‘समयको दोष थियो’ भन्दै घटनासँग जोडिएकालाई गालि नगर्न पल शाहको आग्रह

म्यूजिक खबर
प्रकाशित: २३ फाल्गुन २०७९, मंगलवार

काठमाडौं । नाबालिग बलात्कार प्रकरणमा अदालतबाट सफाइ पाएका कलाकार पल शाहले आफ्नो घटनासँग जोडिएका सबैसँग सम्मान र सद्भाव रहेको बताएका छन् ।
फागु पूर्णिमाको दिन सोमबार फेसबुक मार्फत उक्त घटनासँग सम्बन्धित व्यक्तिहरुलाई गालीगलौज र नराम्रो व्यवहार नगर्न समेत उनले आग्रह गरेका छन् ।

मनमा कसैप्रति रिस र प्रतिशोधको भावना नरहेको भन्दै उनले एक वर्षको कारागार जीवनलाई सिकाइको उर्वर सयमको रूपमा लिएको उल्लेख गरेका छन् ।

‘मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ’, परिवारिसँग होलि मनाएको फोटो सेयर गर्दै पलले लेखेका छन्, ‘यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला । उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस् । त्यसैले सम्मानित अदालतको निणर्यलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु ।’

‘मेरो स्वागतमा परिवार, आफन्त, साथीभाई मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन । बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ । त्यसैले सम्पूणर् भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु ।
सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो । बितेको एक वर्षलाई मैंले सिकाईको उर्बर समयको रुपमा लिएको छु’, पल लेख्छन्, ‘मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना । छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य ।’

पल शाह तनहुँ कारागारबाट गत साता रिहा भएका हुन् । नाबालिग गायिका माथि बलात्कार आरोपमा जेल परेका पललाई उच्च अदालत पोखराले समेत सफाइ दिएपछि उनी गत सोमबार थुनामुक्त भएका थिए । पल हाल परिवारसँग समय बिताइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु