नेपाल आइडल गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

म्यूजिक खबर
प्रकाशित: २७ पुष २०८२, आईतवार १६:४८

काठमाडौं । भारतीय रियालिटी शो इन्डियन आइडल सिजन ३ का विजेता प्रशान्त तामाङको निधन भएको छ । दक्षिण एसियाली संगीत क्षेत्रमा विशेष पहिचान बनाएका गायक तामाङको जनवरी ११, २०२६ (आज) दिल्लीस्थित आफ्नै निवासमा मात्र ४२ वर्षको उमेरमा उनको हृदयघातबाट असामयिक निधन भएको जनाइएको छ। उनको यो प्रस्थानले नेपाली भाषी संगीत तथा चलचित्र जगतमा ठूलो क्षति पुगेको छ ।
दार्जीलिङमा जन्मिएका तामाङ गायन क्षेत्रमा प्रवेश गर्नुअघि उनी कोलकाताको प्रहरी सेवामा कार्यरत थिए । २००७ मा इन्डियन आइडल जितेपछि उनी सुरक्षा सेवा छाडेर कलाकारितातर्फ उन्मुख भएका थिए । प्रशान्त तामाङले हिन्दी, नेपाली तथा अन्य भाषामा गीतहरू गाएका छन् । उनले चलचित्रका लागि पनि पार्श्वगायन गरे र विभिन्न सांगीतिक कार्यक्रममार्फत दर्शकसँग निरन्तर जोडिँदै आएका थिए। पछिल्लो समय भने उनी गायनमा भन्दा फिल्ममा सक्रिय थिए । गायक तामाङले नेपाली फिल्म ‘परदेशी, गोर्खापल्टन’ लगायतमा काम पनि गरेका छन् ।

पछिल्लो समय उनले बलिउडमा पनि कदम चालेका थिए । अमेजन प्राइमको पाताल लोक सिजन २ (२०२५) मा उनले स्नाइपर ड्यानियल लेचो (भिलेन) को शक्तिशाली भूमिका निर्वाह गरेका थिए, जसको प्रशंसा व्यापक रूपमा भएको थियो । सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’बाट बलिउड डेब्यु गरेका प्रशान्त तामाङ सोही फिल्मको छायांकन सक्काएर घरमा आराम गरिरहेका थिए ।
प्रशान्तले सन् २०११ मा पूर्व एयर होस्टेस मार्था एलीसँग विवाह गरेका थिए र सन् २०२२ मा छोरी आरियाको जन्मपछि परिवारसँग खुसी जीवन बिताइरहेका थिए ।
तामाङका असारे महिनामा, जाउला रेलैमा सरर, आगो पिएर बाँच्ने, हर साँझ हर विहानी, सिरीमा सिरी बतासै चल्यो, घामको माया जूनको माया, बिछोडको करौंतीले, अरे क्यानाम लगायतका गीतहरु चर्चित छन् । त्यस्तै दर्जनौं हिन्दी, तामाङभाषाका गीतहरु पनि प्रकाशित छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु