प्रधानमन्त्रीले सार्वजनिक गरे प्रेमको ‘फर्किन् मेरी आमा’

म्यूजिक खबर
प्रकाशित: १९ कार्तिक २०७७, बुधबार

काठमाडौं । गायक तथा स्रष्टा प्रेमनाथ अधिकारीको गीति एल्बम ‘फर्किन् मेरी आमा’ प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट लोकार्पण गरिएको छ । सो गीति एल्बमको प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र नेपाल एकीकरणका क्रममा पनि गीतका माध्यमले जनतालाई एक सूत्रमा बाँध्ने काम गर्न थालिएकामा खुशी व्यक्त गर्दै यसका पक्षमा जनतालाई निरन्तर जागरुक र सचेत गराउन आग्रह गरे ।


‘सधैँ सत्यका पछि लाग्नुपर्छ । यस क्रममा एक्लै भए पनि सत्यका पछि लाग्दा अन्ततः सत्यकै विजय हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘अतिक्रमणमा परेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता भएरै छाड्नेछ ।’ वर्तमान सरकारकै कार्यकालमा उक्त भूमिलाई नेपालको नक्शामा समावेश गर्ने गरी संविधान संशोधन गराइएको थियो । सोही नक्सालाई समावेश गरिएको यो एल्बमले पनि आमा (भूमि) फर्काएको सन्देश दिएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका नेता रहेका अधिकारी सांस्कृतिक संस्थानका अध्यक्षसमेत हुन् । अधिकारीले राष्ट्र, राष्ट्रियता, समृद्ध नेपाल र सामाजिक सद्भावका विषयमा रचेका लोकभाका सहितका ६ गीत एल्बममा संकलन गरिएका छन् । प्रगतिशील धारमा गीत गाउँदै हिंड्दा यी लोकभाकालाई छाडेर हिंड्नुपरेको दिन सम्झिँदै गायक अधिकारीले युवाअवस्थाका ती लोकभाका गाउने रहर बल्ल पूरा गरेको बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् डा.विजय सुब्बा र प्रा.केशव सुवेदीले गीतकार र गायकलाई शुभेच्छा व्यक्त गरेका थिए । कमला अधिकारीको निर्माण रहेको सो एल्बममा गायक, संकलक तथा रचनाकार अधिकारी हुन् । सङ्गीत संयोजन अशोक लोहरुङ राईले गरेका छन् भने गायनमा दुर्गा परियार र विना भट्टराईले साथ दिएका छन् । एल्बममा फर्किन् मेरी आमा, बर्खा लाग्यो, साँगुरी ओरालो, घमाइलो बगान, चरीको रङ्ग, ढङढङ कक्ल्याक कक जस्ता गीतहरु समावेश गरिएको छ । यस एल्बमको निर्माता भने कमला अधिकारी रहेकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु