गायनमा पवन वलीको कमब्याक, यसरी पोखे जिन्दगीको पीडा

म्यूजिक खबर
प्रकाशित: १३ मंसिर २०७५, बिहीबार

सुमन बैरागी/म्यूजिकखबर

कुनै बेलाका सरकारी शिक्षक थिए पवन वली । बाफूखोला सल्यानमा रहेको एक माविमा १० वर्षसम्म शिक्षण पेशा गरेका थिए वलीले । शिक्षण पेशा गर्दा गर्दै उनको सपरिवार दाङको तुलसीपुरमा बसाई स¥यो । त्यसपछि उनको जागिरे यात्रा त्यहीँ टुंगियो पनि ।

तर उनी शिक्षण पेशामा रहँदा नै उनले धेरै एल्बम र गीत रेकर्ड गरिसकेका थिए । भूगोल अनुसार लोकदोहोरी गाउनु उनका लागि ठूलो कुरा थिएन । हाइस्कुल पढ्दाताका नै उनी साथीभाइका अगाडि गाउँदा सबैले राम्रो भन्थे । उनी झन् गाउँदै हिंड्थे । २०५७ मा बी.एड. पढ्न काठमाडौं आउँदा उनले पहिलो एल्बम ‘राप्तीको भेल’ बजारमा ल्याएका थिए । जता गए नि गीत गाउने र लेख्ने स्वभाव थियो उनको त्यो बालापनमा पनि । अहिले ती दिन सम्झेर उनी आफैं चकित पर्छन्– ‘म त्यस्तो कसरी र किन भएँ होला ?’


अहिले अमेरिकाको सरकारी आइटी कम्पनीमा उनी कम्प्युटर इन्जिनियरका रुपमा कार्यरत छन् । पवन वली नेपाली संगीतप्रेमीका बीचमा एउटा अब्बल गायकका रुपमा स्थापित थिए । पवन वली भन्ने बित्तिकै धेरैले उनका गीतहरुलाई सम्झन्थे । गायक वलीले यसभन्दा १६ वटा बिभिन्न एल्बमहरु बजारमा ल्याइसकेका छन् । लोकप्रिय गायक वलीका बुटवल बसपार्क, गरिबको जिन्दगी, चौतारीमा हावा सरर, मनमा पीर बददै गाको छ, अक्षतामा दहि, खोलि झ¥यो गाई लगायतका गीत नेपाली लोकसंगीत प्रेमी स्रोताको माझ निकै कर्णप्रिय बनिसकेको छ ।

सरकारी जागिर, नेपाली लोकदोहोरी गायनमा स्थापित हुँदाहुँदै पनि अमेरिकाको मोहले पवन ओलीलाई पनि तान्यो । पछिल्लो समय नेपाली कलाकारहरुको हब बनिरहेको छ अमेरिका । हो त्यही हबभित्र सुरुवातकै दिनमा प्रवेश गरेका गायक हुन् गायक वली पनि । अमेरिकातिर पलायन हुनु भयो नि भन्ने प्रश्नमा उनले भने – ‘पलायन नै भएको भन्न चाहिँ मिल्दैन तर केही समय बिताउनेछु र पुनः मातृभूमितर्फ नै फर्कनेछु । त्यसैले पलायन होइन नेपालको फोहोरी राजनीतिभित्र बस्नु मन परेन । नेपालीहरु गफ गरेर समय बिताउँछन् काम कम गर्छन् तर यहाँ कामको कदर हुन्छ । तर यति भन्दैमा नेपाल नराम्रो भन्न खोजेको होइन, राम्रा उद्योगधन्दा, विकास गरेर नेपाली जनशक्तिलाई सदुपयोग गर्ने दिन आएपछि म नेपालमै हुनेछु ।’
कुनै पनि पेशालाई सरकारले मर्यादित र सम्मानित बनाउनु पर्छ । मेरो मात्रै कुरा होइन धेरै नाम चलेका कलाकारहरु किन नेपाल छाडे ? कलाकारिता क्षेत्रलाई सरकारी तबरबाट सम्मानित बनाउन नसक्दा यस्तो भएको हो । सरकारी र गैसरकारी क्षेत्रबाट कलाकारिता क्षेत्रलाई सहयोग र संरक्षणको आवश्यकता छ, गायक वलीले बताए ।

अमेरिकाको १० वर्ष बसाइले धेरै अनुभव दिलाएको छ । आम्दानी भन्दा पनि अध्ययन र अनुभव लिनु सबैभन्दा ठूलो ठानेको छु । त्यसैले कम्प्युटर इन्जिनियरिङको अध्ययन गर्ने रहर पूरा गरेको छु । अहिले Linux System Engineer को रुपमा काम गरिरहेका गायक वली एउटा दक्ष कामदारका रुपमा अगाडि बढेको बताउँछन् ।

७ जनाको परिवारका धनी वली आफ्नो अध्ययन, गीतसंगीत, परिवारको जिम्मेवारीमै व्यस्त भइरहेका थिए । धेरै लामो समय गीतसंगीतमा फर्किन सकेका थिएनन् गायक वली । अब भने वर्षमा १–२ वटा गीत निरन्तर बजारमा ल्याउने सोचमा छन् । १० वर्षपछि कमब्याक भएका गायक वलीले भर्खरै बजारमा ल्याएको गीत ‘थाके धाउँदा धाउँदै’ । प्राय भन्ने गरिन्छ गीतकारको रचना प्राय आफ्नै जिन्दगीसँग मेल खाइरहेको हुन्छ । यहाँ पनि गीतकार, संगीतकारसमेत रहेका गायक पवन वलीको गीत पनि वास्तविकताजस्तै वेदना पोखेको देखिन्छ । गायक वलीका संघर्ष्भित्रका शब्दहरुलाई गीतमार्फत गायक वलीलाई गायिका पूर्णकला बिसीले साथ दिएकी छन् । सायद उनको जीवनमा यस्ता घटना नआएको भए पनि वेदनाले भरिएको यो गीतले धेरैको मन छुने विश्वास लिइएको छ ।

गीतको म्यूजिक भिडियोलाई निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् भने महेन्द्र गौतम, दिनेश खड्का र सारिका केसीको अभिनय रहेको छ । राजेश घिमिरेको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । अडियो भिडियो विजय म्यूजिकको ब्यानरमा तयार गरिएको छ ।

यो पनि पढुनुस्

जिन्दगीबाट हार खाएका प्रेमिल जोडीको कथामा गायक वलीले पोखे वेदना (भिडियो सहित)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु