• राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले ग¥यो ११ वटा तीज गीतको सामूहिक विमोचन

    म्यूजिक खबर
    प्रकाशित: २८ श्रावण २०८१, सोमबार

    काठमाडौं । महिला दिदीबहिनीको महान चाड हरितालिका तीजको अवसर पारेर बजारमा आएका ११ वटा गीतहरुको सामूहिक विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनको प्रमुख आतिथ्यतामा उक्त गीतहरुको सामूहिक विमोचन गरिएको हो । विमोचन कार्यक्रममा प्रतिष्ठित गायिका तारा थापा, सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद्का अध्यक्ष बमबहादुर कार्की, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रिता थापा मगर, तमु कलाकार संघकी अध्यक्ष शर्मिला गुरुङ, प्रस्तोता समाज नेपालका अध्यक्ष शिव हमाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष बद्री पंगेनी, लोकप्रिय गायिका सिन्धु मल्ल, संचारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्ध गिरी लगायतले सामूहिक रुपमा ११ वटा गीतको विमोचन गरेका थिए ।

    कार्यक्रममा सार्वजनिक गरिएका ११ वटा मौलिक तीज गीतहरुमा गायक तथा सर्जक प्रेम सापकोटा सोनुको काली पसमकी (प्रेम सापकोटा सोनुको शब्द, संगीत र शान्तिश्री परियारको स्वर), गायिका शर्मिला गुरुङको ‘बाबाको आँगनीमा’ (शर्मिला गुरुङको शब्द, संगीत, कमला पोखरेल र शर्मिला गुरुङ स्वर), गायिका शान्ता जिसीको ‘फेरी आयो तिज’ (प्रेम सापकोटा सोनुको शब्द, संगीत र शान्ता जिसी र प्रेम सापकोटा सोनुको स्वर), गायक तथा सर्जक सूर्य खड्को ‘बुद्धका देश सीताका माइती’ (शिव अखेलीको शब्द संगीत र सूर्य खड्का र सुनिता बुढाको स्वर), गायिका अनिता चलाउनेको ‘म राम्रो कि ऊ राम्रो भन्देउ सबैले’ (नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको संगीत, अनिता चलाउने र खेम सेन्चुरीको स्वर), गायिका उमा श्रेष्ठको ‘मैदानमा ताल’ (श्रीकृष्ण क्षेत्री शब्द, संगीत र उमा श्रेष्ठको स्वर), सर्जक सुरेन्द्र कार्कीको ‘कालो कपाल पारेर फरर’ (संगीता भुजेलको शब्द, सुरेन्द्र कार्की संगीत र खुमन अधिकारी र कल्पना पराजुलीको स्वर), निर्मलाराज पौडेलको ‘यसपालीको तिज रमाइलो’ (निर्मलराज पौडेलको शब्द, मोहित मुनालको संगीत र शान्ति श्रीको स्वर), गायिका सुनिता बुढा क्षेत्रीको ‘चेलीलाई माइती’ (सुनिता बुढा क्षेत्रीको शब्द, संगीत र स्वर), गायिका राधिका ढकालको ‘सारी लरक्कै’ (शब्द, संगीत भीमसेन खतिवडा र राधिका ढकाल, शारदा रसाइली, सपना गुरुङ, कोपिला वाइबा तामाङको स्वर) र सरस्वती लामिछानेको ‘सैनाले दिएको ऐना’ (शिव हमालको शब्द, संगीत र सरस्वती लामिछानेको स्वर) रहेका छन् ।

    सञ्चारकर्मी नेपालको महिला विभागको संयोजनमा भएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई महिला विभागकी सदस्य करिश्मा केसीले स्वागत गरेकी थिइन् भने महिला विभाग प्रमुख सबिता पोखरेलले कार्यक्रमको संचालन गरेकी थिइन् ।

    कार्यक्रममा बिशिष्ट अतिथि तथा वरिष्ठ गायक साँस्कृति अध्ययन तथा खोज अनुसन्धान परिषद्का अध्यक्ष बम बहादुर कार्कीले पछिल्लो समय गीतमा विकृती आयो भन्ने निकै सुनिरहेको तर बिकृती गीतमा मात्रै हैन संस्कृतिमै रहेको भन्दै आफूहरुले अध्ययन गरिरहेको बताए । पछिल्लो समय तीज गीत हेर्न र सुन्न लायक नभएको भन्दै उनले पछिल्लो समय आफूले घरमा टेलिभिजन हेर्नै छाडेको बताए ।

    यस्तै वरिष्ठ गायिका तारा थापाले आजभन्दा ५३ बर्ष अगाडी गाएको गीतलाई स्मरण गर्दै पहिलेका गीत र अहिलेका गीतमा धेरै फरक भएको बताइन् । समय पनि परिवर्तन हुँदै आएको छ तर समय र प्रबिधि परिवर्तन भयो भन्दैमा मौलिकता बिर्सनु हुँदैन । बिकृति फैलाउने गीत आयो भनिरहँदा सुरुमा त गीत बनाउने सर्जकले नै निकै बिचार पु¥याएर निकाल्नु पर्छ । आफ्नो विवेक लगाउनुपर्छ, गायिका थापाले भनिन् । ‘तीज गीत भनेर सार्वजनिक भएको देख्छु त्यो भिडमा कतिपय यस्ता गीत छन् जसले कुनै मर्म बोकेको हुँदैन । गायिका थापाले सरकारले केहि गरेन भन्नु भन्दा पनि आफ्नै सुध्रिनुपर्ने धारणा राखिन् ।

    यस्तै तमु कलाकार संघकी अध्यक्ष शर्मिला गुरङले पछिल्लो समय तीजगीत भन्दै बिभिन्न किसिमका गीत सार्वजनिक भइरहेको अवस्थामा यस्ता मौलिक गीत पनि सार्वजनिक भएकोमा खुसी ब्यक्त गरिन् ।
    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरले मौलिक गीतहरुलाई उद्धार गर्ने काम राष्ट्रिय लोक सन्चारकर्मीले गरेको बताइन् । कलाकारसँगै सञ्चारकर्मीहरुले यसरी नै आफ्नो कर्म नबिर्सिएर तीजमा भड्किलो गीतहरुलाई मिडियाले खबरदारी गर्नेहो भने त्यस्ता गीत गाउनेहरु आफैं बिस्थापित हुने बताइन् ।’

    यस्तै प्रस्तोता समाजका अध्यक्ष शिव हमालले तीजको समयमा आउने विकृतिजन्य गीतहरुप्रति प्रतिष्ठानले पनि सधैं आवाज उठाउँदै आएको र त्यस्ता कलाकारलाई निरुत्साहित गर्ने गरेको बताए । पछिल्लो समय मौलिक भन्दा पनि उच्शृंखल गीत गाउनेहरुको जमात बढेकाले त्यस्ता काम रोक्न सम्पुर्ण कलाकारलाई आग्रह गरे ।

    यस्तै लोकप्रिय गायिका सिन्धु मल्लले आफ्नो दुई दशक लामो सांगितीक यात्रामा आफूले कहिल्यै पनि लोकक्षेत्रमा असर पर्ने, बिकृति फैलाउने गीत नगाएको भन्दै सुरुमा आफैंले सेन्सर गर्नुपर्ने बताइन् । गायिका मल्लले पछिल्लो समय तीज गीतको समयमा विकृति फैलिएको आफूले पनि महसुस गरेको बताइन् । पहिलेको समय र अहिलेको समय परिवर्तन भएको छ तर परिवर्तनको नाममा समाजमा स्वीकार गर्न गाह्रो हुने गीतसंगीतलाई प्रोत्साहन नगर्न आग्रह समेत गरिन् ।

    लोकप्रिय गायक बद्री पंगेनीले पछिल्लो समय लोकगीतमा आएका बिकृतिमाथी अवाज उठाउँदै आएकोमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपाललाई धन्यवाद दिँदै भने – राज्यको निकायबाट गीतसंगीतलाई नियमन गर्ने निकायको आवश्यक भएको हुँदा यस बिषयमा राज्यले बिशेष ध्यान दिनुपर्छ ।

    त्यस्तै इन्द्रेणी समाजका अध्यक्ष गायक कृष्ण कँडेलले नराम्रा गीतका बिषयमा कसैले नबोल्ने, प्रचारप्रसार नगर्ने र वास्तै नगर्ने हो भने त्यस्ता गीत र सजर्क आफैं बिस्थापित हुँदै जाने धारणा राखे । राम्रालाई सन्चारकर्मीहरुले पनि प्रचार गर्दै जाने र नराम्रालाई आम दर्शकले पनि वास्ता नगरिदिन आग्रह गरे ।

    राष्ट्रिय लोक सन्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरीले संस्थाले नेपाली कला संस्कृति जोगाउन सधैं आवाज उठाउँदै आएको र आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रमको आवश्यक रहेको बताए । पुर्खाहरुले बनाएको संस्कृतिलाई अहिलेकाले जोगाउनु पर्ने समय आएको बताए ।

    कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय साँस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले मौलिकपनले भरिएका गीतहरु सामूहिक रुपमा विमोचन गर्न पाउँदा खुसी लागेको बताए । साँस्कृतिक पर्व तीज भन्ने बित्तिकै नारीहरु जोडिने भएकाले नारीहरुको भाव गीतमा अटाउनुपर्ने धारणा राखे । सस्तो लोकप्रियता तर्फ नलाग्न सम्पुर्ण कलाकर्मीहरुलाई आग्रह गरे । ‘यो एक साँस्कृतिक पर्व हो । यसलाई नयाँ पुस्तासम्म पु¥याउनका लागी ठूलो चुनौती छ । अहिले साँस्कृतिक संस्थानले त्यो कुरालाई बिशेष ध्यान दिएको छ । ‘संगीत सेन्सरको कुरामा नियमन निकायको रुपमा साँस्कृति संस्थानले अधिकार पाएमा त्यसमा काम गर्नेछ । त्यसका लागी हामीले सरकार समक्ष पत्र पनि पठाइसकेका छौं,’ महाप्रबन्धक पुनले बताए ।

    कार्यक्रमका सभापति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले सामूहिक रुपमा सार्वजनिक भएका ११ मौलिक तीज गीतका सर्जकहरुलाई आभार प्रकट गरे । साथै उनले गीतसंगीतमा लागेको सम्पुर्ण सजर्कलाई मौलिकता नबिर्सिदिन आग्रह गरे । ‘हामीले संस्कृति र संस्कारलाई भुलेनौं भने मौलिकता बच्नेछ, अध्यक्ष गौतमले भने । कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनेहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले आगामी दिनमा पनि सञ्चारकर्मीहरु सजग रहेर काम गर्ने बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु