संगीत महर्षि नातिकाजीको सम्झनामा राष्ट्रपतिको हातबाट संगीतकर्मी र सञ्चारकर्मीलाई सम्मान र पुरस्कार

म्यूजिक खबर
प्रकाशित: १८ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । संगीत महर्षि स्व. नातिकाजी श्रेष्ठको ९४औं स्मृति दिवसको अवसरमा नातिकाजी स्मृति समाजले सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०७६ आयोजना गरी विभिन्न संगीतकर्मी तथा पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेको छ।

सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९६ औँ जन्मजयन्तीको अवसरमा नातिकाजी स्मृति समाजद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह, २०७६’ को अवसरमा राष्ट्रपति भण्डारीले विभिन्न स्रष्टाहरुलाई दोस्सला ओढाएर कदरपत्र तथा नगदद्वारा सम्मान गरिन् । नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान, २०७६ बाट सम्मानित हुनेमा वरिष्ठ गीतकारद्वय बालकृष्ण सजिव र चुडामणि देवकोटा, वरिष्ठ तवलावादक राजु अग्रवाल, वरिष्ठ सङ्गीतकार सुनिल मास्के, राजु सिंह, मदनसिंह नेपाली, मनोहर सुनाम, प्राज्ञ शान्तिराम राई र महेश खड्का छन् ।


त्यस्तै नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार, २०७६ बाट सम्मानित हुनेमा गायिका प्राश्ना शाक्य, गायक एंव सङ्गीतकार चेतन सापकोटा, गीतकार दयाराम पाण्डे तथा गायक एंव सङ्गीतकार सुगम पोख्रेल छन् । यसैगरी नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, २०७६ बाट सम्मानित हुनेमा गायिका मेलिना राई, सङ्गीतकार एंव गीतकार बसन्त सापकोटा, गायक सुरजकुमार थापा तथा गीतकार हर्क साउद छन् ।

त्यस्तै नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कारबाट सङ्गीतकार, सङ्गीत संयोजक तथा वाद्यवादक जीवित जल्मी, नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट विदुर गिरी र श्याम स्मृत, नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कारबाट शास्त्रीय सङ्गीत साधक विकास नाथ योगी, नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कारबाट लोक गायक बद्री पंगेनी र नातिकाजी राष्ट्रिय सम्मान पुरस्कारबाट नवराज केसी र जारा प्रसाइ सम्मानित भएका छन् ।

यसैगरी नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान, २०७६ बाट नोर्वु छिरिङ लामा सम्मानित भएका छन् । सो अवसरमा बाल गायिका जारा प्रसाईं, सुगम पोखरेल, प्राश्ना शाक्य, मेलिना राई र सुरज थापाले आ–आफ्नो साङ्गीतिक प्रस्तुति गरेका थिए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नातिकाजी स्मृति समाजका अध्यक्ष एवं वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा, वरिष्ठ सङ्गीतकार प्रेमध्वज प्रधान, गीतकारद्वय किरण खरेल र राजेन्द्र थापालगायतको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु