गायक प्रमोद खरेल चढेको कार दुर्घटना

म्यूजिक खबर
प्रकाशित: १५ बैशाख २०७९, बिहीबार

काठमाडौँ । गायक प्रमोद खरेल चढेको कार दुर्घटनामा परेको छ। दाङको तुलसीपुरमा हुने कार्यक्रमका लागि जाने क्रममा कार दुर्घटनामा परेको हो । बिहीबार बिहान फेसबुकमार्फत् आफू दुर्घटनामा परी घाइते भएको जानकारी दिए ।

‘हिजो साँझ काठमाडौंमा रेकर्डिङ सकेर नेपालगञ्जको फ्लाइटबाट दाङको तुलसीपुरमा हुने कार्यक्रमको लागि राति १ बजे होटल पुग्न १० मिनेट अघि मात्रै आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा पर्‍यो,’ उनले लेखेका छन्।

उनका अनुसार कार रोडको पर्खालमा ठोक्किन पुगेको थियो। दुर्घटनापछि उनी बेहोस भएका थिए। ‘दुर्घटनापश्चात् कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्‍याएर बसाउँदा मात्र झन्डै ४५ मिनेटपछि मेरो होस आएछ।

त्यसपछि पनि करिब ५/७ मिनेट कहाँबाट आएँ, कहाँ छु पत्तै पाइनँ,’ उनले भने, ‘गाडीको एयर ब्याग र सिट बेल्टले ज्यान जोगायो।’ दुई जना आयोजक पनि घाइते भएको उनले जानकारी दिए।

घाइते भएका उनीहरू बिहीबार बिहान ४ बजे अस्पतालबाट डिस्चार्ज भएर काठमाडौं आइपुगेको बताएका छन्। बाहिर चोट देखिए पनि भित्री चोट भने नदेखिएको उनले बताए। ३-४ दिनका लागि सबै रेकर्डिङ र अन्य कार्यक्रम स्थगित गरेको जानकारी दिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु