राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको २० औँ वार्षिक साधारणसभा सम्पन्न

म्यूजिक खबर
प्रकाशित: १० माघ २०७७, शनिबार
lok dohori

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार टोखानगरपालिका–७ तिलिङटारस्थित प्रतिष्ठानकै केन्द्रीय कार्यालयको प्राङ्गणमा सम्पन्न भएको हो । प्रतिष्ठानका अध्यक्ष रमेश बिजीको सभापतित्वमा भएको उक्त कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नम्बर ७का वडाध्यक्ष नरोत्तम रानाको विशिष्ट आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा लोकदोहोरी प्रतिष्ठानका सल्लाहकार नारायाण रायमाझी, राजन लम्साल, संरक्षक पृथ्वी थकाली, संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापती पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्म, निवर्तमान अध्यक्ष बद्री पंगेनी र विभिन्न केन्द्रीय तथा आजिवन सदस्य र जिल्ला अध्यक्षहरु, प्रदेश अध्यक्षहरु लगायत संघसंस्थाको प्रतिनिधित्व रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै वडा नं. ७ का वडाध्यक्ष रानाले आफ्नो वडामा राष्ट्रिय कलाकारहरुको भवन हुनुमा गर्वको महसुस भएको बताए । उनले लोकदोहोरी प्रतिष्ठान भवनको माथिल्लो तल्ला निर्माणका क्रममा रु १० लाख सहयोग गरिसकेको भन्दै आगामी दिनमा पनि सोही भवनको आडमा भएको खाली जग्गा प्रतिष्ठानले खरिद गर्न लागेकाले रु ५ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘कलाकारहरुको आगमन यस वडामा हुँदा पूरै वडा संगीतमय बनेको छ, आवश्यक सहसयोगका लागि ७ नम्बर वडा पछि हट्दैन ।

त्यस्तै, प्रमुख अतिथि मेयर अधिकारीले कलाकारहरुको चर्चा गर्दै लोकदोहोरी प्रतिष्ठानले टोखा नगरपालिकामा एक छुट्टै आकर्षण ल्याएर नगरपालिकाकै पहिचान राखेको बताए । उनले टोखा नगरपालिका भित्र नै अन्तराष्ट्रिय स्तरको ग्राण्डी अस्पताल हुनु र लोकदोहोरी प्रतिष्ठानको भवन बने पछि कलाकारहरुको आगमन हुनुले नगरपालिकामा आकर्षण थपिनुका साथै पर्यटन र विकासमा ७५ प्रतिशतले फड्को मारेको दाबी गरे । मेयर अधिकारीले प्रतिष्ठानको भवन त्यस ठाउँमा बनाउँनको लागि जग्गा खरिद र भवन निर्माणमा पनि आर्थिक सहयोग गर्दै आइरहेको बताए । साथै, उनले आगामी दिनमा आफ्नो कार्यकालसम्म जुनसुकै अवस्थामा पनि प्रतिष्ठानलाई सहयोग गर्न नगरपालिका तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे । ‘प्रतिष्ठानलाई टोखा नगरपालिकाले गर्वको महसुस गरेर आकर्षको रुपमा लिएको छ, के कस्ता सहयोग गर्न पर्छ नगरपालिका कलाकारहरुको साथमा छ’, उनले भने । उनले वडा नम्बर ७ को भित्रि पक्की सडकबाट प्रतिष्ठानको केन्द्रीय कार्यालयसम्म जाने कच्ची सडक पनि नगरपालिकाले नै जिम्मा लिएर पिच गरिदिने बताए । मेयर अधिकारीले सुरुमा भवनको लागि जग्गा खरिद र भवन निर्माणमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पंगेनीको पहल भएको बताए । उनले तत्कालीन स्वर्गीय रविन्द्र अधिकारी सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा उनको कार्यकालमा सरकारको तर्फबाट आर्थिक रकम प्रतिष्ठानलाई उपलब्ध भएको कार्यक्रममा स्मरण गरे ।
कार्यक्रममा संस्थापक अध्यक्ष गुरुङले सुरुमा थोरै संख्याका कलाकारहरुबाट संस्था स्थापना भएको स्मरण गर्दै अहिले यो स्थानसम्म प्रतिष्ठान आइपुग्दा सफलता प्राप्त भएको महसुस गरे । प्रतिष्ठानका केन्द्रीय महासचिव सुवास केसीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष रिता थापा मगरले गरेकी थिइन् ।

उक्त कार्यत्रममा प्रतिष्ठान तथा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गरिएको छ । स्वर्गीय कलाकार लोकबहादुर क्षेत्रीको सम्झनामा नगद राशीसहित स्मृति पुरस्कार कलाकार राम प्रसाद घिमिरे र सारंगीवादक कृष्ण बहादुर गन्धर्वलाई पुरस्कारसहित सम्मान गरिएको थियो भने पत्रकारिता पुरस्कार रेडियो नेपालका सिताराम बडाल, संरक्षक तथा अविभावक सम्मान पृथ्वी थकालीलाई गरिएको छ । साथै, नयाँ मानार्थ सदस्यलाई पनि सम्मान सहित प्रमाणपत्र वितरण गरिएको थियो भने आजिवन सदस्यहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, प्रतिष्ठानले संस्थाको मातहातमा रहेर उत्कृष्ट काम गर्ने विभिन्न सदस्यहरुलाई पनि उत्कृष्ट सम्मान गरेको छ । उत्कृष्ट सम्मान पाउनेहरुमा केन्द्रबाट महिलामा गायिका देवी घर्ती मगर र पुरुषमा मोडल पिएन सापकोटा रहेका छन् । साथै, महिला नेतृत्वमा रहेर उत्कृष्ट काम गर्ने धादिङकी कमला गैरे थापाले सम्मान पाएकी छन् । त्यस्तै, जिल्लाबाट उत्कृष्ट सम्मान रुपन्देहीले पाएको छ भने त्यहाँका अध्यक्ष दिपक कार्की रहेका छन् । यसैगरी प्रदेशमा गण्डकी प्रदेशले उत्कृष्ट सम्मान पाएको छ । त्यहाँ सुरेन्द्र गुरुङ अध्यक्ष रहेका छन् । यता काठमाडौं उपत्यका समन्वव समितिका अध्यक्ष सुजन लम्सालले उत्कृष्ट सम्मान पाएका छन् भने त्यस अन्तरगतका ९ वटा समितिमध्ये सुनधारा समितिले पनि उत्कृष्ट सम्मान प्राप्त गरेको छ । त्यहाँ शैलेश राना अध्यक्ष रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु