गायिका नीरा छन्त्यालको निधनमा सोमबार देशभरका दोहोरी साँझ बन्द गर्न अपील

म्यूजिक खबर
प्रकाशित: १ माघ २०७९, आईतवार
Nira Chhantyal

काठमाडौं । यति एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएकी गायिका नीरा छन्त्यालको शोकमा देशभरका दोहोरीसाँझ बन्द गर्न अपील गरिएको छ । गायिका नीरा छन्त्यालको शोकमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले सोमबार देशभरका दोहोरी साँझ बन्द गर्न शोक विज्ञप्ति प्रकाशित गरी अपिल गरिएको छ ।

प्रतिष्ठानको आइतबार बसेको आकस्मिक बैठकले सोमबार प्रतिष्ठानका सबै कार्यक्रम रद्द गरी केन्द्र, प्रदेश लगायतका सबै ठाउँका दोहोरी साँझ बन्द गर्न अपिल गरिएको छ ।

प्रतिष्ठान अध्यक्ष रमेश बिजीको अध्यक्षतामा बसेको बैठकले सदस्य समेत रहेकी गायिका छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेको समेत विज्ञप्तिमा उल्लेख छ ।

२२ वर्षीया गायिका छन्त्यालको निधनले संस्था शोकमग्न भएको पनि उल्लेख छ । पछिल्लो समयमा गायिका छन्त्याल लाइभ दोहोरीकी चर्चित गायिका समेत हुन् । गायिका छन्त्यालको फूल केशरी, माइतीको धुरी, पिरतीको डोरी, साली कसको भेनाको, सुर्तै मायाको लगायतका गीतहरु बजारमा चर्चित छन् ।
म्यूजिक खबर परिवार गायिका निरा छन्त्यालप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु