• सङ्गीत महर्षि नातिकाजीको सम्झनामा सम्मान र पुरस्कार घोषणा

    म्यूजिक खवर
    प्रकाशित: ४ पुष २०७७, शनिबार

    काठमाडौं । नातिकाजी विशिष्ट सम्मान एवम् पुरस्कार घोषणा गरिएको छ । नेपाली सङ्गीतका शिखर पुरूष नातिकाजी श्रेष्ठको ९६ औं जन्मजयन्तीका अवसरमा कुटुवहाल चावहिलमा शुक्रबार सम्मान एवम् पुरस्कार घोषणा गरिएको हो । बरिष्ठ गायक योगेश बैद्यको संयोजकत्वमा गठित तीन सदस्यीय सम्मान एवम् पुरस्कार छनोट समितिको सिफारिसअनुसार सम्मान एवम् पुरस्कार घोषणा गरिएको समाजले जनाएको छ ।

    नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बाँस्कोटाका अनुसार, नेपाली सङ्गीतको विकासमा योगदान पुर्‍याउनुहुने व्यक्तित्वहरूलाई हरेक वर्ष सम्मान एवम् पुरस्कार प्रदान गरिन्छ । उहाँका अनुसार, २०७६ सालको नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान बरिष्ठ सङ्गीतकार नोर्बु छिरिङ लामालाई प्रदान गरिने भएको छ । यस्तै, बालकृष्ण सजिव, सुरेन्द्र राना, राजु अग्रवाल, सुनिल मास्के, राजु सिंह, मदन सिंह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, चुडामणि देवकोटा र महेश खड्कालाई नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान-२०७६ प्रदान गरिने भएको छ । यस्तै, पुरस्कारतर्फ प्राश्ना शाक्य, चेतन सापकोटा, सुगम पोखरेल र दयाराम पाण्डेलाई नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार-२०७६ प्रदान गरिने भएको छ ।

    यसैगरी, मेलिना राई, वसन्त सापकोटा, सुरज थापा र हर्क साउदलाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार-२०७६ प्रदान गरिने जनाइएको छ । यस्तै, जीवीत जल्मीलाई नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार-२०७६ प्रदान गरिने भएको छ । यसैगरी, विकास नाथ योगीलाई नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार-२०७६, बद्री पंगेनीलाई नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार-२०७६ र पत्रकार विदुर गिरी एवम् श्याम स्मृतलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार-२०७६ प्रदान गरिने जनाइएको छ ।

    कार्यक्रममा समाजका अध्यक्ष शम्भूजीत बाँस्कोटाले नेपाली सङ्गीतको इतिहास खोज्ने हो भने नातिकाजीको अध्ययनबाट मात्र पूरा हुने बताउनुभयो ।

    यस्तै, बरिष्ठ सङ्गीतकार शान्तिराम राईले नेपाली मौलिक सङ्गीतको राजमार्ग निर्माणमा नातिकाजीको प्रमुख भूमिका रहेको चर्चा गर्नुहुँदै नेपाली सङ्गीतका हरेक पारखीले यो सत्यलाई अनुशरण गर्नुपर्ने बताउनुभयो । यस्तै, गायक सुगम पोखरेलले नेपाली सङ्गीतको सागरका रुपमा नातिकाजीको योगदान रहेको चर्चा गर्नुभयो ।

    गायक बद्री पंगेनीले लोक सङ्गीतको धरातलमा नातिकाजीले आफ्ना हरेक सङ्गीत सिर्जना गर्नुभएको बताउनुभयो । समाजका सचिव दीपक श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा गीतकार भूपेन्द्र खड्काले नेपाली मौलिक सङ्गीतको विकास र विस्तारमा नातिकाजीको योगदानको चर्चा गर्नुहुँदै नेपाली सङ्गीतको आकाशका रुपमा योगदान रहेको बताउनुभयो । सम्मान एवम् पुरस्कार वितरण कार्यको समय पछि तय गरिने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु