गीतकार भुसाल र संगीतकार मास्केको ‘नूतन शैली’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २५ माघ २०७६, शनिबार
Nutan Shailee

काठमाडौं । गीतकार नूतन भूसालको चौंथो कृति ‘नूतन शैली’ सार्वजनिक भएको छ । आज राजधानीको बागबजार स्थित हेलो क्याफेमा एक कार्यक्रमको आयोजना गरी उक्त एल्बमलाई सार्वजनिक गरिएको हो । वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा ‘नूतन शैली’को सार्वजनिक गरिएको हो । शुभकामना मिडिया सोलुशनले आयोजना गरेको उक्त कार्यक्रममा गीतकार भुसालकी आमा रामकुमारी भुसालको सभापतित्वमा रहेको थियो । उक्त कार्यक्रममा गीतकार डा.राजुबाबु श्रेष्ठ, संगीतकार राजु सिंह विशेष अतिथिका रुपमा रहेका थिए ।

कार्यक्रमलाई स्वागत गर्दै गीतकार भुसालले प्रवासमा रहँदा आफूले भोगेका र देश छोड्दा छोडिएका भावना र संवेदनाहरुलाई गीतमार्फत उजागर गरेको बताएकी थिइन् । उनले नूतन शैलीमार्फत् आधुनिक संगीतमा एउटा इँटा थप्ने काम गरेको बताइन् भने संगीतकार सुनिल मास्केको सहयोगले नूतन शैलीको निर्माण भएको बताइन् ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै संगीतकार राजु सिंहले सुनिल मास्केका संगीतमा मौलिकता र सरलताभित्र गहनता भएको बताएका थिए भने गीतकार भुसालको लेखनले आफू लोभिएको बताएका थिए । त्यस्तै गीतकार डा.राजुबाबु श्रेष्ठले गीति लेखनमा गरेको लगानीले देश र परिवेशभित्र महत्वपूर्ण भूमिका खेलेको बताए । डा.श्रेष्ठले उनको लेखनप्रति आफूलाई डाह लागेको बताउँदै गीतकार भुसाल सिद्धहस्त गीतकारका रुपमा पाएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि डा.कृष्णहरि बरालले गीति लेखनमा पहिला केटाले केटीलाई सुनाउने गीत लेखिने गरिन्थ्यो भने गीतकार भुसालले भने केटीले सुनाउने र केटाले सुन्ने खालका गीतको निर्माण भएको बताए । भुसालको गीतिलेखनले फरकपन दिएको बताउँदै बरालले निरन्तरतामा ध्यान दिनु भन्दै शुभकामना दिए । त्यस्तै संगीतकार सुनिल मास्केको संगीत सुनेर आफूले ढिलो भेटेको बरालले बताए ।

Nutan Shailee
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै गीतकार भुसालकी आमा रामकुमारी भुसालले आफूले छोरीको भावना बुझेर स्टेज दिन नसकेको बताउँदै छोरीका सिर्जनाले सबैको मन जित्न सकोस् भन्ने शुभकामना दिइन् । उनले समयअनुसार काममा ध्यान दियो भने नाम आफैं कमाउने बताउँदै जन्मदिनको शुभकामना समेत दिइन् ।

कार्यक्रममा भमराको भुनभुन सुन्छु र थाहा छैन के हुन्छ गीतको म्यूजिक भिडियो देखाइएको थियो । जसमा युवराज वाइवा र मदन खड्काको निर्देशन गरेको थियो । जसमा अनिता रन्जितकार, सोनु लामा, मन्दिरा न्यौपाने, आश्विन भुसाल र ऋचा थापाको अभिनय रहेको थियो ।

कार्यक्रममा गीतकार नूतन भुसालको जन्मदिन परेकोले केक काटेर जन्मदिन मनाइएको थियो भने म्यूजिक खबरका तर्फबाट सम्पादक सविता पोखरेलले बुकी दिएर सम्झनास्वरुप मायाको चिनो दिएकी थिइन् । कार्यक्रममा एल्बमसँग सम्बन्धित स्रष्टाहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो भने कार्यक्रम संचारकर्मी सरोज कोइरालाले संचालन गरेका थिए ।
गीतिसंग्रह ‘नूतन शैली’ मा गीतकार नूतन भुसालको एकल शब्द एवं संगीतकार सुनिल मास्केको एकल संगीतमा रहेको छ । एल्बममा भमराको भुनभुन, थाहा छैन के हुन्छ, देखेको छैन, कुक्क लाग्यो बाडुल्की, तिम्रो साथ भन्दा प्यारो जस्ता ५ वटा गीत समावेश गरिएको छ । जसमा प्रविशा अधिकारी, निशा देशार, मीना निरौला, प्रताप दास र पूर्णिमा लामाको स्वर रहेको छ । गीतमा प्रदीप श्रेष्ठ, सञ्जीव बराइली र सचिन सिंहको संगीत संयोजन रहेको छ भने किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ । एल्बमलाई शुभकामना मिडिया सोलुशनले बजार व्यवस्थापन गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु