काठमाडौंमा ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल’ शुरु

म्यूजिक खबर
प्रकाशित: १२ बैशाख २०७८, आईतवार
naff nepal-africa

काठमाडौं । ‘नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१’ नाफ शुक्रवारबाट काठमाडौंमा शुरु भएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सुरु भएको फेस्टिभलको परराष्ट्रमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले उद्घाटन गरेका हुन् । कपनको फैकामा रहेका कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनले आयोजना गरेको फेस्टिभल बैशाख १२ गतेसम्म चल्नेछ ।

परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन ‘नाफ’ ले सहयोग गर्ने विश्वास व्यक्त गरे । महोत्सवमा देखाइने फिल्मले अफ्रिकी मुलुकको भाषा तथा संस्कृति बुझ्न सघाउने उनको भनाई छ । नेपालको कला, साहित्य र संस्कृतिलाई विश्वमाझ चिनाउन फेस्टिभलहरुको ठूलो भूमिका रहने भएकाले सरकारले यस विषयमा दूतावासहरुसँग छलफल गर्ने उनले आश्वासन दिए ।

यस महोत्सवकी अध्यक्ष डा मञ्जु मिश्रले तीन दिने महोत्सवमा नेपाल र अफ्रिकाको फिल्म एवम् संस्कृतिको बारेमा बहस हुने जानकारी दिइन् । फेस्टिभलमा कोभिडले नेपाली र अफ्रिकी फिल्म बजारमा पारेको प्रभावबारे पनि कार्यशाला हुनेछ । फेस्टिभलका निर्देशक तथा संचारकर्मी डब्बु क्षेत्रीले महोत्सवमा नेपालबाट ७ वटा फिल्म चयन भएको जानकारी दिएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु