
काठमाडौं । केहि दिन अघि गायक प्रकाश अधिकारी र गायिका कोपिला छिनालले लोकदोहोरी भल्गर र अश्लिल शब्द प्रयोग गर्दै गीत गाएपछि चौतर्फी बिरोध भयो । चर्को बिरोध भएपछि कलाकारले गीतलाई युट्युब च्यानलबाट हटाउन बाध्य भए । तर, गीतका क्लिपहरु सामाजिक सञ्जालमा भाइरल भए । यहि क्रममा लोककलाको क्षेत्रमा कलम चलाउने पत्रकारहरुको संस्था ‘राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल’ले लोक दोहोरी गीतमा छाडा शैलीको प्रयोग गरिएको भन्दै चर्को आवाज उठाएर बिरोध गरिरहेको थियो । लोक सञ्चारकर्मी नेपालका तर्फबाट अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमले गायक–गायिकाको नाम किटानीसहित ब्युरोमा उजुरी दिएका थिए । यस्तै प्रतिष्ठानले नेपाल सरकार र गृह मन्त्रालयसँग अश्लिलता फैलाउने कलाकारहरुलाई कारबाहीको माग गरेको थियो ।
यस क्रममा, कलाकारद्धय प्रकाश अधिकारी र कोपिलाले शुक्रबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानसँग माफी मागेका छन् । प्रतिष्ठानका महासचिव गायक शिव हमालले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन ।
साथै, प्रतिष्ठानसँग आबद्ध कलाकार र स्रष्टालाई पनि सिर्जना तथा प्रस्तुतीकरणमा शालीनता र सभ्य भाषाको प्रयोग गर्न निर्देशन दिएको जानकारी पाप्त भएको छ ।