चलचित्र ‘नैना’ हेर्नेको भीड, काठमाडौं र आँबु खैरेनीमा भयो प्रदर्शन

म्यूजिक खबर
प्रकाशित: २८ भाद्र २०७९, मंगलवार

काठमाडौं । चलचित्र नैनाले काठमाडौंको जमस्थित राष्ट्रिय नाचघर जमलमा प्रिमियर गरिसकेपछि तनहुँको आँबु खैरेनीमा प्रिमियर गरेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको छ । जमलमा भएको प्रिमियर शोमा चलचित्र नैना हेर्न आउने दर्शकहरुको भीड लागेको थियो । हल भरिएर उभिएर हेर्नुपरेको अवस्था देख्दा यसरी नै चलचित्र हलमा पनि भइदिएमा चलचित्र हेर्न दर्शकहरु पुनः फर्किएको हो कि भन्ने महसुस हुने देखिन्थ्यो । जमलको त्यो भीडलाई पूर्ण रुपमा चलचित्र देखाउन नपाउँदै तनहुँको आँबुखैरेनीमा पनि चलचित्रको प्रिमियर शो भयो । विहान र दिउँसो गरेर दुई शो राखिएको आँबुखैरेनीमा अझै डिमाण्ड भइरहेको निर्देशक दीप गुरुङ बताउँछन् ।

गुरुङ संस्कृतिमा आधारित रहेर नेपाली भाषामा निर्माण भएको चलचित्र ‘नैना’ नारी समवेदनामा आधारित चलचित्र हो । सामाजिक विषयवस्तुमा गुरुङ समुदायको कला, संस्कृति, नारीलाई समाजमा कसरी हेरिएको छ भन्ने भावलाई चलचित्रमा देखाइएको छ । चलचित्रको कथा पटकथा जनक गुरुङको रहेको छ भने दीप गुरुङको निर्देशन रहेको छ ।
पश्मिाञ्चल सांस्कृतिक केन्द्रको ब्यानरमा बनेको चलचित्र नैनालाई दीप गुरुङ, सुकमान गुरुङ, एलिना गुरुङले निर्माण गरेका हुन् । यस चलचित्रमा आनन्द गुरुङ, सुरज गुरुङ, लक्ष्मी गुरुङ, सीता गुरुङ, टेक बहादुर गुरुङ, हरिमाया गुरुङ, सुकमान गुरुङ, कुमार साम्री घलेको अभिनय रहेको छ । चलचित्रमा आरके गुरुङ, तारा गुरुङ र पवन रानाको संगीत रहेको छ भने आरके गुरुङ, तारा गुरुङ र जितेन्द्र क्षेत्रीको शब्द रहेको छ । पवित्रा गुरुङ, दुर्गा परियार, प्रकाश गुरुङ, विजय लामाको स्वर रहेको छ । चलचित्रलाई मधुर बस्नेतले खिचेका हुन् भने मेक बहादुर थापाले चलचित्रको सम्पादन गरेका छन् ।
चलचित्र असोज १ गते चितवनको नारायणी कला मन्दिरमा प्रिमियर शो हुँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु