
काठमाडौं । नेपाली खेलजगतसँग हातेमालो गर्दै लोकरक ब्यान्ड ‘नेपथ्य’ ले यो साता गृहनगरका श्रोता–दर्शकमाझ आफूलाई उभ्याउने भएको छ ।
ब्यान्ड पोखरास्थित रङ्गशालामा तीन वर्षको अन्तरालपछि कात्तिक २१, शुक्रबार प्रस्तुत हुन लागेको हो ।
ब्यान्ड यसपाला क्रिकेट खेलको प्रवर्धन गर्ने उद्देश्यसहित गृहमैदानमा प्रस्तुत हुनेछ । ब्याण्डले यसअघि २०७९ पुस १२ मा मानव सेवाको लक्ष्य बोकेर पोखरेली दर्शकलाई लोकरक सुनाएको थियो ।
झन्डै साढे ३ दशकको यात्रामा ब्यान्डले फरक पुस्ताका तन्नेरीलाई सङ्गीतका माध्यमबाट मनोरन्जन प्रदान गर्नुका साथै सामाजिक दायित्व निर्वाह पनि गर्दै आएको छ ।
सशस्त्र द्वन्द्वकालमा सङ्गीतका माध्यमबाट समाजमा जागरण ल्याउन ‘सुन्दर शान्त नेपाल’, विद्यालयलाई हतियारधारीको हस्तक्षेपबाट मुक्त गर्न ‘शान्तिका लागि शिक्षा’ जस्ता अभियानमा ब्यान्ड सरिक भएको थियो ।
ब्यान्डले विशेष शारीरिक अवस्था भएकाहरूका लागि ‘नेपथ्य फर डिजेबल्ड’, कारागारमा रहेका बालबालिकाका लागि ‘नेपथ्य फर अल’ जस्ता अभियान पनि चलाएको थियो ।
ब्यान्ड यसपटक ‘नेपथ्य फर स्पोट्र्स’ मूल नारासाथ प्रस्तुत हुन लागेको हो । क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम ‘पोखरा एभेन्जर्स’ को जर्सी सार्वजनिक गर्ने कार्यक्रमलाई सहयोग पुर्याउने ब्यान्डको उद्देश्य छ । नेपथ्यको प्रस्तुतिले सङ्गीतप्रेमीको उल्लेख्य हिस्सालाई खेलकुद प्रतियोगितासँग जोड्ने विश्वास ब्यान्डले लिएको छ ।
‘पोखरा एभेन्जर्स’ टिमको जर्सी खरिद गर्ने दर्शकले शुक्रबार बेलुकी कन्सर्टमा सित्तैमा प्रवेश पाउनेछन् । पहिल्यै जर्सी किन्न चाहने दर्शकका निम्ति सहुलियत मूल्यमा एक हजार थान जर्सी बिहीबार बेलुकी ६ बजेबाट बिक्रीका निम्ति सार्वजनिक गरिएकामा शुक्रबार बिहान ७ नबज्दै अर्थात् १३ घण्टामै ‘सोल्ड आउट’ भएको छ ।
‘पोखरा एभेन्जर्स र नेपथ्यप्रति नगरवासीले देखाएको यो माया अनि उत्साहले हाम्रो हौसला बढेको छ,’ टिमका अध्यक्ष सुबोध त्रिपाठी भन्छन्, ‘क्रिकेट समर्थक र सङ्गीतप्रेमी दुवैका लागि यो गर्वको विषय हो ।’
अब कन्सर्टकै दिन अर्थात् शुक्रबार बिहान ११ बजे दुई हजार थान जर्सीको वितरण रङ्गशाला गेटबाटै खुला गर्ने योजना छ । जर्सी बिक्रीबाट उठेको रकमले गण्डकीका सामुदायिक विद्यालयहरूमा क्रिकेट किट वितरण गरिने आयोजकले जानकारी दिएको छ ।
खुला आकाशमुनि आयोजना हुने यस पटकको कन्सर्टमा ब्यान्डको सङ्गीतलाई उत्तिकै गुणस्तरसाथ प्रस्तुत गर्ने जानकारी नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयले दिएको छ ।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।
सँधैझैँ यस कन्सर्टमा दर्शकले अनलाइनबाट सोझै जर्सी खरिद गर्ने सक्नेछन् । त्यसका लागि ‘नेपथ्य’ को आधिकारिक वेबसाइटमार्फत प्रवेश सुरक्षित गर्न सकिनेछ ।
वेबसाइटबाट दर्शकले १४ सय ९९ रुपैयाँ तिरेपछि आफ्नो साइज अनुसारका जर्सी रोज्न सक्नेछन् । विद्यार्थीका निम्ति केवल ९ सय ९९ रुपैयाँमा जर्सी प्राप्त हुने गरी सहुलियतसमेत उपलब्ध गराइएको छ ।