
काठमाडौं । नवोदित विद्याकुञ्जमा भएको अभिभावक दिवसका अवसरमा निर्देशक प्रकाश भट्ट र मोडल पार्वती राईको जोडीले नृत्य प्रस्तुत गर्दा सबैले वाही वाही गरेका थिए । एबीसीडी, तिमी राम्रो हाँसोले जस्ता चर्चित गीतहरुमा नृत्य प्रस्तुत गरेर विद्यार्थी अभिभावक, अतिथिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
नवोदितमा प्रत्येक वर्षजस्तै यस वर्ष पनि २२ औं अभिभावक दिवसको अवसर पारेर नेपालका चर्चित गायक गायिका, मोडल, निर्देशकको जमघट भएको थियो । उक्त अवसरमा प्रकाश र पार्वतीका अलावा गायक दिपक लिम्बू, कृष्ण काफ्ले, श्रीकृष्ण बममल्ल, राजु गुरुङ, गायिका विमाकुमारी दूरा, काव्य आचार्य, निर्देशक प्रकाश भट्ट, मोडल पार्वती राई, रञ्जिता गुरुङ, शेरबहादुर गुरुङ लगायत स्कुलका प्रतिभाहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
२२ औं अभिभावक दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा गायक दिपक लिम्बूले सिम्पपल सिम्पल, मैले माया गर्न जानिनँ की जस्ता गीत गाएर विद्यार्थी, अभिभावकको मन जित्न सफल भए । लोकगायिका विमाकुमारी दूराले लोकगीत प्रस्तुत गर्दा सबैलाई मन्त्रमुग्ध बनाएको थियो । त्यस्तै कृष्ण काफ्लेले फूलजस्तो, गायिका काव्य आचार्यले चरीले उडेर गुँड छाडेर गयो, राजु गुरुङले तीते करेलीले, सालैजो जस्ता गीत गाएका थिए ।
त्यस्तै हाँस्य कलाकार शेरबहादुर गुरुङले जादू प्रस्तुत गर्दै हँसाएका थिए भने रञ्जिता गुरुङसँग गोर्खा पल्टनको गीतमा नृत्य प्रस्तुत गरेका थिए । उक्त अवसरमा गायक विरही कार्की, गायिका जानकी तारमी मगर, मोडल सन्दिप न्यौपाने, नारायण ढकाल लगायतका अन्य कलाकारहरुको पनि सहभागिता रहेको थियो । उक्त अवसरमा स्कुलका विभिन्न प्रतिभाहरुको नृत्य, गायन, सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो भने कलाकारहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।