• एउटै मञ्चमा छमछम नाचे दुई देशका कलाकार

    म्यूजिक खबर
    प्रकाशित: १४ मंसिर २०७९, बुधबार
    Rastriya Nachghar

    काठमाडौं । भारतीय राजदूतावास र सांस्कृतिक संस्थानद्वारा संयुक्त रूपमा आयोजित मासिक धारावाहिक कार्यक्रम ‘नेपालभारत संगीत साधना’को दोस्रो संस्करण शुक्रबार साँझ सांस्कृतिक संस्थानमा भव्य रूपमा आयोजना गरिएको छ । कार्यक्रममा नेपाल र भारतका कलाकारले भरतनाट्यम एवं कत्थक नृत्य प्रस्तुत गरे । भारत स्वतन्त्रताको अमृत वर्ष एवं सांस्कृतिक संस्थान स्थापनाको स्वर्ण महोत्सवको अवसरमा सुरु गरिएको मासिक धारावाहिक कार्यक्रमको यो दोस्रो शृंखला हो ।

    स्वामी विवेकानन्द कल्चरल सेन्टर (भारतीय राजदूतावास)का कलाकारले प्रस्तुत गरेको गणेश बन्दना (भरतनाट्यम) नृत्यबाट सुरु भएको कार्यक्रममा सांस्कृतिक संस्थानका कलाकारले पञ्चतारा, कृष्णलीला, तरनाजस्ता शास्त्रीय नृत्य प्रस्तुत गरी उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाए । सो अवसरमा भारतकी चर्चित नृत्यांगाना डा. गोथामीले भरतनाट्यम प्रस्तुत गरी उपस्थित दर्शकलाई आकर्षित गरिन् । नेपाल र भारतका कलाकारबीच भरतनाट्यम र कत्थकमा प्रस्तुत गरिएको जुगलबन्दी झनै रोमाञ्चक थियो ।

    कार्यक्रममा उपस्थित पाहुनालाई स्वागत गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले नेपाल र भारतको मौलिक कला तथा संस्कृति एकआपसमा साटासाट गर्न, दुवै देशको लोकसंस्कृति जनस्तरमा स्थापित गर्न भारतीय राजदूतावास काठमाडौं र सांस्कृतिक संस्थानले मासिक धारावाहिक कार्यक्रम सुरु गरेको बताए । ‘कार्यक्रममा गीत, संगीत, वाद्यवादन, नृत्य, योग, चलचित्रलगायत प्रस्तुतिजन्य कलाका सबै विधाहरू प्रस्तुत गरिनेछ’, महाप्रबन्धक राईले भने ।

    सो अवसरमा स्वामी विवेकानन्द कल्चरल सेन्टर (भारतीय राजदूतावास) काठमाडौंकी निर्देशक डा. आसावरी उदयवापतले सांस्कृतिक संस्थानसँगको सहकार्यमा सुरु भएको मासिक धारावाहिक कार्यक्रम महत्वपूर्ण भएको बताइन् । ‘यस कार्यक्रमले दुई देशबीचको सांस्कृतिक एवं मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पु¥याउने विश्वास लिएको छु’, डा. वापतले भनिन् ।

    गत महिनाबाट सुरुभएको यस शृंखलाको पहिलो भागमा नेपाल तथा भारतका गायकगायिकाले यमन रागमा आधारित विभिन्न नेपाली तथा हिन्दी गीतहरू प्रस्तुत गरेका थिए । करुण वंशल, सहिलकुमार, डा. आशावरी वापतलगायत भारतीय राजदूतावास काठमाडौंका उच्च अधिकारीहरूको उपस्थितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विशेष समारोहका बीच ‘नेपाल भारत संगीत साधना’को उद्घाटन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु