प्रतिष्ठानले दियो दुई सय लोकदोहोरी कलाकारलाई राहत

म्यूजिक खबर
प्रकाशित: २३ जेष्ठ २०७८, आईतवार
Ramesh BG

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले लकडाउनमा अप्ठ्यारोमा परेका लोकदोहोरी गीतसँग आबद्ध कलाकारलाई राहत प्रदान गरेको छ ।
प्रतिष्ठानको ‘आफू बच्ने र अरुलाई पनि बचाउने अभियान’ अन्तर्गत पहिलो चरणमा दुई सय जना कलाकारहरुलाई निःशुल्क खाद्यान्न सामग्री सहयोग वितरण गरेको जनाएको छ ।

प्रतिष्ठान केन्द्र र दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिको संयुक्त आयोजनामा प्रतिष्ठानसँग आवद्ध तथा पीडित कलाकारहरुलाई आजबाट चरणबद्ध रुपमा खाद्यान्न सामग्री सहयोग वितरण सुरु गरेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले जानकारी दिएका छन् ।

उनका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यका समन्वय समितिसहित ९ वटा समिति भित्रका पूर्व, निवर्तमान र वर्तमान कार्यसमितिका दोहोरी गायक–गायिकालाई चामल, दाल, तेल, मसला, चिनी लगायत उपभोग्य सामाग्री वितरण गरिने छ ।

यस अभियानको पहिलो चरणमा वितरण गरिएको सम्पूर्ण सामग्री प्रतिष्ठानका केन्द्रीय सल्लाहकार पृथ्वी थकालीको विशेष पहलमा उपलब्ध भएको हो । पहिलो चरणमा संस्थासँग आबद्धलाई सहयोग गरिसकेपछि सङ्घसंस्था भन्दा बाहिर रहेर काम गरिरहेका लोकदोहोरी संगीतकर्मीहरुलाई सहयोग गरिने बताइएको छ।

विभिन्न दोहोरी साँझमा काम गरेका तर संस्थामा आबद्ध नभएका, होचा पुड्का सङ्घ, नेत्रहीन सङ्घ, रेकर्डिङ स्टुडियोहरूमा काम गरेका संगीतकर्मीहरुलाई पनि राहत वितरण गर्ने अध्यक्ष बिजीले बताए ।

अध्यक्ष रमेश बिजीका अनुसार यो वर्ष समस्यामा परेका ६ सय बढी लोकदोहोरी कलाकारहरूलाई खाद्यान्न वितरण गर्ने योजना रहेको छ ।
कोरोनाको महामारीमा पनि यस्तै निषेधाज्ञा लागू भएपछि हजारौँ कलाकारहरु मर्कामा परेका थिए । रात्रिकालीन व्यवसाय तथा दोहोरी साँझमा काम गरेर आफ्नो गुजारा र घर परिवारको पनि पेट पाल्दै आएका कयौँ कलाकारहरु यतिबेला कोठा भाडा तिर्न र खान नपाएर छटपटाइरहेका छन् ।

अध्यक्ष बिजीले पहिलो चरणमा प्रतिष्ठानमा आवद्ध कलाकारहरुलाई राहत वितरण गरिए पनि आगामी दिनमा प्रतिष्ठानमा आवद्ध नभएका तथा कलाकारीतामा लागेर महामारीको चपेटामा परेका कलाकार र पत्रकार एवं सञ्चारकर्मीहरु पनि प्रतिष्ठानको सम्पर्कमा गएको खण्डमा राहत उपलब्ध गराउने बताए । साथै, उनले अशक्त तथा नेत्रविहिनहरुलाई पनि सहयोग गर्न प्रतिष्ठान तयार रहेको बताए ।

महामारीको चपेटामा परेर केही कलाकारहरु विभिन्न युट्युब च्यानलहरुमा रुँदै पीडा पोखेको दृश्य देखेर आफूलाई समेत पीडाबोध थपिएको भन्दै अध्यक्ष बिजीले त्यसरी पीडा पोख्दै बाहिर हिँड्नुभन्दा सिधै प्रतिष्ठानलाई सम्पर्क गरेर राहत लिन आग्रह गरे ।

उनले भने, ‘कलाकारहरुका पीडामा हामी सबैको मन दुःखी हुन्छ, विभिन्न युट्युबमा आफूले दुःख पाएको पीडा पोख्दै हिँडेको देखिन्छ, उहाँहरुको दुःखको पीडाले हामीलाई पनि पीडाबोध थपिन्छ, लाग्छ त्यसरी हिँड्नुभन्दा प्रतिष्ठानको सम्पर्कमा आए सकेको सहयोग गरिन्थ्यो ।’

यो महामारीको बेला आफू बाँच्ने र अरुलाई पनि बचाउन पर्छ भन्ने उद्देश्यका साथ प्रतिष्ठानले यो अभियान सुरु गरेको अध्यक्ष बिजीको भनाइ छ । कोरोनाको महामारी र निषेधाज्ञा अन्त्य नहुँदासम्म प्रतिष्ठान केन्द्र र उपत्यका समन्वय समितिको संयुक्त यो अभियान चलिरहने उनले बताए ।

उपत्यका समन्वय समितिको अध्यक्षमा सुजन लम्सालले नेतृत्व गरेका छन् । पहिलो चरणको राहत वितरणको दिन नै करिव पाँच सय जनाले नाम दर्ता गराएको अध्यक्ष बिजीले जानकारी दिए । अझै पनि त्यस्तो समस्या भोगीरहेकाहरुलाई सम्पर्कमा आउन उनले आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु