
काठमाडौं । लोकप्रिय गायिका पूर्णकला बिसीको आवाजमा पछिल्लो समय बजारमा आएको लोकगीत हो ‘जानी मायालु’ । लामो समयपछि आफूलाई फरकधारमा उभ्याएकी गायिका बिसीको आवाजको माधुर्यताले लोकगीतका स्रोताहरुलाई एकातिर मन्त्रमुग्ध बनाएको छ भने अर्कोतिर मायाप्रेमभित्रको बन्धनमा बाँधिएका मायालुको कथा पनि गीतमार्फत् पोखेकी छन् ।
गायक जय देवकोटाको शब्द रचना रहेको यो गीतलाई नन्दू परियारले संगीत भरेका छन् । सञ्जय श्रीपालको संगीत संयोजन रहेको यो गीतमा गायिका पूर्णकला बिसीको आवाजले जति सुन्यो उति मन चसक्क बनाउँछ । मायाप्रेमको गहिराइमा बगेको बेदनाको भेल हो ‘जानी मायालु’, गायिका बिसीले भनिन् ।
‘जानी मायालु’ गीतको म्यूजिक भिडियोमा गायिका पूर्णकला बिसीका श्रीमान धनकाजी परियार (धन केपी) र मोडल टीका जैसीको अभिनय रहेको छ । उनीहरु श्रीमान श्रीमतीको भूमिकामा देखिएका छन् । भिडियोमा बाल कलाकारको भूमिकामा गायिका बिसीको छोरी रोनिया परियारले अभिनय गरेकी छन् ।
यस गीतको भिडियोलाई दुर्गा पौडेलले छायाँकन तथा सम्पादन गरेका छन् । अनिल विष्ट प्यूठानीले सम्पादन गरेका छन् । भिडियो गायिका पूर्णकला बिसीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।