• मञ्जुलको ५ दशक पुरानो कबितामा नेपथ्यको ताजा भाका र आवाज

    म्यूजिक खबर
    प्रकाशित: १ आश्विन २०७९, शनिबार

    काठमाडौं । कुनै समय संगीतको माध्यमबाट चेतनाको जागरण फैलाउँदै हिँडेका कवि मञ्जुलले आफ्ना लेखनीमा पूर्वी नेपालको डाँडापाखाका प्रेममय भाका पनि उतारेका थिए। यसै क्रममा २०२४ सालको एउटा कविता संग्रहमा प्रकाशित उनका शब्दलाई नेपथ्य ब्याण्डले गीतको स्वरुप सार्वजनिक गरेको छ।

    मञ्जुलको कविता ‘साइँली मोरीलाई’ नेपथ्य ब्याण्डका गायक अमृत गुरुङले गीत बनाएर शुक्रबार सार्वजनिक गरेका हुन्।

    ‘धेरै पहिले यसलाई कविता संग्रहमा पढेको थिएँ। त्यो पुस्तकमा पनि विशेष गरेर यो रचना चाँहि बारम्बार पढेकाले कण्ठस्थै थियो’, गायक अमृतले भने।

    मञ्जुल र रामेशले गरेको पदयात्रामा आधारित गीतियात्रा संस्मरण ‘सम्झनाका पाइलाका डोबहरू’ पछ्याउँदै हिँड्दा नेपथ्यका गायक अमृत गुरुङले ओखलढुंगा हुँदै खोटाङ पदयात्रा गर्दा बाटोमा एक नवविवाहित जोडीलाई भेटेपछि यो गीत सम्झिएको बताएका छन्।

    काठमाडौंबाट पैदल हिँडेरै पूर्वी पहाडी कुना संखुवासभा पुग्दा अमृतले तयार पारेको यो गीत कन्सर्टमा पनि प्रस्तुत भइसकेको छ। नयाँ वर्षको दिन दमकमा आयोजित नेपथ्यको कन्सर्टमा यसलाई ब्याण्डले गाएर सुनाएको थियो।

    यो गीत तयार पार्नका लागि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु