शैलेन्द्रध्वज कार्की र शान्ति गिरीको संयुक्त निर्देशनमा ‘पोखरेली मसिनो’

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०८२, मंगलवार १५:३९

काठमाडौं । कुशल छायाँकार शैलेन्द्रध्वज कार्कीले अब निर्देशनमा हात हाल्ने भएका छन् । थुप्रै हिट र सुपरहिट चलचित्रलाई विशेष छायांकनकलामार्फत सफल बनाइसकेका कार्कीले आफ्नै डेब्यु निर्देशनमा ‘पोखरेली मसिनो’ नामक चलचित्र निर्माण गर्न लागेका हुन् ।
सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा विधिवत् पूजाआजासहित फिल्मको शुभमुहूर्त सम्पन्न गरिएको छ । बाबु–छोरीको सम्बन्ध र संघर्षमा आधारित सामाजिक कथामा बन्ने फिल्म कार्की र उनकी अभिनेत्री पत्नी शान्ति गिरीको संयुक्त निर्देशनमा बन्नेछ । निर्माण कार्य भने कार्कीले आफैं गर्ने भएका छन् ।
कार्कीले चामलको लोकप्रिय प्रजाति मनसरापछि चामलकै अर्को प्रजातिका नाममा पोखरेली मसिनो शीर्षकमा यो फिल्म बनाउन लागेका हुन् । फिल्ममा शान्ति गिरीको लेखन तथा शैलेन्द्र–शान्तिको पटकथा रहनेछ ।
शुभमुहूर्त कार्यक्रममा निर्माता÷निर्देशक दिपेन्द्र गौचन, कलाकार टिका पहाडी, परिक्षा लिम्बु, अविरल प्रताप अधिकारी, उपेन्द्र सुब्बालगायतको सहभागिता थियो । सुटिङका लागि मंगलबार पोखरा पुगेर बुधबारदेखि नै छायाँकन थालिने फिल्म छायाँकनका लागि ३० दिनको कार्यतालिका तय गरिएको छ ।
फिल्ममा टिका पहाडी, प्रवीण खतिवडा, परिक्षा लिम्बु, माओत्से गुरुङ, अनिल सुब्बा, अंकित खड्का, सजन थापा मगर, अभय बराल, अविरल प्रताप अधिकारी, हिउँवाला गौतमलगायतका कलाकारले अभिनय गर्नेछन् ।
आगामी वर्षको बडा दशैंलाई लक्षित गरी रिलिज गरिने यस चलचित्रमा श्रवण मुकारुङको गीत, कालीप्रसाद बास्कोटाको संगीत, शंकर मर्हजनको द्वन्द्व निर्देशन, कार्की स्वयंको डिओपी र निमेष श्रेष्ठको सम्पादन रहनेछ । फिल्म करिब तीन करोड रुपियाँको लगानीमा निर्माण हुने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु