• प्रितीको सन्देशमूलक गीत ‘भो चाहिंदैन’ युट्युब ट्रेण्डिङमा, कमेण्टमा पाइन् स्याबासी

    म्यूजिक खबर
    प्रकाशित: ८ जेष्ठ २०८२, बुधबार ००:५९

    काठमाडौं । चर्चित गायिका प्रिती आलेको आफ्नै शैली छ । नौलो शैलीकै कारण उनी मेलामहोत्सवमा डिमाण्डेड गायिका बनेकी छिन् । कहिले दोहोरी ब्याटल ल्याएर भने कहिले तीज गीतमै रकशैली फ्युजन गरेर चर्चामा छाउँछिन् । चर्चा मात्रै होइन, उनी बेला बखत विवादमा आउँछिन् र मज्जाले बिरोधको सामना पनि गर्छिन् । जेसुकै होस् उनी प्रस्तुतिमा नयाँपन दिन रुचाउँछिन् ।
    यहि क्रममा उनले आफ्नै लय, शब्द, मोडलिङ र निर्देशनमा तयार भएको सार्वजनिक गरेकी छिन् । ‘भो चाहिदैन’ बोलको उक्त गीतमा प्रितीको आफ्नै शैली त छँदैछ, भिडियो सन्देशमूलक बनेको छ । एलओडी क्लबमा छायांकन गरिएको यो भिडियो, शैली र प्रस्तुतीका हिसाबले विशेष र फरक देखिएको छ । जसका कारण प्रितीको धेरैले प्रशंसा गरेका छन् । हिजो कुनै बेला लोक तथा दोहोरी गीत प्रतिष्ठानका उनको गीतलाई बन्देजको घोषणा नै गरेको थियो । आज लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले नै खुलेर तारिफ सहित गीतलाई शेयर गरेकी छिन् ।
    युट्युबमा समेत राम्रो सन्देशमूलक गीत ल्याएको भन्दै प्रितीको तारिफ नै तारिफ गरिएको छ । भिडियो यो समाचार तयार पारिरहेका बेला संगीततर्फबाट युट्युब ट्रेण्डिङमा २२ औं स्थानमा परेको छ । ४ दिन अघि प्रिती आले युट्यु च्यानल मार्फत सार्वजनिक भएको गीतलाई ३ लाख २० हजार भिउज क्रस भएको छ ।
    एलओेडी क्लबमा छायांकन भएको भिडियोमा प्रीतिका अलावा प्रकाश सपुत, सुशील नेपाल, एलिना खनाल, दिभिषा शर्मा र सुमन खड्काको अभिनय छ । भिडियोमा गायिका प्रिती आले स्वयं र लोकप्रिय कलाकार प्रकाश सपुतको प्रेम सम्बन्धलाई चित्रण गरिएको छ । प्रेमिकाले प्रेमीलाई खुब माया गर्छिन, उनीले चाहेका कुरा पुरा गर्न खोज्छिन्, तर प्रेमी भने लागुपदार्थको कुलतमा फसेका हुन्छन् । निरन्तर प्रयासका बाबजुद प्रेमीमा सुधार नआएपछि प्रेमिकाले अन्ततः ‘भो जाली माया चाहिँदैन’भन्दै सम्बन्ध तोड्ने निर्णय लिन्छिन्।
    भिडियोको अन्त्यमा लागुपदार्थको लतले आफन्त गुमाउनुको पीडा र पछुतोको गहिरो सन्देश दिइएको छ। सामाजिक सन्देश बोकेको यो गीतले दर्शक(श्रोताको मन छुने विश्वास गरिएको छ।
    प्रेम, यथार्थ र सामाजिक चेतनाको मिश्रण बोकेको ‘भो चाहिदैन’ हालको म्युजिक भिडियोलाई फरक ढंगले प्रस्तुत गर्ने उल्लेखनीय प्रयास गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु