चन्द्रमणी गौतमको नेतृत्वमा राष्ट्रिय लोक संचारकर्मी नेपाल, सल्लाहकार कँडेलले दिए एक लाख सहयोग

म्यूजिक खबर
प्रकाशित: ६ माघ २०८०, शनिबार
National Folk Journalist Nepal

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको ५ औं महाधिवेशनबाट चन्द्रमणी गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको १५ औं वार्षिक साधारणसभा एवं ५ औं महाधिवेशनबाट १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । गोविन्द गिरीको नेतृत्वमा २०६५ सालमा स्थापना भएको राष्ट्रिय लोक सञ्चारकर्मी नेपालमा दुई कार्यकाल गिरीले नेतृत्व गरेका थिए भने हरिबल्लभ नेपालले २०७१ देखि हालसम्म नेतृत्व सम्हालेका थिए ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको वरिष्ठ उपाध्यक्षमा सुदर्शन प्रसाद आचार्य, उपाध्यक्षमा हरि दुलाल निर्वाचित भए भने सचिवमा कमल सरगम, सहसचिवमा शिवराम भण्डारी निर्वाचित भए । त्यसैगरी कोषाध्यक्षमा शरण प्रसाद हुमागाईं, सहकोषाध्यक्षमा कल्पना रेग्मी निर्वाचित भए ।

त्यसैगरी सदस्यहरुमा सबिता पोखरेल, गोपिकृष्ण चापागाईं, शिखर गजरकोटे, बाबुराम सिग्देल, तुलबहादुर परियार, करिश्मा केसी, कविराज ढकाल, विनिता कुँवर क्षेत्री निर्वाचित भएका हुन् । अधिवक्ता रामचन्द्र श्रेष्ठको संयोजकत्वमा भएको निर्वाचन मण्डलमा श्रीप्रसाद थापा र अर्जुन घिमिरे रहेका थिए ।
कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका सल्लाहकार कृष्ण कँडेलले संचारकर्मीहरुको हक, अधिकारका लागि जस्तो परिस्थितिमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई १ लाख रुपैयाँ सहयोग प्रदान गर्ने बताए । उनले लोक कला, साहित्य र संस्कृतिको उत्थानमा लागेका पत्रकारहरुसँग सहकार्य गर्दै यस क्षेत्र विसंगीत, विकृति न्यूनिकरण गर्न आफू सदैव सँगै रहने बताए ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्ष हरिबल्लभ नेपालको सभापतित्वमा भएको ५ औं महाधिवेशन तथा १५ औं साधारणसभामा संस्थापक अध्यक्ष गोविन्द गिरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थापक सदस्यहरु श्रीप्रसाद थापा, गौरव पोखरेल, श्याम धिताल, कृष्ण लेकाली, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुवेर गिरी लगायतको आतिथ्यता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु