• ८१ वर्षीय तन्नेरी हिरो पदम प्रसाद पौडेल

    म्यूजिक खबर
    प्रकाशित: १४ असार २०७५, बिहीबार

    १४ असार, काठमाडौं । पदम प्रसाद पौडेल उमेर भन्दा धेरै अगाडि छन् । ८ दशक उमेरले पूरा गरिसकेको छ तर उनी अझै तन्नेरी छन् । कलाकारिताको शोखमा चुर्लुम्म डुबेका कलाकार पौडेल देवानन्दको फ्यान हुन् । देवानन्दको फिल्म आयो कि उनी हेर्नलाई छुटाउँदैन थिए । देवानन्दकै अभिनय गर्दै हिंड्ने, उनीजस्तै कपाल बनाएर हिंड्ने गर्दागर्दै आज उनी चलचित्रमा उत्कृष्ट कलाकारको रुपमा परिचित भइसकेका छन् । उनले चलचित्र रिसानी माफ, उपद्रो, नालापानी, आधा बाटो लगायत ६८ वटा चलचित्रमा अभिनय गरिसकेका छन् भने ५३ वटा साना चलचित्र, ११ वटा म्यूजिक भिडियो, ६ वटा विज्ञापनमा समेत अभिनय गरेका छन् । उनले अभिनय गरेको टेलिसिरियल ‘ढुक्क’ यतिखेर छायाँकनतर्फ छ ।

    रिमेश अधिकारी निर्देशन रहेको चलचित्र नालापानीमा राजगुरु भूमिकामा अभिनय गरेका छन् भने अधिप प्रधानको निर्देशन रहेको सरकारी जागिरमा ज्योतिषको भूमिकामा अभिनय गरिरहेका छन् । यतिखेर भने छोरी टेलिसिरियलमा पदमप्रसाद र देव कुमारीको जोडी नै हजुरबा हजुरआमाको भूमिकामा अभिनय गरिरहेका छन् । त्यस्तै सुधित धितालको निर्देशनमा रहेको सिरियल ‘ताल न बेताल’मा पूजारीको भूमिकामा पदमप्रसाद देखिएका छन् । आगामी पुषबाट छायाँकनमा आउन लागेको पारिवारिक टेलिचलचित्रमा बुबाको भूमिकामा देखिँदैछन् । जसलाई रमेश कोइरालाले निर्देशन गर्ने भएका छन् ।

    कलाकार पदम प्रसाद पौडेल र देवकुमारी पौडेल

    ५ छोरा र २ छोरीका बुबा उनी १४ जना नातिनातिनीका हजुरबुबासमेत भए । उनकी जीवनसंगीनी देवकुमारी पौडेल पनि कलाकारितामा रुचि राख्छिन् अभिनय गर्छिन् । देवकुमारीले समेत ९ वटा चलचित्र, १५ वटा साना चलचित्र, ७ वटा म्यूजिक भिडियो र ३ वटा विज्ञापन खेलिसकेकी छन् । पछिल्लो समय उनीहरु प्राय बाबुआमाको रोलमा सँगै देखिने गर्छन् ।

    संखुवासभाको चैनपुरमा बुबा प्रजापति पौडेल र आमा पवित्रा पौडेलको कोखबाट जन्मिएका उनी काठको पाटी र खरिढुंगामा लेख्दालेख्दै शिक्षकसम्म बन्न पुगे ।५ भाइमध्ये साहिँला छोरा पदमप्रसाद मात्र शिक्षित बनेका थिए । अरुले अक्षरसम्म चिन्न भ्याए तर उनी भने शिक्षक हुँदै अहिले मुलुकले चिन्ने कलाकार बन्न सफल भएका छन् ।  सानैमा चुतरो स्वभावको उनी भारतको सिलङमा गएर पढेका थिए । ज्योतिष समेत पढेका उनी बुबाको पदचाप भने पछ्याउन सकेनन् । बुबा ज्योतिष, पुरोहित भएर हिंडे भने उनले महालय पुराण भन्ने काम भने गरे । बुबाको इच्छा जजमान बनोस् भन्ने थियो तर उनी भने कलाकारितातर्फ मन डुलाउँदै आएका थिए । वनारसबाट आइएसम्मको शिक्षा लिएपछि उनी नेपाल फर्किए र संखुवासभामा शिक्षण गर्न थाले । करिब ३० वर्षको शिक्षण पेशासँगै पत्रकारिता पनि गरेका थिए उनले । राससको संखुवासभा प्रतिनिधि भएर काम गरेका पौडेलले मञ्चमा नउभिएको समारोह थिएन ।

     

    कलाकार पदम प्रसाद पौडेल र देवकुमारी पौडेल

    सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा क्याम्पस उद्घाटनका लागि संखुवासभामा पुगेका थिए । त्यही बेला सिडियोले संखुवासभाबाट रासस प्रतिनिधिका रुपमा पदम सरले मात्र काम गर्न सक्नुहुन्छ भनेपछि प्रधानमन्त्री थापाले रासस प्रतिनिधि बनाइदिएका थिए । २०३८ सालबाट पत्रकारिता गरेका उनले अरुण, तमोर तरेर गाउँ गाउँको रिपोर्टिङ गरेका थिए । उनले २२ वर्ष पत्रकारिता गरेपछि ६० सालमा मन्त्री मिनेन्द्र रिजालको हातबाट सम्मान समेत पाएका थिए । त्यसो त उत्कृष्ट शिक्षक भएकै कारण राष्ट्रियस्तरमा, जिल्लामा सम्मान समेत मिलेको थियो उनलाई । पौडेलको जोडी नै अब उमेर र स्वास्थ्यले साथ दिएसम्म कलाकारिता नछाड्ने सोचमा छन् । १७ वर्षे कलाकारिताका ८१ वर्षे हिरो पौडेलको जोश र जाँगर अझै पनि उस्तै छ । दिनदिनै कलाकारितामा दौडिरहेका हुन्छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु