नितुलाई भारतको ‘शान्ती दूत अवार्ड’, नेपालमा उत्कृष्ट मोडलको अवार्ड

म्यूजिक खबर
प्रकाशित: १७ भाद्र २०७७, बुधबार

काठमाडौं । भनिन्छ कलाकारको कुनै भाषा र क्षेत्र हुँदैन । सबै भाषाभाषी र क्षेत्रका लागि साझा हुन् । यस्तै सावित भएकी छिन् नेपाली अभिनेत्री एवं मोडल नीतु कोइराला । नेपालमा उनले आफ्नो परिचयलाई जति बलियो बनाउन सफल भएकी छिन् त्यति नै फराकिलो परिचय बनाइसकेकी छिन् छिमेकी मुलुक भारतमा ।
७२ घण्टा, टिचर, यो माया कस्तो मायासहित थुप्रै चलचित्र, भिडियो चलचित्र, टेलिश्रृंखला सिस्नु पानी, अधिकार तथा एक दर्जनभन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी छिन् । यिनै नीतुको यतिबेला भने दुबै हातमा लड्डु प्राप्त भएको छ । अर्थात् नेपाल र भारत दुबै देशमा अवार्ड ग्रहण गर्न सफल भएकि छिन् । उनले भारतबाट शान्ती अवार्ड प्राप्त गरेकी छिन् भने नेपालमा तीज गीत युगल मोडलको उपाधी प्राप्त गरेकी छिन् ।
भारतको ‘पिस अफ इन्डिया संस्थाले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रमा विशेष योगदान पूर्याउने व्यक्तिहरुलाई सम्मान पुरस्कार र अवार्ड प्रदान गरेको हो । जसमा नीतु समेत अवार्डेड भएकी हुन् । नीतुसँगै पुरस्कृत हुनेहरुमा बलिउडमा ९० को दशकमा बनेको सुपरहिट फिल्म ‘आशिकी’ का नायक राहुल रोय, मिसेज एसिया विनर मोडेल तथा नायिका हिना कौसेर, बलिउड अभिनेता वरुन सुरी तथा राज अरोरालगायत छन् ।

अवार्ड कार्यक्रम २०२० को जुन २३ मा हुने भनिएता पनि कोरोना कहरका कारण हुन सकेको थिएन । पछि अनलाइनबाटै भर्चुअल कार्यक्रम गरी अवार्ड विजेताको घोषणा गरिएको थियो । अब सचेत र सावधानी अपनाउँदै कार्यक्रम भारतको जयपुरमा सेम्टेम्बर २१ हुनेभएको छ । सो कार्यक्रममा अवार्ड ग्रहण गर्नका लागि नेपाली चेली नीतु पनि जाने जानकारी प्राप्त भएको छ । कार्यक्रमलाई विभिन्न टेलिभिजन बाट प्रत्यक्ष प्रसारण समेत गरिनेछ ।

यता नेपालमा पनि यहि समयमा नीतुले अर्को सफलता प्राप्त गरेकी छिन् । हरेक वर्ष आयोजना गरिदै आएको सातौं छायाँछवि तीज म्यूजिक अवार्ड –०७७ मा पनि उनी अवार्ड पाउन सफल भएकी छिन् । नीतुले यसपाली अभिनय गरेको तीज गीत नाचौं गाउँ रमाउँबाट तीज गीत युगल मोडल मौलिक तर्फबाट अवार्ड पाउन सफल भएकी हुन्। गीतमा उनीसँगै शुशीला थापाले नृत्य गरेकी हुन्

विभिन्न सौन्दर्य प्रतियोगितामा निर्णायकको रुपमा सहभागि भैसकेकी उनी कुशल व्युटिसियन तथा प्रशिक्षक समेत हुन् । नृत्यमा अब्बल उनले नेपाल, भारत तथा अन्य देशहरुमा आयोजना गरिएका सांस्कृतिक कार्यक्रमहरुमा समेत आफ्नो प्रस्तुत दिइसकेकी छिन् । यसअघि उनले भारतमा आयोजना भएका विभिन्न कार्यक्रमहरुमार्फत टाइम्स इन्डिया इन्टरनेशनल फ्रेण्डेस अवार्ड–२०१९, इन्डिया आइकन जस्ता सम्मान तथा पुरस्कार पाइसकेकी उनले भारतमा पिस अफ इन्डिया २०२० शीर्षकको कार्यक्रम समेत आयोजना गरिसकेकी छिन् । पिस अफ इन्डियाका संस्थापक अध्यक्ष विशाल भारद्वाज हुन् भने नीतु यसै संस्थाकी नेपालकी अध्यक्ष हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु