• कलाकार तथा पत्रकार प्रकाश ढकालको त्रिशुली किनारमा भेटियो, पोस्टमार्टमका लागि काठमाडौं ल्याइयो

    म्यूजिक खबर
    प्रकाशित: ४ मंसिर २०८०, सोमबार

    काठमाडौं । गत शुक्रबारदेखि सम्पर्कविहीन भएका कलाकार तथा पत्रकार प्रकाश ढकालको शव बेनिघाट रोराङ वडा नं. ७ धादिङको कृष्णभिरमा आइतबार राति भेटिएको हो । त्रिशूली नदीमा ¥याफ्टिङ गरिरहेका एक व्यक्तिले टाढाबाट शवलाई देखेर प्रहरीलाई सूचना दिएपछि घटनास्थल पुगेको प्रहरीसहितको टोलीले शव ढकालको रहेको पहिचान गरेको थियो ।

    ढकाल गत बिहीबार बेलुका काठमाडौंबाट गृह जिल्ला स्याङ्जाको सदरमुकाम वालिङ गएका थिए । शुक्रबार आफ्नो नयाँ राहदानी लिएर उनी पोखरा आएका थिए । पोखराबाट उनी दिउँसो खैरेनीटार पुगेर सहकर्मी साथीसँग भेटेका थिए । शुक्रबारै खैरेनीटारबाट सॉझ ६ः२५ बजे काठमाडौंका लागि गाडी चढेका ढकालले राति साढे ८ बजे आसपास घरमा बाबालाई आफू दमौली पुगेको भनेर फोन गरेको पारिवारिक स्रोतले बताएको छ ।
    खैरेनिटारबाट छुटेर पोखरातर्फ लागेका साथीले ढकाललाई राति करिब ९ बजे फोन गर्दा उनले आफू सत्र सय फाँटबाट खाना खान झरेको बताएका प्रकाशले राती सवा १ बजे आसपास आफ्ना नजिकका साथीलाई फोन गरेको तर कसैले पनि फोन रिसिभ नगरेको उनका नजिकका साथी शिव प्रसाद सुवेदीले जानकारी दिएका छन् ।
    शनिबार अबेरसम्म कसैसँग सम्पर्कमा नआएका ढकालको दिउँसोबाट खोजी गर्न शुरु गरिएको सुबेदीले बताउँछन् । उनको खोजीका लागि सॉझ ५ बजेतिर अपराध अनुसन्धान महाशाखा काठमाडौंमा पुगी फोनको लोकशन ट्राक गर्दा शनिबार बिहान १०ः२५ बजे धादिङको जोगीमाराबाट उनको मोबाइल अफ भएको देखिएको र सोही अनुसार तीनकुने प्रहरी चौकी पुगेर प्रकाश हराएको र खोजी गरिदिन भनी लिखित निवेदन दिइएको थियो ।

    शनिबार साँझबाट प्रकाशको खोजी कार्यलाई विभिन्न माध्यमबाट शुरु गरिएको थियो ।
    आइतबार साँझसम्म खोजी गर्दा केही सूचना हात नलागेपछि खोजीमा निस्किएका टोलीले बाँकी खोजी प्रहरी प्रशासनले गर्ने विश्वासमा काठमाडौं फर्किँदै गर्दा अपरिचित एक व्यक्तिको शव धादिङको कृष्णभिरमा देखिएको सूचना आएपछि प्रहरी र प्रकाशको खोजीमा निस्किएको टोली कृष्णभिर पुगेर शवको पहिचान गर्दा उक्त शव प्रकाशकै रहेको खुलेको थियो ।

    गहिरो खोंचमा शव रहेको र निकाल्न डुंगा चाहिने हुँदा आइतबार राति शव निकाल्न नसकी टोली फर्किएको थियो भने शवको सुरक्षा प्रहरीले गरेको थियो ।

    आइतबार राति नै राजधानीबाट प्रकाशका आफन्त, शुभचिन्तक, पत्रकार तथा कलाकार बेनी घाट पुगेका थिए । सोमबार विहान प्रहरी प्रशासन तथा अन्य व्यक्तिहरू घटनास्थल पुगेर शवको मुचुल्का उठाएर शवलाई निकालेर पोस्टमार्टमका लागी काठमाडौंको त्रि.वि. शिक्षण अस्पतालमा राखिएको छ । ढकालको टाउकोमा देब्रे पट्टी गहिरो चोट र देब्रे आँखा समेत फुटेको छ । घटनास्थलबाट प्रहरीले प्रकाशको मोबाइल र पर्स फेला पारेको छ । पोस्टमार्टम लगत्तै केही व्यक्तीलाई किटानी जाहेरी दिने तयारी परिवारले थालेको छ ।

    वैदेशिक रोजगारीका लागि करिब एक दशक दुबईमा बिताएका ढकालले करिब दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरेका थिए भने उनी पत्रकारिता रूपमा लालीगुराँस डटकममा आबद्ध थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दुबईका संस्थापक सचिव रहेका ढकाल पछिल्लो समय म्यानपावर व्यवसायमा संलग्न थिए । चापाकोट नगरपालिका वडा नं. ७ सॉखर स्याङ्जामा जन्मिएका उनका २ सन्तान छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु