ हो । हलमा रायमाझीले आफ्ना कालजयी र आफुलाई विशेष रहेका गीतहरु प्रस्तुत गरेर उपस्थित दर्शकलाई विगत सम्झाए ।

एकल साँझमा रायमाझीका चर्चित गीतहरु राम्दी पुल तर्ने वित्तिकै, निरमाया ठूली, सरर लठ्ठा काटेर, राम्दि पुल तर्ने, भरर रानी चरी, गेटमा बेलीजाइ, कालो बादल निलो आकाशमा, डोरी फुर्काले, जाने बेला भइन र, यो दशैंमा म आइन भने गीतहरुलाई सामुहिक रुपमा प्रस्तुत गरिएको थियो । यी गीतहरु चर्चित कलाकारहरु शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, कुलेन्द्र बिश्वकर्मा, राधिका हमाल, राजु गुरुङ, कृष्ण रेउले, टिका पुन, बिक्रम परियार, कुशल बेलबासे, चेतन गोतामे, कमला पोखरेल, दिपिका बयम्भु, प्रकाश दुतराजले उनलाई प्रस्तुतिमा सघाएका थिए ।

त्यस्तै रायमाझीको संगीत रहेको राष्ट्रकवी रचित गीत ‘उनको प्रिती पहिले होकि’ बालकलाकारद्वय सुप्रिम मल्ल र पूजा देबकोटाले गाएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए ।

यसैगरि रायमाझीका थुप्रै चर्चित गीत मध्येको एक नमुछे आमा गाउँदा उपस्थित दर्शक झुमेका थिए । कृष्णभक्त राईलेले स्वर भरेको यो गीत दर्शक श्रोताले अत्याधिक मन पराएका छन् । चर्चित यस गीतलाई पछिल्लो पटक रचना रिमाल र प्रविण बेड्वालको स्वरमा रिमिक्स समेत गरिएको थियो । साँझमा गायिका रचना रिमाल र रायमाझीले उक्त गीतलाई सुनाएका थिए ।

कार्यक्रममा असारे गीतमा पनि रायमाझी गुन्जिएका थिए । उनलाई गायिका टीका पुनले साथ दिएकी थिइन् । ‘मलाई सम्झी रेलिमै’ (कार्गील) ‘फुलबुट्टे चोलीमा’, ‘गेटमा बेली जाइ’, ‘कालो केशमा रातो रिबन’, ‘पसिनाले पैसा साटेर’, ‘माया पैँचो नदेउ साइँली’, ‘लाइछौ बेसन’, ‘हाँसेर बोलीदेऊ माया’, ‘सान्नानीले झुक्कायो मलाई’ लगायतका गीत समेत प्रस्तुत भएका थिए ।

कार्यक्रम विभिन्न चरणमा सम्पन्न भएको थियो । जसमध्ये शिरीष देबकोटाले औपचारिक कार्यक्रमको सहजीकरण गरेका थिए । रमेश बिजीले नारायण रायमाझीको पारिवारीक पृष्ठभुमीलाई प्रेमिल र साहित्यिक भाषामा सुनाएका थिए । त्यस्तै पुरुषोत्तम न्यौपानले बोल्ड आवाजमा कार्यक्रम सञ्चालन गरेका थिए । त्यस्तै नारायण रायमाझीका भाइ समेत रहेका संगीतकर्मी दुर्गा रायमाझीले आफूहरु हुर्केको संस्कार र संस्कृतीको सुनाएका थिए, उनी बोलिरहँदा उपस्थित दर्शकले नारायण रायमाझीकै प्रस्तुति हेर्न आतुर भएको संकेत गरेपछि उनले आफ्ना बाल्यकाललाई चाहेजति प्रस्तुत गर्न पाएनन् । र उनले बाल्यकाल र मातृभूमिसँग जोडिएको ‘सोरठी’ प्रस्तुत गर्न दाई नारायण रायमाझीलाई अनुरोध गरे । सोरठी प्रस्तुत गरिरहँदा रायमाझीले सोरठीको कथा र आफ्ना अनुभव सुनाए ।

साथै कात्तिक ३ गते प्रदर्शन हुने नारायण रायमाझी निर्देशित चलचित्र परदेशी २ को पनि बिज्ञापनको सुरुवात गरिएको थियो । यो चरणको कार्यक्रम सञ्चालन भने कलाकार प्रकाश सपुतले गरेका थिए । उनले निकै आकर्षक र नौलो तरिकाले कार्यक्रम सञ्चालन गरेका थिए । उनले उठाएर ३८ मिनेट तालीको माग गरे । दर्शक पनि जुरुक्कै उठिदिए अनि उनले भनेकै समयसम्म लयबद्ध ताली बजाइरहे ।
कार्यक्रममा परदेशी –२ को डेमो स्वरुप गीति नाटक ‘बिदाई’ पनि देखाइएको थियो ।

कार्यक्रममा संस्कृती तथा पर्यटन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यता रहेको थियो । मन्त्री किराँतीले आफू नारायण रायमाझीको गीतहरु सुन्दै हुर्केको बताएका थिए । देशदर्शनका लागि गीत संगीत र संस्कृतीको महत्व रहने बताउँदै उनले आयोजकलाई रु १ लाख २० हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको संयोजक गायक रमेशराज भट्टराई रहेका थिए भने बाध्यबादकको संयोजकको रुपमा बरिष्ठ संगीतकार बिबि अनुरागी रहेका थिए ।

आयोजक संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनी, रमेश बिजी, एमाले नेता प्रदीप ज्ञवाली, निर्देशक तथा फिल्म अभिनेता नीर शाह, गायक बमबहादुर कार्की, गीतकार कृष्णहरि बराल, कलाकारहरु मदनदास श्रेष्ठ, सन्तोष पन्त, केकी अधिकारी, वर्षा सिवाकोटी लगायतको उपस्थिती थियो । हलभित्र नअटाएका दर्शकले बाहिर डिस्प्लेमा कार्यक्रमलाई नियालेका थिए ।
स्रष्टा रायमाझी २०४२ सालदेखि निरन्तर लोकगीत, संगीतमा साधनारत छन् । गीत संगीतका क्षेत्रमा सबैलाई सहयोग गर्ने, नयाँ कलाकारलाई सधैँ उत्प्रेरित गरिरहने स्रष्टा रायमाझीलाई लोक सङ्गीतका क्षेत्रमा समर्पित बरिष्ठ कलाकारका रुपमा लिइन्छ । साथै रायमाझीलाई कलाकारहरुको पनि कलाकार र कलाकारहरुको अभिभावकको रुपमा पनि लिईने गरिन्छ । बुबा सूर्यबहादुर रायमाझी र आमा कृष्णकुमारी रायमाझीको दोस्रो सन्तानका रुपमा बि.सं.२०२० सालमा पाल्पाको झडेवामा जन्मिएका हुन् । उनको दाई लक्ष्मण रायमाझी र भाई दुर्गा रायमाझी पनि चर्चित कलाकार हुन् । दाई लक्ष्मणको केही बर्ष अगाडि निधन भइसकेको थियो । उनको कान्छो भाई दुर्गा प्रतिष्ठानको पूर्व अध्यक्ष तथा हाल सल्लाहकार समेत हुन् । नारायण रायमाझीद्धारा निर्देशित चलचित्रहरु गोर्खा पल्टन, परदेशीले अत्याधिक चर्चा बटुल्न सफल भएका थिए भने परदेशी २ कात्तिक ३ गते प्रदर्शन हुँदै छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु