समय अनुसार सङ्गीतमा पुस्करको परिवर्तन

म्यूजिक खबर
प्रकाशित: ५ फाल्गुन २०७६, सोमबार
Puskar Sunuwar

काठमाडौं । पुस्कर सुनुवार पछिल्लो समयका व्यस्त संगीतकर्मी हुन् । गायनलाई केन्द्रविन्दूमा राखेर अघि बढेका उनी राम्रा संगीतकार र संगीत संयोजक समेत हुन् । ‘मायाले साह्रै रुवाउँदो रहेछ’ बोलको गीतबाट गायन यात्रा सुरु गरेका हुन् पुस्करले । ०६३ सालमा रेडियो नेपाल छिरेका उनले त्यहाँ भएको आधुनिक गीत प्रतियोगितमा संगीततर्फ टपटेनमा आफ्नो स्थान ओगट्न सफल भएका थिए । संगीत गर्ने, गीत गाउने र ऐरेन्ज गर्ने सुनुवारले संगीतकै साधनामा लागेर जीवनको लक्ष्य निर्धारण गरेका छन् ।

त्यसो त उनले नेपाली संगीतमा आफ्नो छुट्टै स्थान बनाइसकेका छन्– गायक, संगीतकार तथा ऐरेन्जरका रूपमा । स्थापित हुनकै लागि संघर्ष गर्दै आएका सुनुवारले योभन्दा अगाडि धेरै गीतमा काम गरिसकेका छन् । ‘अन्तरा जिन्दगीको’ एकल एल्बमबाट संगीत क्षेत्रमा डेब्यु गरेका उनले एल्बम ‘तिमीसँग’ बजारमा ल्याइसकेका छन् । जुन एल्बममा उनको एकल संगीत रहेको छ ।
गायक पुस्कर सुनुवारले आफ्नै स्वरमा करिब एक सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । आफ्नै संगीतमा करिब ३ सय गीत बजारमा ल्याएका पुस्करले संगीत संयोजनलाई भने जीवनको आधारभूत आवश्यकता पूर्ति गर्ने माध्यम बनाएका छन् । करिब एक हजारभन्दा माथिको संख्यामा संगीत संयोजन गरेका उनले आफ्नै रेकर्डिङ स्टुडियो मेलोडी नेपाल पनि संचालन गरिरहेका छन् । प्रदीप लामा, केशव विश्वकर्मा र चिरञ्जीवी भण्डारीसँग मिलेर स्टुडियो संचालन गरेका उनले संगीत क्षेत्रलाई नै आफ्नो प्रमुख पेशा बनाएका छन् ।


गायक पुस्कर सुनुवार हरेक दिन दुःखपछि सुख आउने आशामा काम गरिरहेका छन् । अवश्य कुनै समय त्यस्तो दिन पनि आउनेछ भन्ने आत्मविश्वासकासाथ काम गरिरहेको छु, उनले भने । दिप श्रेष्ठ, नरेन्द्र प्यासी, सुरेश अधिकारी, शिव परियार, प्रमोद खरेल, मनोजराज, अन्जु पन्त, स्वरूपराज आचार्य, रजिना रिमाल, सन्तोष लामा, मिलन आमात्य, मेनुका पौडेल, ज्योति मगर, रामजी खाँडलगायतका पछिल्लो पुस्ताहरुसँग सहकार्य गरिरहेका छन् । दर्जनौं कलाकारको स्वर रहेको गीतमा उनले संगीत भरेका छन् । उनी आफ्ना गुरुद्वय गुरुदेव कामद र रमेश पोख्रेललाई सदा आदर गर्ने गर्छन् ।

महोत्तरीको किसान नगर–६ ब्याङखाडाँडामा जन्मेका २८ वर्षीय युवा संगीतकार तथा ऐरेन्जर पुस्कर सुनुवार कलामा जीवनको आधार खोजिरेहका छन् । बाल्य अवस्थामा यम बरालको स्वरको फ्यान रहेका उनले स्थापित कलाकारसँग काम गर्दै आएका छन् । बहुप्रतिभाका धनी गायक, संगीतकार पुस्कर सुनुवार आफ्नो लक्ष्य प्राप्तिमा हिजोदेखि आजसम्म तल्लिन छन् ।

गायक पुस्कर सुनुवारले गायनमा लागेर तेस्रो ओएस नेपाल म्यूजिक अवार्ड, सगरमाथा म्यूजिक अवार्ड, बक्स अफिस म्यूजिक अवार्ड पाएका छन् भने संगीत संयोजनतर्फ नेशनल पावर न्यूज म्यूजिक अवार्ड, दोस्रो ओएस नेपाल म्यूजिक अवार्ड चुम्न सफल भएका छन् । स्रोताहरुको माया नै सफलताको कडी भएको बताउने उनी स्रोताहरुको रुचाइमा पर्दै आएका छन् ।
उनले गायनमा लागेपछि धेरैले मन पराइदिएको गीत भने ‘नयनमा गाजल’ बोलको गीत थियो । गायिका ज्योति मगर र गायक पुस्कर सुनुवारको स्वर रहेको यो गीतलाई स्रोताहरुले अत्याधिक मन पराइदिएका थिए । जुन गीत निकै चर्चित बन्न सफल भएको गीत थियो । तर आफूलाई नै मन परेको गीत भने ‘आँखैको नानीमा आइ बसिदेउ’ हो । जुन गीतमा उनलाई मेनुका पौडेलले स्वरमा साथ दिएकी छन् । यो गीतको शब्द, संगीत र स्वर सबैमा उत्कृष्ट भएको उनलाई महसुस हुने गर्छ ।
पछिल्लो समय उनी अनिता गहतराजको शब्दमा ‘तिम्रो मेरो प्रेम कहानी’ गीत गर्दैछन् । जसमा उनको संगीत, संगीत संयोजन र स्वर रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु