राष्ट्रपतिबाट संगीतकर्मीलाई ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार’

म्यूजिक खबर
प्रकाशित: ९ माघ २०७९, सोमबार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुहुने स्रष्टा सर्जकहरुलाई सम्मान तथा पुरस्कार समेत प्रदान गरेकी छिन् । संगीत महर्षी नातिकाजीको ९८औं जन्मजयन्तीको अवसरमा नातिकाजी स्मृति समाजले शुक्रबार राष्ट्रपति भवन, शितल निवासमा आयोजित कार्यक्रम अवसरमा गीत–संगीत र साहित्यका क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान र पुरस्कार प्रदान गरेकी हुन् । जसअन्तर्गत मनबहादुर मुखिया, दीप तुलाधर, दीपा नारायण झा, प्रदीपराज पाण्डे, फणिन्द्र राई, विके राना, कन्हैया सिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान–२०७८’ प्रदान गरिएको थियो ।

यस्तै, एकनारायण भण्डारी, कालीप्रसाद बासकोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार–२०७८’ प्रदान गरियो ।

रंगपत्रकार डब्बु क्षेत्री र कुबेर गिरी ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७८’बाट सम्मानित भएका छन् ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विविध जाति र उनीहरुको भाषा, संस्कृति, गीत, सङ्गीतको एकता नै नेपाली सङ्गीतको राष्ट्रिय स्वरुप भएको बताइन् । नेपाली समाजको विविधतालाई यिनै लोकसंस्कृति, गीत र सङ्गीतले एकढिक्का बनाउन सघाएको उनको धारणा रहेको थियो ।‘नेपालको भौगोलिक विविधताको प्रतिनिधित्व स्वरुप बसोबास गर्ने जातिका आफ्नै मौलिक भाषा, संस्कृति, गीत र सङ्गीत रहेको छ’ उनले भनिन् ‘नेपाली मौलिक गीत सङ्गीतको जगपुस्ताका रुपमा सङ्गीत महर्षि नातिकाजी श्रेष्ठ अग्रणी रहनुभएको छ ।’

यसैगरी, देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८’ प्रदान गरिएको कार्यक्रममा सङ्गीत गुरु चन्दनकुमार श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार–२०७८’, लोक गायिका देवी घर्तीलाई ‘नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार’ र रविन कार्कीढलीलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार’ दिइयो ।

कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजीत बासकोटाले नेपाली सङ्गीतको मौलिक सिर्जनाका क्षेत्रमा नातिकाजीको योगदानको चर्चा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु