प्रकाश सपुतको नयाँ गीत ‘कर्तव्य’लाई ‘तारिफ धेरै, भ्युज कम’, किन ?

म्यूजिक खबर
प्रकाशित: २३ असार २०८३, मंगलवार २३:४४

काठमाडौं । नेपाली सुगम तथा लोकसंगीत आकाशमा गायक एवं सर्जक प्रकाश सपुत एउटा यस्तो स्थापित ‘ब्रान्ड’ हुन्, जसले आफ्नै गीतको रेकर्ड आफैंले तोड्दै आएका छन्। यहि क्रममा उनको आफ्नै शब्द, संगीत र स्वरमा सन्देशमूलक गीत ‘कर्तव्य’ सार्वजनिक भएको छ । विगतमा निकै रुचाइएको गीत ‘मेरो पनि हैन र यो देश’ को अपार सफलतापछि उनले यसको दोस्रो भागका रूपमा ‘कर्तव्य’ बजारमा ल्याएका हुन ।

‘बोल माया’, ‘गलबन्दी’, ‘पीर’ हुँदै ‘सकम्बरी’ सम्म आइपुग्दा युट्युबमा भ्युजको सुनामी ल्याउने सपुतका पछिल्ला सिर्जनाले भने पहिलेको जस्तो आक्रामक गति पाउन सकेका छैनन्।

पछिल्लो समय सार्वजनिक भएको उनको सामाजिक–राजनीतिक चेतनामा आधारित नयाँ गीत ‘कर्तव्य (मेरो पनि होइन र यो देश–२)’ होस् या अघिल्लो वर्ष रिलिज भएको तीज गीत ‘नाइँ भनेसी नाइँ’, यी सिर्जनाहरू युट्युब ट्रेन्डिङमा परे पनि भ्युजको गन्तीमा भने निकै सुस्त देखिएका छन्। सामाजिक सञ्जालमा गीतको मेकिङ, देशप्रतिको जिम्मेवारी र बलियो सन्देशको चौतर्फी तारिफ धेरै भए पनि भ्युज कम आउनुका पछाडि मुख्य डिजिटल र सामाजिक कारणहरू जिम्मेवार देखिन्छन्।

यसको पहिलो र मुख्य कारण ‘पीर’ र ‘सकम्बरी’ जस्ता विगतका ब्लकबस्टर गीतहरू जस्तो यसपटक कुनै ‘कन्ट्रोभर्सी’ अर्थात् विवाद र राजनीतिक फन्डा नहुनु हो, जसले आम मानिसमा कौतुहलता जगाएर रातारात भ्युज करोड पार गराउँथ्यो।

दोस्रो कारण, नयाँ गीत नाच्न मिल्ने व्यावसायिक लोकदोहोरी नभएर निकै गम्भीर, सन्देशमूलक र वैचारिक प्रकृतिको हुनु हो, जसलाई आम सर्वसाधारण दर्शक (मास)ले भन्दा निश्चित बौद्धिक वर्गले मात्र दोहोर्‍याएर हेर्ने गर्छन्।

तेस्रो कारण, ‘सपुत ब्रान्ड’ सँग दर्शकको बदलिँदो र उच्च अपेक्षा हो, जहाँ दर्शकहरू कि त नाच्न मिल्ने रोमान्टिक गीत, कि त समाजको कडा विकृति खोतल्ने ‘चटपटे’ कथाको अपेक्षा गर्छन्स जसका कारण कतिपय स्रोताहरूले उनको अघिल्लो गीत ‘नाइँ भनेसी नाइँ’ मा शब्द चयन र संगीत फितलो भएको टिप्पणी समेत गरेका थिए।

चौतर्फी तारिफका बाबजुद भ्युज सुस्त हुनुको अन्तिम कडी अहिलेको बदलिँदो डिजिटल ट्रेन्ड हो, जहाँ दर्शकहरू युट्युबमा पूरा १०–१५ मिनेटको लामो र सिनेमाटिक भिडियो हेर्नुभन्दा टिकटक, युट्युब सट्स र इन्स्टाग्राम रिल्समा छोटा क्लिप हेर्न बढी रुचाउँछन् भने भिडियोभित्र देखिने अत्यधिक व्यावसायिक विज्ञापनका कारण पनि दर्शकले झर्को मान्ने गरेको समीक्षकहरूको भनाइ छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु