
काठमाडौं । नेपाली सङ्गीत बजारमा तीजका गीतहरू सार्वजनिक हुने क्रम तीव्र बनेको छ। यसै भीडमा परम्परागत धारभन्दा केही फरक र डान्सिङ शैलीको नयाँ तीज गीत ‘पानवाला भैया’ सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै गीतले यतिबेला दर्शक तथा श्रोताको विशेष ध्यान आकर्षित गरिरहेको छ। लोक–पप र आधुनिक शैलीको उत्कृष्ट फ्युजन रहेको यो गीतलाई तीज सङ्गीतको नयाँ ट्रेन्डका रूपमा हेरिएको छ।
यस गीतमा प्रतिभाशाली गायक तथा सङ्गीतकार नन्दु परियार र उदीयमान गायिका आस्था विश्वकर्माको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा नन्दु परियारकै संगीत रहेको छ भने यसका शब्दहरू चर्चित सङ्गीतकर्मी डम्बर विश्वकर्माले कोरेका हुन्। संगीत संयोजन एचबिएन किस्मतले गरेका हुन् । गीतको शब्द र संगीतको संयोजनले श्रोतालाई तुरुन्तै नचाउने ऊर्जा प्रदान गर्दछ।
गीतको अडियो जति बलियो छ, यसको भिडियो पनि उत्तिकै आकर्षक बनेको छ। नेपाली भिडियो निर्देशनमा विशिष्ट योगदान पु¥याएका प्रकाश भट्टले यस भिडियोको निर्देशन तथा र कोरियोग्राफी गरेका हुन्। भिडियोमा नेपाली मोडलिङ क्षेत्रकी चर्चित नृत्यङ्गना करिश्मा ढकाल र गायक स्वयं नन्दु परियार को दमदार अभिनय र नृत्य देख्न सकिन्छ। करिश्मा र नन्दुको लोभलाग्दो ‘स्क्रिन केमेस्ट्री’ र ऊर्जावान् कम्मर मर्काईले भिडियोलाई अझ जीवन्त बनाएको छ। करण चैसिरले छायांकन गरेको भिडियोलाई प्रविण भट्टले सम्पादन र कलरिङ गरेका हुन् ।
मसकबिन नेपालको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतले छोटो समयमै डिजिटल प्लेटफर्महरूमा राम्रो चर्चा कमाएको छ। विशेष गरी टिकटक, फेसबुक र इन्स्टाग्राम रिल्समा यसका भिडियो क्लिप र अडियो लोकप्रिय भएका छन्। युवापुस्ताले यस गीतको हुक–स्टेपमा भिडियो बनाएर सामाजिक सञ्जाल रङ्गाएका छन्। गीतका निर्माता सुरेश जोशी हुन् ।
भड्किलो र सस्तो शब्दहरूको आलोचना भइरहने वर्तमान तीज सङ्गीत बजारमा, व्यावसायिक र मनोरञ्जनात्मक हिसाबले ‘पानवाला भैया’ ले एउटा छुट्टै र सभ्य डान्सिङ ट्रेन्ड स्थापित गर्ने संकेत देखाएको छ।