
काठमाडौं । नेपाली म्युजिक भिडियो अवार्डको तेस्रो संस्करण सफलताका साथ पूरा गरिसकेको आयोजक संगीक्षा फिल्म्सले चौथो संस्करणको घोषणा गरेको छ । नेपाली गीतसङ्गीतको क्षेत्रलाई चलायमान बनाउन र आफ्नो अवार्डलाई निरन्तरता दिन चौथो संस्करण घोषणा गरिएको संगीक्षा फिल्म्सका अध्यक्ष मनोज कुमार केसीले बताए ।
उनले सामाजिक सञ्जाल मार्फत नयाँ वर्षको अवसरमा अवार्ड हुने घोषणा गरेका हुन् । उनले सन् २०२१ मा चौथो संस्करण हुने जानकारीसहित फारम खुलाएको समेत जनाएका छन् । ‘मनोरञ्जनको गतिविधि बढ्दै गर्दा हामीले अवार्ड मार्फत टेवा पुगोस् भन्ने उद्देश्यका साथ अवार्डलाई निरन्तरता दिदैछौ’ अध्यक्ष केसीले भने ,’हामीले विदेशीभूमीमै अवार्ड आयोजना गर्नेछौ ।’ उनले सन् २०२१ मै अवार्ड हुने बताएता पनि डेट र स्थान भने केहि समय पश्चात जानकारी गराउने बताए ।
‘यसअगाडी युएईको अबुधाबी र दुबईमा क्रमशः पहिलो र दोस्रो संस्करण सम्पन्न गरेको अवार्डको तेस्रो संस्करण संगीक्षा फिल्मसले ब्राइट भेन्चरसँगको सहकार्यमा सन् २०१८ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न गरेको थियो । अघिल्लो संस्करण झैँ यसपटक पनि अवार्डमा आधुनिक, लोक, दोहोरी, पप तथा राष्टिय भावनाको गीत अन्तर्गत गायक, गायिका, सङ्गीतकार, म्युजिक भिडियो मोडल, छायांकार, निर्देशक, सम्पादकबीच ३० विधामा अवार्ड प्रदान गरिने केसीले बताए ।