नीलकमलद्वारा लिखित ‘सुरसंगीतका केही साधक’

म्यूजिक खबर
प्रकाशित: २९ माघ २०७९, आईतवार
Nilkamal

काठमाडौं । नीलकमलद्वारा लिखित सुरसंगीतका केही साधक नामक पुस्तक हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ । म्यूजिक खबरको आयोजनामा भएको उक्त कार्यक्रममा संगीतकार तथा नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति नारायणभक्त श्रेष्ठ (रायन) को प्रमुख आतिथ्यता रहेको थियो । ‘सुरसंगीतका केही साधक’लाई म्युजिक खबरका अध्यक्ष सुमब बैरागी, कुलपति नारायणभक्त श्रेष्ठ रायन, प्राध्यापक जगतप्रसाद उपाध्याय प्रेक्षित, प्राध्यापक रमेश खनाल, ललितकला केन्द्रीय विभागका प्रमुख धु्रवेशचन्द्र रेग्मी तथा नेपाल राष्ट्र बैंकका सञ्चालक समितिका सदस्य कवि तथा गीतकार चिन्तामणि शिवाकोटीले पुस्तक सार्वजनिक गरेका थिए ।

कार्यक्रमलाई स्वागत गर्दै म्यूजिक खबरका अध्यक्ष सुमन बैरागीले नीलकमलद्वारा लिखित ‘सुरसंगीतका केही साधक’ केही लेखिएका र केही लेखिन बाँकी रहेका स्रष्टाहरुको जीवनभित्रको विवेचना भएको बताए । पुस्तकको समीक्षा गर्दै गायक तथा संगीतकार टीका भण्डारीले नीलकमलको प्रयास राम्रो रहेको बताए । भण्डारीले लेखनका लागि अझै मेहनत र खोज गर्नुपर्ने भएको बताउँदै जीवनी लेखनको सन्दर्भमा धेरै कुराहरु छुटेको हुँदा सुधार गर्नुपर्ने बताए । स्रष्टाको जीवनी भनेको जन्मदेखि मृत्यसम्मका विविध पाटो भएको बताउँदै भण्डारीले नीलकमलको लेखनमा स्रष्टाहरुको जीवनीले अर्थपूर्ण बनाउने बताए ।
त्यस्तै पुस्तकभित्र समीक्षा गर्दै प्राज्ञ तथा गायक धिरेन्द्र प्रेमर्शीले नीलकमलको लेखन यात्राको प्रशंसा गरे । उनले पुस्तकभित्र धेरै कुरा आए धेरै कुरा बाँकी रहे । यसलाई भूगोल, भाषा र इतिहाससँग पनि समेटिनु जरुरी रहेको बताउँदै २४ जना स्रष्टाहरुभन्दा अघि पछि अन्य स्रष्टाहरु पनि थिए होलान् तर उहाँहरुको योगदान गायनका हिसाबले मात्र समेटिनु उचित नदेखिएको बताए ।

त्यस्तै प्रमुख अतिथि निवर्तमान कुलपति नारायणभक्त श्रेष्ठ रायनले स्रष्टाहरुको जीवनी लेखिएकोमा अझै उनीहरुको वास्तविक जीवनको खोजी गरिनुपर्ने जरुरी भएको बताए । जीवनीमा छुटेका कुराहरु समेट्दै अबको संस्करणमा नयाँ परिवर्तन आउने बताउँदै नीलकमललाई शुभकामना व्यक्त गरे । साथै कुलपति रायनले रेडियो नेपालले स्रष्टाको सम्पत्तिमाथि धेरै भ्रष्टाचार गरेको आरोपसमेत लगाए । विगतदेखि वर्तमानसम्म रेडियो नेपालमा कार्यरत केही नाइकेहरुले स्रष्टाको सम्पत्तिको दुरुपयोग गरेको बताए ।

कार्यक्रममा सूरसंगीतका केही साधहरुको लेखक नीलकमलले गाउँमा छँदा लाहुरेको रेडियोको पछिपछि गीत सुन्दै गरेको क्षणदेखि शहरको कोलाहालसम्म आइपुग्दा भोगिएका धेरै घटना परिघटनाले गीतसंगीत र साहित्यको क्षेत्रमा आकर्षित गरेको बताए ।

कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष मातृका पोखरेल, कवि तथा साहित्यकार ईश्वरचन्द्र ज्ञवाली, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ संगीतज्ञ बुलु मुकारुङ, प्राज्ञ नमूना शर्मा लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

पाँच सय रुपियाँ मूल्य राखिएको एक सय ५४ पृष्ठको पुस्तकमा सेतुराम र आदिगायकी, आदिगायिका ः दुखान्त अन्त, मास्टर मित्रसेन थापा ः नेपाली संगीतका एक्लो प्रतिनिधि, जर्जी ब्याक्स बनेका पुष्कल बुढापिर्थी, नौलाखे तारा उदाए, गिरिसितको सहकार्य र अम्बरको उचाइ, अम्बरका उत्तराधिकारी बनेका जितेन्द्र बर्देवा, उदास उनको जीवनकथा, सुगम संगीतका एउटा कोशेढुंगा, नेपाली सृगम संगीतका माइस्ट्रो बनेको ‘गोफ्ले’, शिवशंकर मानन्धर सुगम संगीतका प्रतिनिधि हस्ती, जुनेली रात हुँ, दिव्यजस्तै दिव्य, पन्छी सबै उडिगए गुँड रित्तै हुन्छ, जनवादी गीतसंगीतका एक जीवित अर्काइभ, जनसंस्कृतिका एउटा अथक यात्री प्रमोद हमाल, जन्मदिन मनाएकै दिन धर्तीमा लीन, जयनन्द लामा ः कलाकारिताको एउटा सिंगो प्याकेज, स्वरकी एउटा जादूगर, सुगम संगीत, रञ्जीत गजमेर र कान्छा, संगीतबाट गुमनाम एउटा प्रतिनिधि गायक, चन्दन लमजेल ः संगीतको मायावी संसारमा, कर्म ः मेलोडी किङ अफ दार्जीलिङ र मणिकमल क्षेत्री – सुगम संगीतको एउटा आदर्श शीर्षकका सामग्री छन्। कार्यक्रममा रायन, सावत्री श्रेष्ठ र ध्रुवेशचन्द्र रेग्मीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्तमा अमर स्वरहरू नामक १० अमर स्रष्टाको डिजिटल प्रस्तुति प्रस्तुत गरिएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु